सरकारी अनुदान बन्द भएपछि नेपाली फिल्ममा बेथिति सुरु भयो : नीर शाह

नेपालभ्युज

सरकारी अनुदान बन्द भएपछि नेपाली फिल्ममा बेथिति सुरु भयो : नीर शाह

काठमाडौं। अभिनेता तथा निर्देशक नीर शाहले सरकारले दिने अनुदान बन्द भएपछि फिल्म क्षेत्रमा नयाँ बेथिति निम्तिएको बताएका छन् । कलिङ साहित्य महोत्सव अन्तर्गतको ‘एक्काइसौं शताब्दीमा रिल : नेपाली सिनेमाको विकास’ सत्रमा बोल्दै उनले त्यो बिन्दुदेखि नेपाली फिल्म खस्किँदै गएको बताए ।

सरकारले २०५८ सालसम्म अनुदान दिएको र त्यसपछि दिन बन्द गरिएपछि यस्तो बेथिति निम्तिएको उनको विश्लेषण छ । २०४२ सालदेखि सरकारले दिएको अनुदान चलचित्र विकास बोर्डको स्थापनापछि बन्द भएको उनले बताए ।

‘७० प्रतिशत हिन्दी फिल्मले ओगटेको नेपाली फिल्म बजार २० प्रतिशतमा पुग्नु र नेपाली फिल्मको सेयर बजार ८० प्रतिशतमा उक्लिनुको मूल कारण पनि यही हो । त्यसलाई बन्द गर्न केही चलचित्रकर्मीले २०५८ सालमा एउटा सम्झौता गर्नुभयो,’ उनले भने, ‘राज्यकोषबाट पाउने सबै इन्सेन्टिभलाई बन्द गराउन लगाएर बोर्डको माग गर्नुभयो । बोर्ड खोल्नका लागि यो सहुलियत बन्द भयो । बोर्ड स्थापना भएदेखि नेपाली सिनेमाको ओरालो यात्रा पनि सुरु भयो ।’

फिल्म क्षेत्रमा सरकारको उदासीनताबारे सम्झिंदै उनले भने, ‘राज्यले चलचित्र उद्योगलाई सघाउँथ्यो । २०४२ देखि ०५८ सालसम्म राज्यले नेपाली चलचित्र उद्योगलाई सबैभन्दा धेरै सघाएको कालखण्ड हो । मनोरन्जन करबाट उठेको ७५ प्रतिशत निर्मातालाई फिर्ता गर्दिन्थ्यो । तर, अहिले सरकारले अनुदान रोकेपछि नेपाली फिल्ममा बेथिति सुरु भएको छ । ’

चलचित्र विकास बोर्डका कर्मचारीले हलमा हिन्दी फिल्म देखाएर आएको पैसाबाट तलब थाप्ने पनि उनले बताए । ‘अहिले हिन्दी फिल्म हलमा देखाएर जति पैसा कलेक्सन हुन्छ, त्यसबाट पाएको रकमबाट विकास बोर्डका कर्मचारीले तलब पाउँछन् । अध्यक्षले पाउने ६२ हजार ३‍८८ रुपैयाँ हिन्दी चलचित्र सिनेमा देखाएबापत प्राप्त गरेको रकम हो,’ उनले भने, ‘यसलाई हाम्रा चलचित्रकर्मी साथीहरूले नै बिगार्नुभएको हो ।’

बोर्डले आफ्ना कुराहरू नसुनेको भन्दै शाहले यसै वर्ष बोर्डअध्यक्ष भुवन केसीको सल्लाहकार संयोजकबाट राजीनामासमेत दिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved