हामीले ११ प्रतिशत मत पायौँ, बाँकी ८९ लाई पनि वरिपरि ल्याउनुपर्छ : नेता पुन

नेपालभ्युज

हामीले ११ प्रतिशत मत पायौँ, बाँकी ८९ लाई पनि वरिपरि ल्याउनुपर्छ : नेता पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले वर्तमान सरकारले मुख्यगरी ३ कामहरू प्राथमिकताका साथ गरिरहेको बताएका छन् ।

आइतबार पार्टी मुख्यालय, पेरिसडाँडामा आयोजित अखिल नेपाल यातायात मजदुर संघ उपत्यका ट्याक्सी विशेष समिति समितिको चौथो सम्मेलनलाई सम्बोधन गर्दै उनले भने— अहिलेको सरकारले मुख्यत: ३ वटा कामहरू गरेको छ । सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा काम गरेको छ । र, हामीले यी राम्रा कामहरूको प्रचारप्रसार गर्नुपर्छ, समर्थन गर्नुपर्छ ।

उनले सरकारको भ्रष्टाचार, तस्करी र अनियमितताविरुद्धको अभियानलाई साथ दिन आग्रहसमेत गरेका छन् । “हामी माओवादीले कसैलाई खुइल्याउनु छैन । अहिलेको सरकार कसैको धम्कीबाट डराउँदैन । सबैले समर्थन गर्नुपर्छ । राम्रो काम गर्नेलाई राम्रो भन्न सक्नुपर्छ,” उनले भने ।

उनले गत निर्वाचनमा माओवादीले ११ प्रतिशत मात्रै मत पाएको बताउँदै बाँकीलाई वरिपरि गोलबद्ध गर्नुपर्ने उल्लेख गरे । “हामीले ११ प्रतिशत मत पाएका छौँ । ८९ प्रतिशत हाम्राविरुद्ध मत खसेको छ । भनेपछि त्यही ११ प्रतिशतले नै हाम्रा कुराहरू भन्ने हो । अरु समर्थकहरूलाई पनि त्यसको वरिपरि लिएर आउने हो । जनमत बनाउने कुरा हो । हाम्रा कुराहरू पुगेनन्, प्रचार भएन भनेर हामीले गुनासो गर्ने कुरा होइन । हामीले के गर्‍यौँ, कसरी गर्‍यौँ भन्ने कुरा मुख्य हो,” उनले भने ।

यस्तै उनले वर्तमान सरकार नेपाली समाजसापेक्ष मौलिक समाजवादको आधार तय गर्न प्रयासरत रहेको पनि बताए । उत्पादन नबढाइकन समाजवाद नहुने उल्लेख गर्दै उनले त्यतातर्फ पनि ध्यान दिनुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved