काठमाडौं । इरानी राष्ट्रपति इब्राहिम रइसीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । रइसीको मृत्यु यस्तो जटिल समयमा भएको छ कि इरानको अन्तर्राष्ट्रिय सम्बन्धका आयाम झनझन पेचिलो हुँदै गइरहेका थिए ।
रइसी ६३ वर्षका थिए । उनी इरानको पूर्वी शहर मसहदमा सन् १९६० डिसेम्बर १४ मा जन्मेका थिए । उनी ५ वर्षका हुँदा पिताको निधन भएको थियो । उनी संयुक्त परिवारमा हुर्किएका थिए ।
स्थानीय विद्यालयबाट उनको अध्ययन सुरु भएको थियो । उनी धार्मिक कट्टपन्थमा विश्वास गर्थे । उनको परिवारिक पृष्ठभूमि इस्लामिक आस्थाप्रति बलियो अडान राख्ने सोच र संस्कारमा आधारित थियो ।
आफ्नो बुबाको पाइला पछ्याउँदै उनले १५ वर्षको उमेरमा कोम सहरमा अवस्थित शिया संस्थामा अध्ययन गर्न थाले । विद्यार्थीकालमा उनले मोहम्मद रेजा शाहविरूद्ध पश्चिमा देशले समर्थन गरेको प्रदर्शनमा भाग लिएका थिए ।
उनको परिवार सन् १९७९ को इस्लामिक क्रान्ति पक्षधर थियो । यही क्रान्तिले इरानमा राजतन्त्रको अन्त्य गर्दै इस्लामिक सत्ता स्थापित गरेको थियो । राजा मोहम्मद रेजा पल्हबी देश छोडेर भागेका थिए । त्यसपछि पल्हबी राजवंशको अन्त्य भएको थियो । ‘इरानी साम्राज्य’ बाट देश ‘इस्लामिक गणतन्त्र’ मा रुपान्तरण भएको थियो ।
इस्लामिक क्रान्तिका नेता आयतुल्लाह रोहल्ला खुमेनी इरानको सर्वोच्च नेता भएका थिए । खुमेनी सन् १९८९ सम्म सर्वोच्च नेता रहे । उनको निधनपछि यो स्थान आयतुल्लाह अली खुमेनीले लिएका हुन् । अहिले पनि उनी सर्वोच्च नेता छन् ।
रइसी सन् २०२१ मा इरानको राष्ट्रपति निर्वाचित भएका थिए । उनी इरानको सर्वोच्च नेता हुने सम्भावना थियो । उनलाई वर्तमान सर्वोच्च नेता आयतुल्लाह अली खुमेनीको सम्भावित उत्तराधिकारका रुपमा हेरिन्थ्यो ।
उनले आफ्नो शासनकालमा आणविक हतियारको विस्तार, इस्लामिक कट्टरपन्थी समूहसँग गहिरो सम्बन्ध निर्माण र इजरायसँग युद्धको सुरुवात गरेका थिए ।
प्यालेस्टाइनी विद्रोही समूह हमासलाई इरानको सहयोग छ । साथै लेबनान आधारित हिज्जबुल्लाह र यमनी हुथी बिद्रोहीलाई इरानको समर्थन र सहयोग रहँदै आएको छ ।
सन् २०२४ अप्रिल १३ मा इरानले इजरायलमाथि २५० भन्दा बढी मिसाइल आक्रमण गरेको थियो । हमास, हिज्जबुल्लाह र हुथी विद्रोही मात्र हैन, यूक्रेन युद्धमा रुसले प्रयोग गर्ने मिसाइल र ड्रोन इरानमा निर्माण गरिएका हुन्छन् ।
इस्लामिक क्रान्तिकै समयदेखि इरान र पश्चिमी देश, विशेषतः अमेरिकासँगको सम्बन्ध राम्रो थिएन । रइसीको राष्ट्रपतीय कार्यकालमा यो सम्बन्ध झनै जटिल र शत्रुतापूर्ण भयो ।
रइसी इस्लामिक धर्म र कानूनका ज्ञाता थिए । इस्लामिक राज्य इरानमा उनको करिअर न्यायिक क्षेत्रबाट अघि बढेको थियो । उनी स्थानीय सरकारी वकिल, महान्यायाधिवक्ता हुँदै सन् २०१९–२०२१ बीचमा देशको प्रधानन्यायाधीश भएका थिए ।
जब रइसी मात्र २५ वर्षका थिए, उनी इरानको उप अभियोजक (सरकारको दोस्रो दर्जाका वकिल) बनेका थिए । पछि उनी न्यायाधीश बने र, सन् १९८८ मा गठन गरिएको खुफिया न्यायाधिकरणमा सामेल भए, जसलाई ‘डेथ कमिटी’ भनिन्छ ।
सन् १९८८ मा हजारौं राजनीतिक असन्तुष्टलाई राज्यद्रोहको मुद्दामा फासीको सजाय दिँदा उनी त्यस्तो फैसला गर्ने एक मुख्य न्यायाधीश थिए । इरानी जेलमा रहेका हजारौं राजबन्दीलाई फासीको सजाय सुनाउने कुख्यात घटनाका ४ न्यायाधीशमध्ये एकका रूपमा उनको सधैँ आलोचना हुने गरेको छ ।
यसरी मारिएका राजबन्दीमध्ये अधिकांश इरानी कम्युनिष्ट पार्टीका समर्थक तथा नेता कार्यकर्ता थिए । करिब ५ हजारलाई मारिएको यो घटनालाई मानवताविरोधी अपराधका रूपमा लिइन्छ ।
मृत्युदण्डपछि सबैलाई अज्ञात सामूहिक चिहानमा गाडिएको थियो । मानव अधिकार उल्लङ्घनका घटनामा रइसी अन्तर्राष्ट्रिय रूपमा बदनाम थिए ।
सन् २०२१ को राष्ट्रपतीय निर्वाचनमा उनले ७२.३५ प्रतिशत मत प्राप्त गरेका थिए । उनका प्रमुख प्रतिस्पर्धी मोहसिन रेजाईले १३.८ प्रतिशत मात्र मत प्राप्त गरेका थिए । त्यसअघि सन् २०१७ को राष्ट्रपतीय निर्वाचनमा भने उनी वहालवाला राष्ट्रपति हसन रुहानीसँग पराजित भएका थिए ।
सर्वोच्च नेता आयतुल्ला अली खुमेनीसँग उनको राजनीतिक रसायन मिल्थ्यो । अली खुमेनीको कार्यकालमा रइसीको छिटोछिटो पदोन्नति भएको थियो ।
रइसी शासनकालको सबैभन्दा ठूलो इरानी विद्रोह ‘हिजाब आन्दोलन’ हो । सन् २०२२ सेप्टेम्बर १६ मा २२ वर्षिय कुर्दिश युवती महसा अमिनीको तेहरान प्रहरी हिरासतमा मृत्युपछि इरानभर आन्दोलन भड्किएको थियो ।
अमिनीमाथि इरानी प्रहरीले इस्लामिक ड्रेस कोडअनुसार हिजाब नलगाएको आरोपमा यातना दिएको थियो । र, तेहरान नगर अस्पतालमा उनको मृत्यु भएको थियो ।
रइसीको मृत्युले इरानको कट्टरपन्थी इस्लामिक सत्तामाथि नयाँ राजनीतिक संकट ल्याएको छ । यसको समना कसरी गरिन्छ, अबइरानी राजनीतिले कुन बाटो लिन्छ, त्यो भने पर्खिएरै हेर्न पर्ने हुन्छ ।
Facebook Comment
Comment