निजी क्षेत्रको सुझावले अर्थतन्त्रमा सुधार हुँदैछ : अध्यक्ष ढकाल

नेपालभ्युज

निजी क्षेत्रको सुझावले अर्थतन्त्रमा सुधार हुँदैछ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा अप्ठ्यारो अवस्थामा रहेको अर्थतन्त्र निजी क्षेत्रले दिएका सुझावलाई सरकारले आत्मसाथ गर्दा सुधार आउन थालेको बताएका छन् ।

बुटवल उद्योग वाणिज्य संघको ७० औं साधारणसभा उद्घाटन गर्दै ढकालले आफूहरुको सुझावअनुसार नीतिगत सुधार गरेपछि अर्थतन्त्रमा सुधार आउन थालेको जिकिर गरे  ।

उनले नेपालमा अवसर र संभावना प्रचुर मात्रामा रहेको उल्लेख गर्दै सरकारले आम उद्योगी व्यवसायी र नागरिकमा मनोबल उच्च बनाउने भूमिका खेल्नुपर्नेमा जोड दिए ।

हालै मात्र नेपाल उद्योग वाणिज्य महासंघको ढोरपाटन बैठकले सातवटै प्रदेश सरकारसँग मिलेर सातै प्रदेशमा लगानी सम्मेलन गर्ने निर्णय गरेकाले लगानीमैत्री वातावरण बनाउन सरकारी निकाय गम्भीर भएर लाग्न आग्रहसमेत गरे ।

उनले गौतमबुद्ध विमानस्थललाई लक्षित गरेर ठूला होटेलसहित पर्यटन क्षेत्रमा अरबौँ लगानी भएपनि पूर्ण क्षमतामा सञ्चालन नहुँदा लगानी जोखिममा परेकाले सरकार गम्भीर बन्नुपर्ने आग्रह गरे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले निजी क्षेत्र र तीनै तहका सरकारबीच संवाद र छलफलबाट अर्थतन्त्रमा देखिएका संकट समाधान गर्न सकिने भन्दै निराशाको सन्देश फैलाउन नहुनेमा जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासंघकी एसोसिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठले युवा शक्तिको विदेश पलायनले देशमा श्रमिक अभावको डरलाग्दो अवस्था आउन थालेकाले यसलाई रोक्नुपर्ने बताइन् ।

महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले उद्योगी व्यवसायीहरुले असोज मसान्तमा किस्ता र ब्याज तिर्न सक्ने अवस्थामा नरहेकाले थप गर्न माग गरे ।

बुटवल उद्योग वाणिज्य संघको शनिवार मनोनयन दर्ता र २२ गते मतदान हुने कार्यतालिका रहेको छ । यहाँ दिनेश श्रेष्ठ र हरिप्रसाद अर्यालले छुट्टाछुट्टै प्यालन बनाएर मैदानमा जाने घोषणा गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved