आलेख

यसकारण नेतान्याहू नेतृत्वको इजरायललाई समर्थन गर्न सकिँदैन

म सम्पूर्ण इजरायली र यहुदीलाई दोष लगाउन सक्दिनँ, तर यो सत्य हो कि बेन्जामिन नेतान्याहूले इत्ज्याक रबिनबाट जसरी सत्ता खोसेका थिए, त्यो पाप इजरायललाई लाग्थ्यो नै । यो भन्न कुनै गाह्रो छैन कि नेतान्याहू एक सक्षम राजनीतिज्ञ हैनन्, जसका पापले आज इजरायललाई सताइरहेको छ ।

यसकारण नेतान्याहू नेतृत्वको इजरायललाई समर्थन गर्न सकिँदैन

यहुदीवादको जन्म

बाइबलमा उल्लेख भएको इजरायली भूभागमा यहुदी–राज्य पुनर्स्थापनाको आन्दोलन सन् १९४८ अघि नै जन्मिसकेको थियो । यसलाई यहुदीवाद (जियोनिज्म) भनिन्थ्यो । यो आन्दोलनका संस्थापक नेता थियोडर हर्जल थिए । सन् १८९७ मा उनले पहिलो यहुदीवादी राजनीतिक संगठन बनाए । उनी सन् १९०४ मा बिते ।

त्यसपछि यो संगठनको नेतृत्व चाइम विट्ज्म्यानको हातमा आयो । उनले वालफोर घोषणालाई समर्थन गरेका थिए । वालफोर घोषणा प्यालेस्टाइनमा एक यहुदी राज्य स्थापनाको बेलायती प्रतिबद्धता थियो । सन् १९४८ मा इजरायलको स्थापना नहुञ्जेल उनी यो संगठनको प्रमुख रहे । त्यसपछि इजरायलको प्रथम राष्ट्रपति निर्वाचित भए ।

सन् १९४६ मा संयुक्त राष्ट्र संघको विभाजन योजना आयो । त्यो बेला समग्र प्यालेस्टाइन बेलायतको नियन्त्रणमा थियो । प्यालेस्टाइनलाई यहुदी र अरब क्षेत्रमा विभाजन गरिने भयो । त्यो बेला नेगेभ क्षेत्र अरबका लागि छुट्याइएको थियो ।

यहुदीवादी तथा भविष्यका इजरायल राज्यका नेता डेबिट बेन गुरियन, मोसे सेरेट र अन्य केहीको नेतृत्वमा नेभेगको स्थिति परिवर्तन गर्ने रणनीतिका रूपमा ‘११ बुँदे योजना’ बन्यो । त्यो बेला नेभेग क्षेत्रमा २४७ गाउँ-नगर थिए । अरब जनसंख्या २ लाख ५० हजार थियो भने करिब ५०० यहुदी बस्थे । ११ बुँदे योजनाअन्तर्गत रातारात यहुदी जनसंख्या विस्तार गरियो । इतिहासकार वालिद खालिदीका अनुसार अरबहरू आफ्नै पैतृक भूमिमा अल्पसंख्यक बन्न पुगे ।

सन् १९४८ मा इजरायल राज्यको स्थापनापछि त्यो क्षेत्रका यहुदी बासिन्दाले प्रधानमन्त्री डेबिट बेन गुरियनलाई भेटेर सैन्य सेवाको माग गरेपछि ‘नाहल कार्यक्रम’ बन्यो । नाहल एक यस्तो शक्ति थियो, जसले सैन्य र कृषि दुवै कार्य गर्दथ्यो । किबुज क्षेत्रको रूपान्तरण यसैले गरेको हो ।

सन् १९५१ नाहाल योजनाअन्तर्गत बस्ती बस्न थाले । पहिलो बस्ती–नहलम मूल अजा थियो । यो बस्ती गाजा पट्टीको सीमा इलाकामा छ । यसले अरब आक्रमणमा पहिलो तथा अग्र प्रतिरक्षा मोर्चाको काम गर्ने अपेक्षा गरिएको थियो । सन् १९५३ मा नागरिक बस्तीलाई किबुज र सैन्य चौकीलाई नाहाल ओज नाम दिइयो । किबुज र गाजा क्षेत्रमा आज पनि ७५ वर्ष अघिका ती कथा जिउँदै छन् ।

मेरो अनुभव

एक समय थियो, म आफूलाई इजरायलको मित्र ठान्थेँ । मैले इराकी स्कुड क्षेप्यास्त्रहरू इजरायलमाथि प्रहार हुन नदिने ‘अप्रेसन डिजर्ट स्ट्रोम’ चलाएँ । सन् १९९४ देखि १९९८ बीचमा मैले इजरायलको बाक्लो भ्रमण गरेँ । त्यहाँ मैले इजरायली सेना र गुप्तचर संस्थासँग मिलेर काम गरेँ । मैले इजरायली जर्नेल, राजनीतिज्ञ र कुटनीतिज्ञलाई इराकबाट हुनसक्ने सम्भावित जोखिम र प्रतिरक्षाबारे जानकारी दिएँ । सन् १९९८ मा युनेस्को छोड्दासमेत मलाई आफू इजरायलको एक महत्त्वपूर्ण मित्र हुँ भन्ने लाग्थ्यो ।

मैले आज यो स्वीकार गर्नै पर्छ कि, म इजरायलको प्राकृतिक प्रशंसक थिइन्, कुनै न कुनै प्रकारको द्विविधामा थिएँ । इजरायलसँगको मेरो पहिलो सम्झना सन् १९७३ को योम किप्पुर युद्ध हो, जसका रिपोर्टहरू टेलिभिजनमा मन्त्रमुग्ध भएर हेर्थेँ । सन् १९७६ को युद्धपछिका उद्धारका साहस र वीरताका कथाले पनि म उत्तिकै प्रभावित भएँ । तर, जब म कलेजमा पढ्न थालेँ बाल्यकालको त्यो मोह हराइसकेको थियो ।

मैले अमेरिकी सेनाको सैन्य तालिम लिइरहँदा इजरायली सैन्य प्रतिरक्षा बलको एक साथी मेरो ‘रुममेट’ थियो । ऊ यहुदी विद्यार्थीको संगठन हिलेलमा सक्रिय हुन्थ्यो । प्यालेस्टाइन र अरब विश्वप्रति यहुदी शून्य सहनशीलताले मलाई आक्रोशित बनाउँथ्यो । इजरायली मात्रै हैन, अमेरिकी यहुदीमा पनि यो भावना बलियो छ ।

पछि म प्रोफेसर जोहन बि. जोसेफबाट गहिरो गरी प्रभावित भएँ । उनी इरान अघिको पर्सियाकालमा सिरियाली नरसंहारको शिकार भएका एक शरणार्थीका छोरा थिए । उनी बग्दादमा जन्मे, हुर्केका थिए । उनले मलाई इजरायल-अरब सम्बन्धका अनेक आयामलाई बुझ्न मद्दत गरे, जो हिलेलको एकपक्षीय तर्कभन्दा फरक थियो ।

सन् १९८३ को कुरा हो । हिलेलले इजरायली सैनिकको प्रतिनिधि मण्डललाई हाम्रो क्याम्पसको भ्रमण गर्न प्रायोजन गर्‍यो । उनीहरूले त्यो बेला दक्षिणी लेबनानमा इजरायली आक्रमण र कब्जाको कुरा गरेका थिए । त्यही वर्ष अमेरिकी मरिन र इजरायली प्रतिरक्षा सैन्य बलबीचको ट्यांक मुठभेड विश्वसञ्चार माध्यमको हेडलाइन बनेको थियो । मैले सन् १९८४ मा स्नातक सक्दै थिएँ, त्यसपछि मरिनमा सामेल हुनु थियो ।

त्यहाँ अमेरिकी क्याप्टेनको दायित्व इजरायली ट्यांकलाई बेरुत प्रवेशबाट रोक्नु थियो । तर, त्यसका लागि उनले इजरायली अधिकारीलाई बन्दुक तेर्स्याउनुपरेको थियो । यिनै बेन्जामिन नेतान्याहू त्यो बेला इजरायली होहल्ला र प्रदर्शनका नायक थिए । उनीहरूले क्याप्टेनले रक्सी खाएर त्यसो गरेको, उनको सासमा रक्सी गह्नाएको हल्ला फैलाएका थिए ।

हिलेल प्रतिनिधि मण्डलको एक सदस्यले यही कुरा भन्यो । म आक्रोशित भएँ र उनलाई चुनौती दिन खडा भएँ । इजरायली सैन्य प्रतिरक्षा बलको कुनै मान्छे अमेरिकी भूमिमा आएर अमेरिकी मरिनको बारेमा झुठो बोलेको मलाई मनपरेन । हिलेलले मेरो आक्रोश अनुभूत गर्दै उसलाई मञ्चबाट बाहिर लग्यो ।

इराक युद्धपछि मेरो पहिलो इजरायल भ्रमण सन् १९९४ को अक्टोबरमा भयो । मैले एक इजरायली एयर फोर्स अधिकारीसँग त्यसपछिका चार वर्ष सम्पर्कमा रहेर काम गरेँ । म हेलिकप्टरमा चरम कावा खाँदै हेर्थें कि, इजरायल कति सानो र नाजुक राष्ट्र छ । त्यो बेला म विवादास्पद ठाउँ गोलन हाइट, मसाद पुगेँ । टेलेस्कोपले सिरियाली सैन्य स्थिति नियालेँ ।

मेरी श्रीमती मलाई भेट्न आउँथिन् । मैले उनलाई मृतसागर, जेरुसेलम लिएर गएँ । नजारेथ, ग्यालिली समुद्र र जोर्डन नदी लिएर गएँ । यी सबै बाइबलमा उल्लेखित पवित्र ठाउँ थिए । ती अधिकारीले हामीलाई भन्थे– तिम्रा खुट्टाले उल्ट्याउने यहाँका प्रत्येक ढुंगामा एउटा कथा छ । यो इतिहास भरिएको भूमि हो ।

इजरायलको कठिन इतिहास

अब हामी इजरायलको इतिहासबारे कुरा गर्न सक्ने भयौं । हामीले काम गर्न पर्ने ठाउँ सरोनालाई जर्मन उपनिवेश पनि भनिन्छ । सन् १९४६ मा मेनाकेम बेगिनको समूहले यहाँ भयानक आक्रमण गरेको थियो । त्यो बेला उनी यहुदी आतंकवादी संगठन इरगुनमा थिए । पछि प्रधानमन्त्री भए र नोबल पुरस्कार पनि पाए । धेरै इजरायली उनलाई यासिर अराफातसँग तुलना गर्थे ।

इजरायलका प्रथम प्रधानमन्त्री डेबिट बेन गुरिएनले भनेका थिए–‘यदि, म अरब नेता हुन्थें भने इजरायलसँग कहिल्यै कुनै सम्झौता गर्दिनथे । यो सामान्य कुरा हो कि हामीले उनीहरूको देश लिएका छौं । तर, यो पनि सत्य हो कि, परमेश्वरले यो देश हामीलाई दिने प्रतिज्ञा गर्नुभएको थियो । यस कुरामा उनीहरूलाई के चासो ? हाम्रा भगवान् हाम्रा भगवान् हुन्, तिनीहरूका हैनन् । यो दुनियाँमा यहुदीविरोधी, नाजी हिटलर जस्ता छन् । तर, त्यसो हुनमा उनीहरूको के गल्ती छ ? उनीहरूले बुझ्ने यति मात्र हो कि हामी यहाँ आयौं, उनीहरूको ठाउँमा आयौं । हामीले उनीहरूको देश चोरेका छौं, त्यो उनीहरूले किन स्वीकार गर्छन् ?’

गुरियनको अर्को उक्ति उत्तिकै महत्त्वपूर्ण छ । उनी भन्थे–‘हामी हाम्रो बीचका सत्यलाई बेवास्ता नगरौं । राजनीतिक रूपमा हामी आक्रमणकारी नै हौं र उनीहरूले आफ्नो प्रतिरक्षा त गर्छन नै । देश उनीहरूकै हो किनकि, उनीहरू यही बस्थे । हामी त यहाँ बस्न चाहेर आएका हौं । उनीहरूको आँखाबाट हेर्दा हामी उनीहरूको देश खोस्दैछौं । हाम्रो आँखाबाट हेर्दा हामी हाम्रो पवित्र भूमि खोज्दै आएका हौं । यो सत्य हो कि, इजरायलको इतिहास एक कठिन इतिहास हो, यसको व्याख्या कहिल्यै सजिलो हुनेछैन ।’

ग्रिन लाइन

सन् १९४८ मा इजरायलका लागि कोरिएको सीमारेखालाई ‘ग्रिन लाइन’ भनिन्छ । सन् १९६७ को ६ दिने युद्धपछि इजरायलले यो सीमारेखा पनि पार गर्‍यो  । अहिले यो क्षेत्रलाई वेस्ट बैंक भनिन्छ । प्यालेस्टाइनी यो भूमि फिर्ता गर्न चाहन्छन् । इजरायल र प्यालेस्टाइनको सीमारेखा ग्रिन लाइनमा फर्काउन चाहन्छन् ।

इजरायली एयर फोर्सका मेरा ती इजरायली मित्र भन्थे–‘हामीले छिमेकीको जमिन खोसेका छौं र छिमेकी रिसाएको छ भने कसरी शान्तिले सुत्न सकिन्छ ? यदि, हामी शान्तिले बस्ने हो भने ग्रिन लाइन उताको जमिन प्यालेस्टाइनलाई दिनै पर्छ ।’

त्यो बेला यहुद बराक र इत्ज्याक रबिन मुख्य इजरायली नेता थिए । बराक प्रमुख सेनापतिबाट सेवानिवृत भएर राजनीतिमा आएका थिए । रबिन भने सेवानिवृत सिपाही । मेरा मित्र भन्थे– ‘यहुद बाराकले झुठो बोल्न राम्रै सिकेका छन् । बोल्न त रबिन पनि झुठो बोल्छन्, तर त्यति मात्र जति शान्तिका लागि आवश्यक हुन्छ । त्यो भने मलाई स्वीकार्य छ ।’

अनि उनी बेन्जामिन नेतान्याहूका बारेमा भन्थे–‘यो मान्छे त इजरायलका लागि विध्वंशक नै हो । यस मान्छेलाई घृणाबाहेक अरु केही थाहा छैन ।’

ग्रिन लाइनमा सीमा विवाद मिल्ने हो भने पनि दीगो शान्ति कायम होला नहोला त्यो भिन्नै पाटो हो । तर, इजरायली राजनीतिज्ञका आ-आफ्नै मनोविज्ञान छन् । इजरायलको कठिन इतिहासले उनीहरूलाई सही बोल्ने अनुमति दिँदैन । यहुद बाराकझैँ सफेद झुठ बोल्ने होस वा इत्ज्याक रबिनझैं शान्तिका लागि झुठ बोल्ने हो वा बेन्जामिन नेतान्याहूझैँ घृणाको खेल खेल्ने होस्, त्यो उनीहरूको छनोट हो ।

ओस्लो शान्ति वार्ता

सन् १९९४ को नोभेम्बर ४ को दिन, मेरा मित्र र म कियराबाट होटल फर्किरहेका थियौं । त्यो दिन किंग्स अफ इजरायल स्क्वायरमा एक शान्ति र्‍याली आयोजना गरेका थिए, इत्ज्याक रबिन समर्थकले । सेप्टेम्बर २८ मा रबिन र यासिर अराफातबीच वासिङगटनमा भेट भएको थियो र उनीहरूले ओस्लो सम्झौता दोस्रोमा हस्ताक्षर गरेका थिए ।

हमास यो सम्झौताको विरुद्धमा थियो । सम्झौताको विरुद्धमा हिंसात्मक आक्रमण गर्दै थियो । रबिनका राजनीतिकविरोधी बेन्जामिन नेतान्याहू पनि यसलाई भाँँड्न चाहन्थे । नेतान्याहूले दक्षिणपन्थी यहुदी अतिवादीलाई इत्ज्याक रबिनविरुद्ध व्यापक परिचालन गरेका थिए ।

ठीक यस्तै एउटा अतिवादी प्रदर्शनमा जुलुसको अघिअघि नेतान्याहू थिए । साथै, एक कफिन बोकिएको थियो । त्यसमा लेखिएको थियो–‘इत्याजक रबिनले यहुदीवादको हत्या गर्‍यो ।’ अक्टोबर ५ मा इजरायली संसद् नेसेटले ओस्लो शान्ति सम्झौता पारित गर्‍यो । तर, त्यही दिन संसद् बाहिर नेतान्याहूले १ लाख भन्दा बढीको जुलुस निकालेर भाषण गरे–‘यो इत्ज्याक रबिनको मृत्यु हो ।’ नभन्दै त्यही भयो ।

त्यो रात ९:३० बजे, हामी खान खान मात्रै लागेका थियौं । होटल मालिक रुँदै हाम्रा अगाडि आएर भने–‘इत्ज्याक रबिनलाई गोली हानियो । अहिले उनलाई अस्पताल लगिएको छ । उनको जीवनका लागि सबैले प्रार्थना गरौं ।’ हामी केही नखाई बिलसमेत नतिरी उठ्यौं ।

राति ११.१५ बजे रबिनको मृत्युको घोषणा भयो । दिउँसोको भाषणमा उनले भनेका थिए–‘मलाई लाग्छ कि हामी शान्ति चाहन्छौं, शान्तिका लागि कसै न कसैले जोखिम उठाउनै पर्छ । म त्यो जोखिम उठाउन तयार छु ।’

नोभेम्बर ५ का लागि राष्ट्रिय शोक दिवस घोषण गरियो । त्यसको भोलिपल्ट रबिनको शव गाडियो । इजरायलीमा शान्ति न चाहने केही अतिवादी छन् । अतिवाद अरबतिर मात्र छ भन्ने कुरा गलत हो । अतिवाद यहुदीहरूमा पनि छ ।

पिताका पाप

सन् १९९६ जनवरी ५,  इजरायली सैन्य बलले ‘हमासका इन्जिनियर’ भनिने आहया ऐयासको हत्या गर्‍यो । उनी हमासका लागि बम बनाउँथे । हमासले इजरायलविरुद्ध प्रयोग गरेका बमका लागि उनी जिम्मेवार ठानिन्थे । हत्याको विरुद्धमा हमासले हिंस्रक प्रतिक्रिया दियो । जेरुसेलममा एक बसमा बम विष्फोट भयो । यी घटनाले सन् १९९६ मे २९ को चुनावमा नेतान्याहूलाई प्रधानमन्त्री बन्न योगदान गरेका थिए । सन् १९९८ को जुनमा मेरो काम सकियो ।

म सम्पूर्ण इजरायली र यहुदीलाई दोष लगाउन सक्दिनँ, तर यो सत्य हो कि बेन्जामिन नेतान्याहूले इत्ज्याक रबिनबाट जसरी सत्ता खोसेका थिए, त्यो पाप इजरायललाई लाग्थ्यो नै । यो भन्न कुनै गाह्रो छैन कि नेतान्याहू एक सक्षम राजनीतिज्ञ हैनन्, जसका पापले आज इजरायललाई सताइरहेको छ ।

सन् २००१ को नेतान्याहूको एक भिडियो मलाई याद आउँछ । त्यसमा उनी भन्छन्–‘म बिल क्लिन्टनसँग भिड्न डराउँदिन । मलाई थाहा छ अमेरिका के हो । अमेरिका सजिलै मोड्न सकिने चिज हो । यसलाई सही दिशामा सार्न सकिन्छ । ’

जसले सहयोगी देश अमेरिकाको बारेमा यस्तो धारणा राख्छ, उसको घमन्ड, अहंकार र दुृष्टताको सजिलै अनुमान गर्न सकिन्छ । नेतान्याहूले हमासका मात्रै हैन, अन्य थुप्रै प्यालेस्टाइनी नेताको अनावश्यक हत्या गराएका छन् । उनका लागि हमास र प्यालेस्टाइनीलाई मार्नु भनेको आन्तरिक राजनीतिमा भोट बढाउनु र सत्ता लम्ब्याउनु हो ।

हमास–इजरायल सम्बन्ध

कतिपयको आशंका छ कि इजरायलका अतिवादी र गुप्तचर संगठनले नै प्रारम्भिक दिनमा हमासलाई सहयोग गर्थे । त्यसो गर्दा प्यालिस्टाइनमा यासिर अराफातको फतेह समूह कमजोर हुन्थ्यो । फतेह कमजोर हुनुको अर्थ–ओस्लो शान्ति सम्झौता कमजोर हुनु थियो । ओस्लो शान्ति सम्झौता भाँड्ने विषयमा हमास र नेतान्याहू समूहका विचार समान थिए ।

त्यो बेला यहुदी अतिवादीहरू ठान्थे कि, हमास आक्रमक भयो भने इत्ज्याक रबिनको शान्ति सम्झौता र राजनीति असफल हुन्छ । सन् २००७ मा हमास र फतेह समूहबीच राजनीतिक तनाव बढेको थियो । त्यो बेला इजरायलको सहानुभूति हमासप्रति थियो । त्यही विवादले प्यालेस्टाइनमा गृहयृद्ध भयो । फतेह वेस्ट बैंकमा सीमित भयो भने हमासले गाजा क्षेत्र कब्जा गर्‍यो ।

अहिले पनि यो भन्न सकिन्छ कि, हमासको अतिवादले अन्ततः यहुदी अतिवादलाई नै प्रेरित गर्दछ । इजरायलमा देशलाई सधैं युद्धमा राख्न चाहने दक्षिणपन्थीले राजनीतिक बल प्राप्त गर्दछन् । जबसम्म स्वतन्त्र र शान्त प्यालेस्टाइन हुने छैन, तबसम्म स्वतन्त्र र शान्त इजरायल पनि हुन सक्दैन । तर, इजरायलका यहुदीवादीमा अब त्यस्तो नैतिक चरित्र नै रहेन । उनीहरू प्यालेस्टाइन मेटिएको मूल्यमा स्वतन्त्र इजरायलको कल्पना गर्दछन् ।

नेतान्याहूले मात्र हैन, इजरायलका संस्थापक पिताहरूले नै त्यस्तो पाप गरेका थिए । जस्तो कि मोसे दियान, डेबिट बेन गुरियन आदि । तर, उनीहरूको पापमा एक नैतिक आधार थियो । उनीहरू सत्य स्वीकार गर्थे । आज नेतान्याहू र अन्य इजरायली नेतामा त्यतिको नैतिकता पनि छैन ।

मलाई लाग्छ कि, हमास र नेतान्याहूजस्ता अतिवादी यहुदीवादीहरू दुवैको हार हुनुपर्दछ । हमास नियन्त्रणको प्यालेस्टाइन र यहुदीवादी इजरायल दुवै खतरा हो । यी दुवै स्वतन्त्र प्यालेस्टाइनको विरुद्धमा छन् । तसर्थ, मैले भन्ने गरेको हुँ–म हमासको पक्षमा पनि छैन । इजरायलको पक्षमा पनि छैन ।

अन्त्यमा,

यासिर अराफात र इत्ज्याक रबिनले लिएको बाटो गलत थिएन । तर, हमास र नेतान्याहूले त्यसलाई बर्बाद पारे । हमास प्यालेस्टाइनको वैधानिक शासन व्यवस्था र सरकारलाई अस्वीकार गर्दछ । तसर्थ, त्यो आतंकवादी संगठन नै हो । तर, यहुदी अतिवादमा आधारित इजरायली राज्यलाई चाहिँ के भन्ने जसले स्वतन्त्र तथा शान्त प्यालेस्टाइन अस्वीकार गर्दछ ?

जसरी दक्षिण अफ्रिकामा विश्वले श्वेत-सर्वोच्चतालाई स्वीकार गरेन, त्यसरी नै प्यालेस्टाइन, इजरायललगायत अरब क्षेत्रमा यहुदी सर्वोच्चता स्वीकार्य हुन सक्दैन । यहुदीवादोत्तर इजरायलले प्यालेस्टाइनसँग सह-अस्तित्वमा बाँच्न सिक्नै पर्छ ।

(अमेरिकी लेखक स्कट रिटर अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ हुन् । उनी अमेरिकी मरिनका पूर्व गुप्तचर अधिकारी, संयुक्त राष्ट्र संघको विशेष आयोगका पूर्व हतियार निरीक्षक हुन् । यो आलेख स्कोट रिटर एक्ट्राबाट संक्षेपीकृत अनुवाद गरिएको हो)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved