बर्सेनि बढ्दो हृदयाघात, जोगिने कसरी ?

नेपालभ्युज

बर्सेनि बढ्दो हृदयाघात, जोगिने कसरी ?

काठमाडौं । पछिल्लो समय हृदयाघातका कारण मृत्यु हुनेको संख्या अस्वभाविक ढंगमा बढिरहेको छ । अचेल दिनहुँजसो नै हृदयघातका कारण कोही न कोहीको मृत्यु भएको खबर आइरहन्छ ।

यसबाट बच्नका लागि आफ्नो खानपान तथा जीवनशैलीमा सुधान गर्नुपर्ने सुझाव दिन्छन्, चिकित्सकहरु । त्यसमा पनि सुर्तीजन्य पदार्थ सेवन गर्नेहरु हृदयघातको बढी जोखिममा पर्ने उनीहरुको भनाइ छ ।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले हृदयघातबाट जोगिन सुर्तीजन्य पदार्थको सेवन बन्द गर्नुपर्ने सुझाव दिएका छन् । चुरोट सेवनले पुरुषलाई भन्दा पनि महिलालाई बढी असर गरेको उनको भनाइ छ ।

१८ देखि ३९ वर्ष उमेरका महिला र सोही उमेरका पुरुषको तुलनात्मक अध्ययन गर्दा चुरोट सेवन गर्ने महिलालाई चुरोट नखाने पुरुषको तुलनामा १३ गुणा बढी हृदयाघात हुने जोखिम देखिएको उनले बताए । उनका अनुसार त्यसमा पनि परिवार नियोजनको चक्की खाने महिलालाई हृदयाघात हुने जोखिम बढी हुन्छ ।

उनले सानैबाट चुरोट सेवन गर्नेहरु बढी मात्रामा हृदयघातको सिकार बनेको बताए ।

उनले भने, ‘हृदयघात हुने बिरामीको आयु दक्षिण एसियामा १० वर्षले घटिरहेको पाइएको छ । पहिला ४० वर्षभन्दा कम उमेरकाहरु हृदयघात भएर आउँदैनन् भन्ने अवस्था थियो, तर अहिले त्यो अवस्था छैन ।’

त्यस्तै अमेरिकन हार्ट एसोसिएसनले मुटु रोग र स्ट्रोक तथ्याङ्क २०२३को तथ्यांकले कोरोना महामारीको एक वर्षपछि मुटु रोगबाट मृत्यु हुनेको संख्या ६.२ प्रतिशतले बढेको देखाएको छ ।

नेपालको कुल जनसंख्याको १० देखि १५ प्रतिशत मानिस मुटुरोगी पाइएको मुटुरोग विशेषज्ञ डा. अनिल राज भट्टराईले बताएका छन् । उनले पछिल्लो १० वर्षमा मुटुरोगीहरु दोब्बर भएको बताए । उनका अनुसार १ प्रतिशत मानिस जन्मजात नै मुटुरोगी हुन्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved