आत्महत्या रोकथाममा मानसिक स्वास्थ्य साक्षरता आवश्यक’

नेपालभ्युज

आत्महत्या रोकथाममा मानसिक स्वास्थ्य साक्षरता आवश्यक’

काठमाडौं । मनोविद्हरुले आत्महत्या रोकथाममा मानसिक स्वास्थ्य साक्षरता आवश्यक रहेको बताएका छन् । अन्तरध्वनी नेपालको आयोजनामा आत्महत्या रोकथाम दिवसको अवसरमा आईतवार काठमाडौंमा आत्महत्या रोकथाममा पत्रकारको भुमिका विषयक एक दिने कार्यशालामा बोल्दै मनोविद्हरुले यस्तो बताएका हुन् ।

मनोविद् डा.नरेन्द्रसिंह ठगुन्नाले मानसिक स्वास्थ्यको समस्याको कारणले आत्महत्याका घटना हुने गरेको भन्दै स्थानीय तहसम्मै मानसिक स्वास्थ्य साक्षरता आवश्यक रहेको बताए । उनले गरिबी, अशिक्षा र वैदेसिक रोजगारको कारणले परिवारमा विखण्डन आउँदा आत्महत्याका घटना बढेको बताए । उनले राज्यका निकायहरुले मानसिक स्वास्थ्य साक्षरताबारे समुदायलाई जानकारी गराउनुपर्ने बताए ।

आत्महत्या रोकथाम सबैको सामाजिक दायित्व भएको भन्दै आत्महत्याको जोखिम भएका व्यक्तिमध्ये करिव ९० प्रतिशतलाई पहिचान गर्न सकिने बताए । आत्महत्या रोकथामका लागि मनका भावनालाई अभिव्यक्त गर्ने वातावरण सिर्जना गर्न सक्नुपर्ने डा.ठगुन्नाको भनाई छ ।

‘नेपालमा आत्महत्याका घटना बढीरहेका छन् । मानसिक स्वास्थ्यका समस्याको कारणले गर्दा धेरै बढि आत्महत्या हुने गर्छ । गरिबी, अशिक्षा र नेपालमा पछिल्लो समयमा वैदेसिक रोजगारको कारणले गर्दा परिवारमा आएको विखण्डन छ’ डा.ठगुन्नाले भने, ‘ती विखण्डनको कारणले पनि आत्महत्याका घटना बढेका छन् । कहिले कहिले सोचेको जस्तो जीवन नहुँदाखेरी, रिसको आवेगमा आएर आत्महत्याको जोखिम हुने गर्छ ।’

उनले यो वर्ष मात्रै ६ हजार नौ सय ९३ जनाले आत्महत्याको कारणले जीवन गुमाएको बताए ।  उनले मानसिक रोगको कारणले गर्दा आत्महत्याको जोखिम बढ्छ र आत्महत्याको जोखिम भएका व्यक्ति मध्ये करिव ९० प्रतिशतलाई पह्चिान गर्न सक्ने बताए ।

मनोविद् पदमराज जोशीले आत्महत्या रोकथाममा समाज, शिक्षक, प्रहरी र समुदायको भुमिका रहने बताए । उनले आत्महत्या रोकथाममा कनेक्ट, केयर र कनेक्टीभिटीलाई जोड्न सक्नुपर्ने बताए । जोशीले प्रत्येक स्थानीय तहले सचेतना जगाउने कार्यक्रमहरु सञ्चालन गर्न जरुरी रहेको बताए । उनले सरकारले मानसिक स्वास्थ्य रणनीति बनाएपनि त्यो कार्यान्वयनमा आउन नसकेको बताउए । शहरीकरणले इच्छा आकांक्षा बढ्दै जाने र इच्छा आकांक्षा समयमै समाधान हुन नसके व्यक्तिमा तनाव सृजना हुने बताए ।

जोशीले भने, ‘आत्महत्या रोकथामका लागि समाज, शिक्षक, प्रहरी र समुदायको भुमिका रहन्छ । कस्तो भुमिका रहन्छ भने आत्महत्याको रोकथामका लागि हामी तीन वटा सिद्धान्तहरु भन्छौं । त्यो भनेको कनेक्ट, केयर र कनेक्टीभिटीलाई जोड्न सक्नुपर्छ ।’

सहभागीहरुले आत्महत्या रोकथामका लागि समाजमा सचेतनामुलक कार्यक्रम गर्नुपर्ने बताएका छन् । विश्व स्वास्थ्य संगठनकाअनुसार हरेक वर्ष आत्महत्याका कारण आठ लाख भन्दा बढी मानिसहरुको मृत्यु हुने अनुमान छ । मनोविद्हरु आत्महत्याका समाचारको रिपोर्टिङ तथा संप्रेषणमा संवेदनशील र उत्तरदायी हुन आवश्यक रहेको बताउँछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved