नेपाल-भारतबीच भएका सम्झौताको कार्यप्रगति सार्वजनिक

नेपालभ्युज

नेपाल-भारतबीच भएका सम्झौताको कार्यप्रगति सार्वजनिक

काठमाडौं। नेपालस्थित भारतीय राजदूतावासले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पछिल्लो भारत भ्रमणमा भएका सम्झौताको कार्यप्रगति सार्वजनिक गरेको छ ।

आज आफ्नो ट्वीटर ह्यान्डलमार्फत भारतीय दूतावासले भ्रमणको सम्झौताअनुसार अघि बढेका आयोजनाको लामो सूची सार्वजनिक गरेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमणमा रहेको समयमा भारतले सम्झौताअनुसार अघि बढिरहेका परियोजनाको सूची निकालेको हो ।

दूतावासले कुर्था–बिजरपुरा रेलमार्ग सञ्चालनमा आएको र यसले नेपाल–भारतका जनताबीचको सम्पर्कलाई सुदृढ बनाएको  बताउँदै नेपाल-भारत विकास सहकार्यअन्तर्गत भारतीय अनुदानमा निर्मित सामुदायिक विकास परियोजनाको उद्घाटनसमेत गरेको जनाएको छ ।

यसबाहेक, सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण पब्लिक क्याम्पसका लागि निर्मित क्याम्पस भवन निर्माण सम्पन्न, सुदूरपश्चिम प्रदेशमा तीनवटा परियोजना निर्माण अघि बढेको समेत भारतीय दूतावासले जनाएको छ । जसमा टिकापुर बहुमुखी क्याम्पस, पशुपति शिक्षा मन्दिर र सिद्धनाथ माध्यमिक विद्यालयको निर्माण अघि बढेको जानकारी दिएको हो ।

सन् २००३ यता स्थानीय जनताको हितका लागि नेपालको विभिन्न जिल्लामा ५ सय ४६ परियोजना सञ्चालनमा आइसकेका छन् । यस्तै, काठमाडौं जिल्लाको चन्द्रागिरिस्थित विष्णुदेवी माध्यमिक विद्यालयको विद्यालय भवनको पुनर्निर्माण सम्पन्न भइसकेको छ । दार्चुला, सङ्खुवासभा र उदयपुर जिल्लामा शिक्षा, खानेपानी आपूर्ति तथा सरसफाइको क्षेत्रमा ४ वटा सामुदायिक विकास परियोजना निर्माणका लागि समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भइसकेको छ ।

हालसम्म भारतले नेपालका विभिन्न संघ संस्थालाई ३४ वटा एम्बुलेन्स तथा ५० वटा ५० स्कुल बस उपहारस्वरूप प्रदान, ९७४ वटा एम्बुलेन्स र २ सय ३४ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरेको समेत भारतीय दूतावासले सामाजिक सञ्जालमार्फत उल्लेख गर्दै सांस्कृतिक सम्पदाको प्रवर्द्धनका लागि सहकार्य, नापीचन्द्र महाविहारको भूकम्पपछिको पुनर्निर्माण, बुढानीलकण्ठ नगरपालिकास्थित बुढानीलकण्ठ धर्मशालाको पुनर्निर्माण र भारत अन्तर्राष्ट्रिय बौद्ध संस्कृति तथा सम्पदा केन्द्र लगायतका काम अघि बढेको दूतावासले जनाएको छ ।

यस्तै, दूतावासले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने घोषणा र यसअनुसार अघि बढेका सम्झौतासमेत स्मरण गरेको छ । अहिले नै नेपालबाट ६३१ मेगावाट बिजुली खरिद सुरु गरिसकेको र यसका लागि मध्यकालीन सम्झौता अघि बढेको भारतले जनाएको छ । यसबाहेक, १३२ केभी क्षमताको टनकपुर–महेन्द्रनगर प्रसारण लाइनबाट समेत भारतमा बिजुली निर्यात सुरु भएको दूतावासले उल्लेख गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved