अर्थतन्त्र चलायमान बनाउन आमउपभोक्ताको आत्मविश्वास बढाउनुपर्छः चन्द्रप्रसाद ढकाल

नेपालभ्युज

अर्थतन्त्र चलायमान बनाउन आमउपभोक्ताको आत्मविश्वास बढाउनुपर्छः चन्द्रप्रसाद ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रलाई चलायमान बनाउँदै सही बाटोमा ल्याउन आमउपभोक्ताको आत्मविश्वास बढाउन आवश्यक रहेको बताएका छन्।

काठमाडौँमा आयोजित नेपाल जग्गा तथा आवास विकास महासंघद्वारा आयोजित रियल स्टेट व्यवसायी वृहत भेला २०८० लाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै महासंघ अध्यक्ष ढकालले सबै मिलेर आम उपभोक्ताको आत्मविश्वास बढाउनुपर्ने बताए।

“अर्थतन्त्रका बाह्य सूचकहरु सकारात्मक देखिए पनि आम उपभोक्ताको आत्मविश्वास बढ्न नसक्दा अर्थतन्त्र चलायमान हुन सकेको छैन। अर्थतन्त्र चलायमान बनाउन र सही ट्रयाकमा ल्याउन आम उपभोक्ताको आत्मविश्वास बढाउन जरुरी हुन्छ। यसमा अर्थतन्त्रका सबै सरोकारवाला मिलेर अगाडि बढ्नुपर्छ,” उनले भने।

उनले आम उपभोक्ताको कन्फिडेन्स बढाउँदै अर्थतन्त्रलाई चलायमान बनाउन महासंघले यही असोज २५ गते अर्थतन्त्रका सबै सरोकारवाला पक्षलाई भेला गरी प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा वृहत राष्ट्रि छलफलको आयोजना गर्न गइरहेको जानकारी गराए।

“अर्थतन्त्रका सबै सरोकारवालाहरु एक ठाउँमा आएर स्पष्ट रोडम्याप नबनाई संकटको समाधान हुँदैन। त्यसका लागि सरकार, निजी क्षेत्र, विकास साझेदार तथा अन्य सरोकारवालाहरुको सहभागितामा वृहत आर्थिक बहस संचालन गरी समाधानको रोडम्याप पहिल्याउने प्रयास नेपाल उद्योग वाणिज्य महासंघले थालेको छ। यसमा सबैको साथ र सहयोगको आवश्यकता छ,” उनले भने।

उनले हालका चुनौती तथा आसन्न संकटबाट व्यवसाय तथा अर्थतन्त्रलाई जोगाउन आर्थिक गतिविधि बढाउन आवश्यक रहेको बताउँदै सरकार र निजीक्षेत्र मिलेर बजारमा माग बढाउने अवस्था सिर्जना गर्नुपर्ने बताए।

“त्यसका लागि महासंघले सातवटै प्रदेशमा लगानी सम्मेलन तथा राष्ट्रिय स्तरमा चीन र भारत केन्द्रित लगानी सम्मेलनहरु आयोजना गर्दैछ। एकले अर्कोलाई आरोप लगाउनुको सट्टा सबै मिलेर समस्याको समाधान गर्ने हो भने अर्थतन्त्र लयमा ल्याउन सकिन्छ,” उनले भने।

अध्यक्ष ढकालले निजी क्षेत्रका सुझावका आधारमा नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र संशोधन गरेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved