आर्थिक क्रान्तिलाई अगाडि बढाउन कांग्रेसको महत्त्वपूर्ण भूमिका : नेता सिंह

नेपालभ्युज

आर्थिक क्रान्तिलाई अगाडि बढाउन कांग्रेसको महत्त्वपूर्ण भूमिका : नेता सिंह

पाटन । पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशलाई आर्थिक क्रान्तिको मार्गमा अगाडि बढाउन नेपाली कांग्रेसको महत्त्वपूर्ण भूमिका हुने बताएका छन् ।

ललितपुरको गोदावरी नगरपालिका वडा नं ११ स्थित चापागाउँको प्याङ्गाउँमा आज आयोजित वीर गणेशमान सिंह स्मृति पाँचौँ राष्ट्रिय किक बक्सिङ प्रतियोगिताको उद्घाटन समारोहमा नेता सिंहले नेपाली कांग्रेसकै नेतृत्वमा २००७, २०४६ र २०६२÷६३ को राजनीतिक परिवर्तन भएको जनाउँदै आर्थिक क्रान्तिको मार्गमा देशलाई अगाडि बढाउन पनि कांग्रेसको महत्त्वपूर्ण भूमिका हुने बताए ।

‘अहिले देशलाई आर्थिक क्रान्तिको मार्गमा अगाडि बढाउन आवश्यक छ । यसका लागि सक्षम पार्टी भनेकै कांग्रेस हो । आर्थिक विकाससँगै खेलकुद क्षेत्रको विकास गर्नु पनि आवश्यक छ’, उनले भने, ‘नेपालको खेल जगत्लाई प्रोत्साहित गर्न र खेलाडीको प्रतिभा प्रस्फुटन गरी अगाडि बढाउन खेलसँग सम्बन्धित धेरै प्रतियोगिता गर्नुपर्ने आवश्यक छ ।’

खेलाडीले व्यक्तिगत आकाङ्क्षालाई थाँती राखेर कर्ममा अनवरतरूपमा लागिरहनुपर्ने भन्दै नेता सिंहले गणेशमान सिंहको जीवनीबाट त्याग र सङ्घर्षका धेरै कुरा सिक्न सकिने धारणा राखे ।

पूर्वअर्थराज्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशम्शेर राणाले पदको मोह सबैलाई हुने बताउँदै पदको मोह त्यागेर कर्ममा क्रियाशील हुनुपर्ने धारणा राखे । ‘हरेक क्षेत्रमा काम गर्दा पदको मोह सबैलाई हुन्छ । प्रधानमन्त्री पदको मोह त्यागेर देश र जनताका लागि सबैलाई मिलाउनुपर्छ भनेर लाग्नुहुने नेता गणेशमान सिंहको नाममा आयोजित खेलकुद प्रतियोगितामा हामी छौँ’, उनले भने, ‘पदका लागि भन्दा पनि नागरिक र जनताको हितका लागि प्राथमिकता दिएर काम गर्नुपर्छ ।’

राणाले खेलकुदका लागि सरकारको सीमित बजेट भए पनि निजीस्तरबाट सहयोग लिएर भए पनि कार्यक्रम गर्नुपर्नेमा जोड दिए । उनले खेलकुद क्षेत्रको माया गर्ने शुभचिन्तक व्यक्तित्वको सक्रियतामा हुने प्रतियोगिता र कार्यक्रमले सफलता पाउने विश्वास व्यक्त गरे ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले खेलाडीलाई उत्साहित गर्न आयोजित प्रतियोगिताले खेलकुद क्षेत्रको विकासमा महत्त्वपूर्ण हुने बताए । ‘खेलकुदले राष्ट्रलाई चिनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । खेलकुदको माध्यमबाट सांस्कृतिक र पर्यटकीय विकास गर्न सकिनेमा दुईमत छैन’, उनले भने ।

नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले बक्सिङ प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका थिए । उनले प्रदेशले खेलकुद नीति बनाएर अगाडि बढ्नुपर्ने धारणा राखे ।

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले गोदावरी खेलकुदमय नगरपालिकाको रूपमा अगाडि बढिरहेको बताउँदै खेलकुद क्षेत्रको विकासलाई उचाइमा पुर्‍याइने बताए । उनले यस कार्यमा सहयोग र समन्वय गर्न सम्बन्ध सबैलाई आग्रह समेत गरे ।

आजबाट सुरु भएको प्रतियोगिता भदौ २३ गते शनिबारसम्म सञ्चालन हुनेछ । ललितपुर किक बक्सिङ सङ्घ तथा ललितपुर जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा हुने प्रतियोगितामा महिलातर्फ ५०, ५५, ६०, ६५ केजी र खुला तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी पुरुषमा ५०, ५५, ६०, ६५, ७० केजी र खुला तौल समूहमा प्रतिस्पर्धा हुने आयोजक सङ्घका अध्यक्ष विनोद महर्जनले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा प्रथम हुनेले रू ३० हजार, द्वितीय हुनेले रू १५ हजार र तेस्रो हुने दुई खेलाडीले रू आठ/आठ हजार नगदसहित ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा उत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही रू २५/२५ हजार नगद पुरस्कार प्राप्त गर्ने महर्जनले बताए ।

खेलमा प्रथम हुने टिम च्याम्पियनले नगद रू एक लाख प्राप्त गर्नेछ भने दोस्रो हुने टिम च्याम्पियनले रू ५० हजार नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved