जिल्ला फर्क अभियान चलाउँदै कांग्रेस

नेपालभ्युज

जिल्ला फर्क अभियान चलाउँदै कांग्रेस

चितवन । नेपाली कांग्रेस चितवनले जिल्ला फर्क अभियान संचालन गर्ने भएको छ । चितवन जिल्लामा घर भई स्थायी तथा अस्थायी बसोबास गरेकालाई जिल्लामा फर्काउने गरी अभियान सञ्चालन गर्न लागिएको हो ।

नेपाली कांग्रेस चितवनको यही भदौ २३ गते हुने जिल्ला सम्मेलनमा सभापति राजेश्वर खनाल सो विषयलाई नीति तथा कार्यक्रममा समावेश गर्ने तयारीमा छन् । उनका अनुसार सम्मेलनले अनुमोदन गरेसँगै अभियानका रूपमा बाहिरी जिल्लामा रहेका कांग्रेसका नेता कार्यकर्तालाई जिल्ला फर्काउने गरी काम गरिने छ ।

उनले भने, ‘नेपाली कांग्रेसका सदस्य तथा शुभेच्छुक साथीलाई पार्टी र जनसम्पर्क समिति समन्वय गरी जिल्लामा फर्क अभियान कार्यक्रम सञ्चालन गर्छौं ।’ आन्तरिक पार्टी सुदृढीकरणसँगै आमनागरिकको जनजीविकासँग जोडिएका विषयमा कांग्रेसलाई जोडेर सङ्गठन सुदृढीकरण अभियानमा लाग्ने उनको भनाइ छ ।

पार्टीले नेपाली कांग्रेस वैदेशिक जनसम्पर्क समिति गठन गरी चितवन जिल्लामा स्थायी बसोवास भई अध्ययन तथा रोजगारीको सिलसिलामा विभिन्न देशमा रहेकालाई जोड्ने योजना बनाएको छ । खनालका अनुसार पार्टी सदस्य तथा शुभेच्छुकलाई पार्टी र सङ्गठनमा जोड्ने उद्देश्यले वैदेशिक जनसम्पर्क समिति चितवन स्थापना गरी काम गर्ने योजनाअघि सारिएको छ ।

सम्मेलनमा सङ्गठनात्मक सवलीकरणसम्बन्धी नीति, पार्टीको आन्तरिक व्यवस्थापनसँग सम्बन्धित नीति, अन्य राजनीतिक दलसँगको सहकार्य र सम्बन्धको नीति, विकास निर्माण तथा सामाजिक कार्यसम्बन्धी नीति, सहकारी तथा कृषिसम्बन्धी फरक फरक नीति सम्मेलनमा पेस गरिँदैछ ।

पार्टीको १४औँ महाधिवेशनमा रहेका क्षेत्रीय प्रतिनिधि सम्मेलनमा सहभागी हुँदैछन् । तत्कालीन समयमा दुई हजार नौ सय सात जना क्षेत्रीय प्रतिनिधि रहेका थिए ।

सम्मेलनमा सहभागी हुनलाई पार्टीको सदस्यता नवीकरण हुनुपर्ने उनले जानकारी दिए । यससँग भ्रातृ र शुभेच्छुक संस्थाका जिल्ला र केन्द्रका प्रतिनिधि सम्मेलनमा सहभागी हुनेछन् । सम्मेलनमा पार्टी सभापतिले नीति तथा कार्यक्रम, सचिवले साङ्गठानिक प्रतिवेदन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेश गरेसँगै बृहत् छलफल गरिने उनले जानकारी दिए ।

४१औँ बिपी स्मृति दिवसका दिन साउन ६ गतेदेखि क्रियाशील सदस्यता नवीकरण सुरु गरेको चितवन कांग्रेसले साउन २७ गतेदेखि वडा सम्मेलनसँगै क्रमशः पालिका, प्रदेश, क्षेत्रको सम्मेलन सम्पन्न गरेको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved