हमासले बन्धक बनाएका नागरिकमा नेपाली विद्यार्थी पनि !

आक्रमणमा परेर सम्पर्कविहीन कञ्चनपुरको महेन्द्रनगरका विपिन जोशी अझै भेटिएका छैनन्। उनी नै अपहरणमा परेको हुनसक्ने आशंका छ। किनकि  बेपत्ता हुनेमा एक जना मात्र नेपाली छन्।

नेपालभ्युज

हमासले बन्धक बनाएका नागरिकमा नेपाली विद्यार्थी पनि !

काठमाडौं। इजरायलमा हमास समूहको अपहरणमा एक जना नेपाली समेत परेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। विभिन्न टेलिभिजन तथा मिडियाले सामाजिक सञ्जालमा आएका भिडिओ विश्लेषण गर्दै विभिन्न देशका नागरिकबारे खुलासा गरेका हुन्।

हमास समुहले बन्धक बनाएकामा इजरायलीका अलावा, मेक्सिकन, ब्राजिलियन, जर्मन, थाई र एक जना नेपाली विद्यार्थी समेत रहेको समाचार माध्यमले जनाएका छन्। आक्रमणमा परेर सम्पर्कविहीन भएका कञ्चनपुरको महेन्द्रनगरका विपिन जोशी अझै भेटिएका छैनन्। उनी नै अपहरणमा परेको हुनसक्ने आशंका छ। बेपत्ता हुनेमा एक जना मात्र नेपाली छन्।

इजरायलस्थित नेपाली दूतावासले खोजी जारी राखेको परराष्ट्र मन्त्रालयले जनाएको छ। तर, उनी नै अपहरणमा परेको भन्ने यकिन नभएको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

परराष्ट्र स्रोतले भन्यो, ‘‘हमासले बन्धक रहेकाको नाम ठेगाना केही सार्वजनिक गरेको छैन। नेपाली विद्यार्थी पनि एकजना अपहरणमा परेको विभिन्न समाचारमा आइरहेको देखिएको छ। तर, यकिन भने भइसकेको छैन।’’

संगै रहेका साथीलाई लगेर विभिन्न अस्पतालमा खोजी गर्दा पनि विपिनबारे केही पत्तो लाग्न सकेको छैन ।

गत भदौ अन्तिम साता ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत विपिन इजरायल गएका थिए। उनीसँगै इजरायल गएकामध्ये १० नेपाली विद्यार्थीको भने हमासको आक्रमणमा मृत्यु भइसकेको छ। बाँकी ६ जना घाइते छन्। ४ जना अस्पतालमा छन् भने २ जना डिस्चार्ज भइसकेका छन्।

कञ्चनपुर महेन्द्रनगरका विपिन जोशी, जो सम्पर्कविहीन छन्।

भाइरल भिडिओमा के छ ?

शनिबार प्यालेस्टिनी लडाकु समूह हमासले दक्षिणी इजरायलमा अप्रत्यासित रूपमा आक्रमण गरेका थिए। त्यसपछि दर्जनौँ भिडिओ भाइरल भएका छन्। जसमा बन्धक बनाइएका इजरायली सैनिक र अन्य नागरिक देख्न सकिन्छ।

बन्धक बनाइएकाको यकिन सङ्ख्या पत्ता लाग्न सकेको छैन । तर, इजरायली सेनाले उक्त संख्या १ सय देखि १५० को बिचमा रहेको उल्लेख गरेको छ ।

इन्टरेटमा व्यापक रूपमा शेयर गरिएको एउटा भिडिओमा एउटा साङ्गीतिक कार्यक्रम हेर्न गएको समूह मरुभूमिमा भागिरहेको देख्न सकिन्छ। नाच्दानाच्दै विस्फोट र गोलाबारी भएपछि भागदौड मच्चिएको देखिन्छ।

आइतबार साँझ उद्धारकर्ताले त्यहाँबाट २६० शव फेला पारेका थिए । सो कार्यक्रम पश्चिम नेगेभको किबुत्स रिममा भइरहेको थियो।

अर्को भिडिओमा लगभग चारजना इजरेली सर्वसाधारणलाई बेरी नगरबाट लिएर गएको देख्न सकिन्छ। बन्धक बनाइएकामध्ये कालो पोसाक लगाएकी एक वृद्धा पनि छिन्।

व्यापक रूपमा सेयर गरिएको एउटा भिडिओमा एक इजरेली महिलालाई अपहरण गरिएको देखिन्छ। एकान्त ठाउँमा मोटरसाइकलमा बन्धक बनाइएको देख्न सकिन्छ।

भिडिओमा उनी अपहरण गरिएका अर्का पुरुष नजिकै पुग्ने प्रयास गरिरहेको देख्न सकिन्छ। पछि इजरायलका सामाजिक सञ्जाल प्रयोगकर्ताले ती किशोरी बेपत्ता रहेको भन्दै तस्वीर सेयर गरेका छन्।

सामाजिक सञ्जालको नोआ आर्गामानीको तस्बिर। भिडिओमा लिएको अर्को तस्बिरमा उनलाई लडाकुले मैदानबाट तानिरहेको देखिन्छ। तस्वीर – बीबीसी

सामाजिक सञ्जालमा सेयर गरिएको अर्को भिडिओमा एउटा पिकअप ट्रकले लगभग निर्वस्त्र महिलाको शव लगिरहेको देखिन्छ। त्यसपछि सामाजिक सञ्जालमा सेयर भएको अर्को भिडिओमा एउटी आमाले उक्त शव आफ्नी छोरीको भएको भन्दै उनको नाम शानी लोउक भएको बताएकी छन्।

सार्वजनिक भिडिओमा देखिएको दृश्य, जहाँ हमासले इजरायली सैनिकहरूलाई बन्धक बनाएका छन्।

बन्धकहरूलाई कहाँ लगियो?

सार्वजनिक एउटा भिडिओमा पिकअप ट्रक भिडतर्फ अघि बढिरहेको देखिन्छ। त्यहाँबाट ‘अल्लाहु अकबर’ भन्दै कराइरहेको सुन्न सकिन्छ। बन्धक व्यक्ति सवारी साधनभित्र पल्टिरहेका हुन्छन्। उक्त स्थान गाजा स्ट्रिपको बानी सुहेइला रहेको पहिचान गरिएको छ।

भाइरल अर्को भिडिओमा गम्भीर रूपमा घाइते भएका वा ज्यान गुमाएका एक इजरेली सैनिकलाई एउटा सेतो कारबाट घिसार्दै बाहिर निकालेको देख्न सकिन्छ। भिडिओ गाजाको अल अवादा सडक नजिकैको हुनसक्ने बताइएको छ।

 

यो पनि पढ्नुहोस :

को हुन् इजरायलमाथि आक्रमणको नेतृत्व गर्ने हमास कमान्डर मोहम्मद देइफ ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved