सरकारले जनगुनासो आउने ठाउँमा बिजुली दिएर उद्योग क्षेत्रमा लोडसेडिङ गर्‍यो : पूर्वअर्थमन्त्री पाण्डे

नेपालभ्युज

सरकारले जनगुनासो आउने ठाउँमा बिजुली दिएर उद्योग क्षेत्रमा लोडसेडिङ गर्‍यो : पूर्वअर्थमन्त्री पाण्डे

काठमाडौँ । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले जनगुनासो आउने ठाउँमा बिजुली दिएर उद्योग क्षेत्रमा लोडसेडिङ गरिरहेको बताएका छन् । आइतबार नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको ‘आर्थिक क्षेत्रका विद्यमान समस्या र चुनौती’ विषयक कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।  नेकपा एमालेका उपाध्यक्ष समेत रहेका  पाण्डेले उद्योग बिस्तार गर्न विद्युत सरकारले दिनुपर्नेमा उद्योगहरुमा दैनिक १६–१७ घण्टा लोडसेडिङ गर्ने काम गरिरहेको आरोप लगाए ।

उनले सरकारले उद्योग व्यवसायी बिस्तार गर्नको लागि विद्युत सहज रुपमा उपलब्ध गराएर उद्योग क्षेत्रमा लोडसेडिङ अन्त्य गर्न आवश्यक रहेको बताए । उनले जनगुनासो आउने ठाउँमा सरकारले प्राथमिकता राखेर विद्युत दिएर उद्योगहरुमा काट्दा लोडसेडिङको मारमा उद्योगहरु रहेको उल्लेख गरे । उनले उद्योग व्यवसायी र उद्योगीहरुको यस्तो समस्या चाँडै समाधान गर्न सरकारलाई आग्रह गरे । उनले शेयर बजारको १२ करोडको सीमा हटाएर कुल कर्जाको १० वा त्यो भन्दा तल यति प्रतिशत भनेर तोकी दिनुपर्ने बताए ।

पूर्वअर्थमन्त्री पाण्डेले १० प्रतिशत कायम गरे पनि करिव ५ खर्ब कर्जा शेयर बजारमा जाने भन्दै यसलाई बैंकले व्यवस्थापन गर्नसक्ने बताए । उनले नेपाल राष्ट्र बैंकले पुँजीबजारको खुद्रा व्यवस्थापनमा लाग्न नहुने उल्लेख गरे । उनले शयरको मूल्य घटेपछि मार्जिन कल बढ्ने भएकाले राष्ट्र बैंकले समयमै ध्यान दिनसक्ने पुँजीबजारमा सुधार आउन र अर्थतन्त्र पनि चलायमान हुने बताए ।

पूर्वअर्थमन्त्री पाण्डेले विश्वका कुनै पनि ठूला व्यवसायीहरुले जेल गएर बस्नुपर्ने अवस्था नभएको भन्दै सरकारले नेपालका ठूला व्यवसायीलाई हिरासतमा लिएको भन्दै असन्तुष्टि जनाए । उनले व्यवसायी मिनबहादुर श्रेष्ठलाई जेलमा हालेर मुद्दा चलाएको भन्दै २८ वटा भाटभटेनी भएको घर बोकेर श्रेष्ठ विदेश नजाने बताए । उनले व्यवसायीले गल्ती गरेको भए हाजिरीमा मुद्दा लड्न पाउनुपर्ने बताए । उनले सरकारले व्यवसायीहरुलाई जेल हाल्दा अन्य व्यवसायीहरुलाई हतोत्साहित गर्ने र विदेश पलायन हुनको लागि प्रोत्साहन मिल्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved