काठमाडौं। म्युजिक भिडिओ भाइरल बनाउने लोभमा गायक प्रकाश सपुतले प्रहरीको चरित्रमा रहेकी अभिनेत्री स्वस्तिमा खड्कामार्फत भद्दा संवाद बोलाएपछि नेपाल प्रहरीको ध्यानाकर्षण भएको छ।
‘जाले रुमाल फाट्यो’ बोलको म्युजिक भिडिओमा प्रहरी पोशाक अनुमति नलिइ गरिएको र भद्दा संवाद बोलिएको भन्दै नेपाल प्रहरीले विज्ञप्ति नै जारी गरेर आपत्ति जनाएको छ।
आउँदा दिनमा पोसाकको दुरुपयोग गर्ने काम भए कानुनी कारबाही गर्ने चेतावनी समेत दिएको छ। सपुतले हालै सार्वजनिक गरेको एक म्युजिक भिडिओको अन्तिममा गीतको कथानकसँग जोड्न आवश्यकै नभएको दृश्यसँगै भद्दा संवाद राखेका थिए। सो संवादको चर्को आलोचना भएपछि उनले म्युजिक भिडिओ सम्पादन गरेका छन्।
डीएसपीको पोसाक लगाएकी स्वस्तिमालाई महिनावारीको समयमा प्रयोग हुने प्याड दिएपछि राखिएको संवाद कसरी सामाजिक चेतनासँग भने जोडिँदैन।
जातका कारण हुने अपराधलाई कथाको मूल विषय बनाएको म्युजिक भिडिओमा एक प्रहरी कर्मचारीले गरेको सफल अनुसन्धानलाई देखाइएको छ।
जातीय विभेदको अन्त्यको सन्देश दिने भिडिओको अन्तमा ‘सेनेटरी प्याड’ दिइएको छ। महिलाको अङ्ग ‘मेरै त हो नि’ भन्ने पुरुष अहमता भरिएको संवाद भिडिओमा छ। भाइरलको लोभले त्यो संवाद राखिएको धेरैको टिप्पणी छ।
बुधवार प्रहरी प्रवक्ता कुवेर कडायतले गायक सपुतको भिडिओलक्षित विज्ञप्ति जारी गर्दै ‘नेपाली चलचित्र, टेलिचलचित्र, साङ्गीतिक भिडियो एवम् फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालमा प्रहरी पोसाकको दुरुपयोग भएको उल्लेख गरिएको छ।’
चार बुँदे विज्ञप्तिमा प्रहरी पोसाक प्रयोग गर्नु पूर्व प्रहरी प्रधान कार्यालयको श्रब्यदृश्य शाखा नक्सालमा पोसाकको प्रयोग गर्नुको प्रयोजन तथा आवश्यकता अनुसार भिडिओको स्क्रिप्ट समेत खुलाइ पूर्व स्वीकृति लिनुपर्ने उल्लेख गरेको छ।
शाखाको पूर्व स्वीकृति नलिई वा स्वीकृत प्रयोजन तथा स्क्रिप्ट अनुसार बाहेक अन्य कुनै प्रयोजनका लागि प्रहरीले प्रयोग गर्ने पोसाक र पोसाकमा प्रयोग हुने दर्ज्यानी चिन्ह तथा प्रहरीको मोनोग्राम प्रयोग नगर्न भनिएको छ।
तेस्रो बुँदामा हालै कांग्रेसका प्रदेश सांसदले सार्वजनिक कार्यक्रममै प्रहरी कर्मचारीको परिवारका सदस्यको हत्या गर्ने भन्दै दिएको चेतावनी लक्षित छ।
विज्ञप्तिमा प्रहरी कर्मचारीले व्यावसायिक रूपमा आफ्नो जिम्मेवारी पुरा गर्दा निजहरूको व्यावसायिकता र मनोबलमा ह्रास ल्याउने कार्य र अभिव्यक्ति नदिन र नगर्न उल्लेख गर्दै यस्तो भएमा कानुन बमोजिम कारबाही गर्ने उल्लेख छ।

Facebook Comment
Comment