को हुन् इजरायलमा आक्रमणको नेतृत्व गर्ने हमास कमान्डर मोहम्मद देइफ ?

वितेको २ दशकमा देइफमाथि ७ वटा हत्या प्रयास भए तर, पनि बाँच्न सफल भए । उनको एउटा आँखा फुटेको र एउटा हात काटिएको छ भन्ने विश्वास गरिन्छ तर, प्रमाणित छैन । देइफकी श्रीमती, ३ वर्षीया छोरी र ७ महिने छोरा भने सन् २०१४ को इजरायली हवाई आक्रमणमा मारिएका थिए ।

नेपालभ्युज

को हुन् इजरायलमा आक्रमणको नेतृत्व गर्ने हमास कमान्डर मोहम्मद देइफ ?

काठमाडौं । इजरायल-प्यालेस्टाइन युद्ध जति भयानक हुँदै गइरहेको छ–धेरैको मनमा यो प्रश्न र जिज्ञासा उठिरहेको छ कि, हमास पक्षबाट यो युद्धको नेतृत्व कसले गरिरहेको छ ? कस्तो मान्छे होला त्यो ?

हमासको सैन्य शाखालाई ‘इज–अद अल–दिन कसाम ब्रिगेड’ भनिन्छ । यसका सुप्रिम कमान्डर सन् २००२ यता ५८ वर्षीय मोहम्मद दिइव इब्राहिम मार्सीले गरिरहेका छन् । छोटकरीमा उनलाई मोहम्मद देइफ भनिन्छ ।

उनी गाजा पट्टीको एक शरणार्थी शिविरमा सन् १९६५ मा जन्मिएका थिए। त्यो बेला गाजा क्षेत्र इजिप्टको नियन्त्रणमा थियो । सन् १९८७ मा हमासको गठन हुँदादेखि नै देइफ यसको समर्थक थिए ।

सन् १९९० मा हमासमा प्रवेश गर्दा उनको उमेर २५ वर्षको थियो । त्यसयता, उनको कुनै तस्वीर सार्वजनिक भएको छैन । उनी सन् २००२ देखि निरन्तर हमास शाखाको औपचारिक नेतृत्व गरिरहेका छन् । देइफका पिता प्यालेस्टाइनी लडाकु थिए । देइफले बाल्यकालदेखि नै युद्ध देख्दै र व्यहोर्दै आएका छन् ।

 

हमास कमान्डर देइफको अहिलेसम्म सार्वजनिक तस्वीर । 

देइफले इस्लामिक युनिभर्सिटी अफ गाजाबाट स्नातक गरेका छन् । विद्यार्थी जीवनमा उनी नाट्य समूहमा सामेल हुने गर्थे । उनी सन् १९९६ यताका सबै इजरायल विरोधी आक्रमणमा सामेल हुँदै आएका छन् ।

सन् १९९५ देखि इजरायली सेनाले उनलाई ‘मोस्ट वान्टेड’ को सूचीमा राख्दै आएको थियो । वितेको २ दशकमा देइफमाथि ७ वटा हत्या प्रयास भए तर, पनि बाँच्न सफल भए । देइफको एउटा आँखा फुटेको र एउटा हात काटिएको छ भन्ने विश्वास गरिन्छ तर, प्रमाणित छैन ।

देइफकी श्रीमती, ३ वर्षीया छोरी र ७ महिने छोरा भने सन् २०१४ को इजरायली हवाई आक्रमणमा मारिएका थिए । सन् २०१५ मा अमेरिकाले उनलाई ‘विश्व आतंकवादी’ को संज्ञा दिएको थियो । सन् २०२१ मा इजरायली जासुसी संयन्त्रले सञ्चालन गरेको उनको हत्या प्रयासको नाम ‘अप्रेसन गार्जियन्स अफ द वाल’ थियो ।

अक्टोबर ७ को बिहान इजरायलमाथि हजारौं रकेट र सयौं हमासका लडाकुले आक्रमण गरेपछि उनको स्वरमा एक छोटो अडियो टेप सार्वजनिक भयो । त्यसमा उनले भनेका छन्–‘१६ वर्षदेखि इजरायलले गाजालाई चारैतिरबाट घेरेर राखेको छ । अमेरिका र पश्चिमा देशका कारणले कसैले पनि हाम्रो अधिकारबारे आवाज उठाउँदैनन् । सिंगो विश्वले हामीलाई बेवास्ता गरेको छ । हामीलाई लागेको छ कि अब त्यसो हुन दिइने छैन ।’

इजरायली जासुुसी संस्था तथा पश्चिमा देशको ठहर छ कि यो युद्धमा हमासको सैन्य नेतृत्व देइफ आफैँले गरिरहेका छन् । एक हमास नेताका अनुसार देइफ विगत २ वर्षदेखि युद्धको तयारीमा थिए । तर, यसको योजना सीमित मानिस बीच मात्र थियो । हमासका केही नेतालाई मात्र यसको जानकारी थियो । यहाँसम्म कि हमासको सहयोगी देश भनिएको इरानसँग पनि यसको सबै सूचना थिएन ।

देइफले गाजा क्षेत्रको फिल्ड कमान्डर येहया सिनवारलाई बनाएको बताइन्छ । अनुमान गरिन्छ कि, देइफ र सिनवारको परामर्श र निर्णयमा इजरायलमाथि आक्रमण भइरहेका छन् ।

देइफ कट्टर जिहादी हुन्  । सन् २०१० मा प्रकाशित हमास स्थापनाको २३औं वार्षिक उत्सव स्मारिकामा देइफले लेखेका थिए–‘हामीसँग अर्को कुनै बाटो वा विकल्प छैन । हामीले यही बाटो अझ राम्ररी निरन्तर राख्ने हो । हाम्रो बाटो भनेको जिहाद र मुस्लिम राष्ट्र र मानवताका शत्रु विरुद्धको संघर्ष हो । प्यालेस्टाइनको भूमि जेरुसेलम र अल–अक्सा मस्जिदको नगरदेखि जोर्डन नदीसम्म हो । हामी हाम्रा शत्रुहरूलाई भन्न चाहन्छौं, यस बीचको एक-एक इन्च जमिनमा हाम्रो हक छ ।’

अक्टोबर ७ को आक्रमणपछि जारी अडियो टेपमा उनले थप भनेका छन्–‘आक्रमणकारीलाई लखेट्न र पर्खाल भत्काउन हामी जतिसुकै ठूलो मूल्य चुकाउने छौं । शत्रुले यो बुझोस् कि, अमेरिका र पश्चिमा देशको आडमा अब ऊ धेरै दिन यहाँ टिक्ने छैन।’

उनी आधुनिक सञ्चार उपकरणबाट टाढा रहेको बताइन्छ । मोबाइल, ल्यापटपजस्ता साधन चलाउँदा इजरायली जासुसी संस्थाले लोकेसन ट्रयाक गर्न सक्ने भएकाले देइफले यीबाट दूरी बनाएको धेरैको विश्वास छ । संसारमै नामुद मानिएको इजरायली जासुसी संस्था मोसादले पनि उनको बारेमा धेरे कुरा पत्ता लगाउन सकेको छैन ।

गाजामुनि ठूला-ठूला सुरुङ रहेको र त्यही हमासको नेतृत्व बस्ने गरेको विश्वास गरिन्छ । पछिल्लोपटक बन्धक बनाएर लगिएका नागरिकलाई पनि त्यस्तै सुरुङमा राखिएको अनुमान गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved