एमालेसँग माओवादीको पुनः एकता वा सहकार्य हुनसक्छः वर्षमान पुन

नेपालभ्युज

एमालेसँग माओवादीको पुनः एकता वा सहकार्य हुनसक्छः वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले आफ्नो दल र एमालेबीच फेरि पार्टी एकता वा कुनै प्रकारको सहकार्य हुन सक्ने बताएका छन् ।

राजधानीमा शनिबार आयोजित माओवादी जनयुद्धका शहीद तथा बेपत्ता परिवार र आस्थाका बन्दीहरुको सम्मान कार्यक्रममा बोल्दै पुनले विगतको जरा एउटै भएको र कयौं राजनीतिक एजेण्डामा समानता भएका दुई पार्टी कुनै पनि वेला मिल्न सक्ने बताएका हुन् ।

नेता पुनले फेरि मिल्नुपर्ने अवस्था आउन सक्ने भएकाले धेरै टाढा पुगेर माओवादी आन्दोलनको योगदानलाई अवमूल्यन नगर्न एमाले अध्यक्ष केपी ओलीलाई आग्रह गरे ।

‘हिजो हामीले नेकपा बनायौं । यद्यपि टिकाउन सकिएन, इतिहासले त्यसको समीक्षा गर्दै गर्ला । फेरि पनि कम्युनिष्ट पार्टीहरु मिलेर फेरि पनि ढिलो चाँडो संयुक्त मोर्चा, पार्टी एकता, गठबन्ध या संयुक्त सरकार कुनै पनि रुपमा जाने सम्भावना छ’, उनले भने, ‘म कमरेड केपी ओली र एमालेका नेताहरूलाई भन्न चाहन्छु धेरै पर गएर आन्दोलनको अपमान नगर्नुस् । हामी त्यसलाई अस्वीकार गर्दछौं ।’

पुनले दुई जना जनताका छोराछोरीलाई राष्ट्रपति र ओली स्वयंलाई दुईपटकसम्म प्रधानमन्त्री बनाएको नबिर्सन आग्रह गरे । उनले तत्कालीन नेकपाको राजनीतिक प्रतिवेदनमा आफूहरुले तत्कालीन मालेले झापा आन्दोलन हुँदै एमालेमा भएको रुपान्तरण, शान्तिपूर्ण संघर्ष र संसदीय अभ्यासका क्रममा हासिल गरेका शिक्षा तथा अनुभवको स्वामित्व आफूहरुले लिएको र माओवादी जनयुद्धको स्वामित्व तत्कालीन एमालेले लिएको तथ्य जगजाहेर रहेको स्मरण गराए ।

पुनले काँग्रेसले ००७ साल, ०१८ साल, ०२५/०२६ सालमा गरी तीनपटक र तत्कालीन माले (हालको एमाले) को नेतृत्वमा ०२८ सालमा र तत्कालीन नेकपा माओवादीको नेतृत्वमा ०५२ सालमा हतियार उठेको इतिहास नबिर्सन सचेत गराए । ती सबै हतियार निरंकुश राजतन्त्रको अन्त्य र राज्यको लोकतान्त्रिकरणका लागि भएको स्वीकार गर्न आफूहरुलाई कुनै अप्ठेरो नरहेको बताए । नेपालका मुलधारका प्रमुख तीन दलले कहिले सशस्त्र संघर्ष र कहिले शान्तिपूर्ण संघर्षको माध्यम प्रयोग गरेको भन्दै उनले ०७५ वर्ष लामो संघर्षको प्रतिफल अहिलेको राजनीतिक उपलब्धी भएको उल्लेख गरे ।

‘हामी सामन्तवाद र राजतन्त्रको अन्त्यका लागि काँग्रेसले र तत्कालीन मालेले हतियार उठाउनु ठीक थियो भन्न सक्छौ’, पुनले भने, ‘जनयुद्धले उठाएका मुद्धाहरु र परिवर्तनलाई साझा सम्पत्ति हो भनेर नेकपाको दस्तावेजमा स्वीकार गर्ने ओलीजी र एमालेका नेताहरुलाई सबै आन्दोलनहरुको सम्मान गर्न आग्रह गर्न चाहन्छु ।’

उनले तीनवटै ठूला दलले कहिले सशस्त्र र कहिले शान्तिपूर्ण संघर्षको माध्यम प्रयोग गरेका स्मरण गर्दै परिवर्तनका जस र लाभ सबै लिने, तर समाज रुपान्तरणका लागि महत्वपूर्ण योगदान गरेका आन्दोलनहरुको अपमान कसैले पनि गर्न नहुनेमा जोड दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved