कार्यवाहक प्रधानमन्त्री खड्काको निर्देशन-बजार अनुगमन थप प्रभावकारी बनाउनुस्

नेपालभ्युज

कार्यवाहक प्रधानमन्त्री खड्काको निर्देशन-बजार अनुगमन थप प्रभावकारी बनाउनुस्

काठमाडौं । प्रधानमन्त्रीको जिम्मेवारीसमेत सम्हाल्लेका उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले मूल्य वृद्धि र कलोबजारी कडाइका साथ नियन्त्रण गर्ने गरी थप सक्रिय भएर बजार अनुगमन गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिएका छन् ।

बजारमा अस्वभाविक रूपमा मूल्य वृद्धि भएको जनगुनासो बढेको भन्दै उनले सम्बन्धित अधिकारीसँग बजार अनुगमनको अवस्थाबारे जानकारी लिँदै उक्त निर्देशन दिएका हुन् ।

बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, निमित्त मुख्यसचिव, गृह सचिव, प्रधानमन्त्री कार्यालयका सचिव, काठमाडौँ र भक्तपुरका प्रमुख जिल्ला अधिकारी, वाणिज्य विभाग, खाद्य प्रविधि गुणस्तर तथा नापतौल विभागका अधिकारीहरू सहभागी भएका थिए ।

बैठकमा अहिलेसम्म बजार अनुगमनको समीक्षा हुनुका साथै बजार अनुगमनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो । बैठकमा उपप्रधानमन्त्री खड्काले खासगरी दैनिक उपभोग्य समानको अभाव हुन नदिन, कलोबजारी तथा अस्वाभाविक मूल्य वृद्धि रोक्ने गरी प्रभावकारी अनुगमन बढाउन आग्रह गरे ।

चाडपर्वका बेला उपभोक्तालाई कालोबजारी र महँगीको चपेटामा पर्ने अवस्था सिर्जना हुन नदिन सबै जिल्लामा भइरहेको अनुगमनलाई थप प्रभावकारी बनाएर अनुगमन गरेर नागरिकले राहतको अनुभूत गर्ने गरी काम गर्न उनले निर्देशन दिए । अहिलेको बजार अनुगमन बढाउन र त्यसलाई थप प्रभावकारी बनाउन संघीय सरकार थप सहयोग गर्न तयार रहेको भन्दै उनले बजार अनुगमनको काममा प्रदेश र स्थानीय सरकारलाई समन्वय गराएर जान पनि उनले अधिकारीहरूलाई निर्देशन दिए ।

कार्यवाहक प्रधानमन्त्री खड्काले हरेक दिन के कति बजार अनुगमन भयो र दोषी देखिएकालाई के कारबाही भयो भनेर जनताले जानकारी पाउने गरी सूचना दिने प्रबन्ध मिलाउन पनि सम्बन्धित अधिकारीलाई आग्रह गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved