भारतसँग सीमा जोडिएको झुलाघाट नाका बन्द

नेपालभ्युज

भारतसँग सीमा जोडिएको झुलाघाट नाका  बन्द

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका अर्को सूचना जारी नभएसम्म बन्द रहने भएको छ । महाकाली नदीमाथिको रहेका झोलुङ्गे पुल मर्मतका लागि आवागमन बन्द गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए ।

पुलको भारतीय सिमानातर्फ बेस (काठ) लक भाँच्चिएपछि भारतीय पक्षले पुल मर्मतको काम गरिरहेकाले मंगलबार पनि सीमा नाकामा आवागमन बन्द गरिएको हो । यसअघि मर्मतकै लागि भनेर सोमबार पनि आवागमन बन्द गरिएको थियो तर मर्मतको काम नसकिएको भन्दै मंगलबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि आवागमन स्थगन गरिएको प्रजिअ पन्थीले बताए ।

अर्को सूचना जारी नहुँदासम्मका लागि दैनिक बिहान ८ः४५ देखि दिउँसो १ः१५ बजेसम्म र दिउँसो २ः१५ बजेदेखि पुनः ४ः१५ बजेसम्म पुलमा आवागमन बन्द हुने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

भारतको पीडब्लुडी कार्यालयले पुल मर्मतको काम गरिरहेको हो । यसअघि सीमा क्षेत्रमा नेपाल–भारत समन्वय बैठक बसेको बेला पुल मर्मत गर्ने विषयमा दुवै पक्षका अधिकारीबीच सहमति भएको थियो । झुलाघाट नाकामा इष्ट इण्डिया कम्पनीले करिब डेढ सय वर्ष अगाडि निर्माण गरेको झोलुङ्गे पुलबाट आवतजावत गर्ने गरिएको छ । पुल जीर्ण भएकाले बेलाबेलामा मर्मत गर्ने गरिएको छ । यसअघि गत असारमा पनि पुल मर्मत गरिएको थियो ।

तत्कालका लागि काम दिने गरी मर्मत हुने पुलमा जोखिम भने कायमै छ । पुरानो काठको पुल भारतीय पक्षले बेला–बेला काम चलाउको लागि मर्मत गरे पनि पूर्णरूपले मर्मत हुन सकेको छैन । पुल मर्मत नहुँदा सयौँ मान्छे दैनिक जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

झुलाघाट नाका सदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाकाका रूपमा चिनिन्छ । झुलाघाटस्थित महाकाली नदीमा पक्की पुल नहुँदा जीर्ण पुलबाटै आवतजावत गर्ने गरिएको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved