महासचिव गुटेरेसको भ्रमणको तयारी पूरा, आइतबार उच्चस्तरीय भेटवार्ता

नेपालभ्युज

महासचिव गुटेरेसको भ्रमणको तयारी पूरा, आइतबार उच्चस्तरीय भेटवार्ता

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणको तयारी पूरा भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस चारदिने भ्रमणका क्रममा शनिबार  राति काठमाडौँ आउँदै छन्  । उनलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नेछन् ।

भ्रमणको पहिलो दिन आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री दाहालसँग उनको कार्यालयमा महासचिव गुटरेसले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग सङ्घीय संसद् भवन नयाँबानेश्वरमा महासचिव गुटरेसले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन् । उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री साउदसँग महासचिवले भेटवार्ता गर्नेछन् । भेटवार्तापछि उनले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्नेछन् ।

प्रधानमन्त्री दाहालले महासचिव गुटरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नेछन् । भ्रमणका क्रममा सोमबार उनि नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानेछन् । आगामी मंगलबार अपराह्न ४ः०० बजे उनले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासचिव भएपछि पहिलोपटक नेपालको भ्रमण गर्न लागेका गुटरेसले यहाँको शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तनलगायत विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रसङ्घका महासचिवको करिब १५ वर्षपछि नेपालमा हुनलागेको उच्चस्तरीय यस भ्रमणलाई कूटनीतिक क्षेत्रमा महत्वका साथ हेरिएको छ । प्रधानमन्त्री दाहालको मैत्रीपूर्ण निमन्त्रणामा महासचिव गुटेरेस औपचारिक भ्रमणका क्रममा नेपाल आउन लागेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved