भैरहवाबाट दिल्ली जाने विमानलाई काठमाडौं ट्रान्जिट !

‘टेकअफ’ गरेर पूरा उचाइ नलिँदै जहाज ल्यान्ड गर्नुपर्ने

निगमले हरेक मंगलबार भैरहवाबाट हङकङ र नयाँ दिल्ली जाने यात्रुलाई काठमाडौं ल्याएर ट्रान्जिट गराई ती गन्तव्यमा जाने यात्रुलाई लैजाने योजना बनाएको छ।

नेपालभ्युज

भैरहवाबाट दिल्ली जाने विमानलाई काठमाडौं ट्रान्जिट !
तस्वीर : जेट फोटोज

काठमाडौं। भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबीचको हवाई दूरी ६ सय ३२ किलोमिटर छ। उडानको समय एक घन्टा पनि लाग्दैन।

तर, राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले मंगलबारबाट सुरु गरेको दिल्ली उडानको दूरी र समय लम्बिएको छ।

वायुसेवा निगमले उडानको दूरी थप लम्बाउँदै १ सय ९३ किलोमिटर पर काठमाडौंलाई ट्रान्जिट बनाउँछ। जहाज काठमाडौंमा ‘ट्रान्जिट ल्यान्ड’ भएपछि फेरि ८ सय १५ किलोमिटर दूरी पार गर्दै गन्तव्य इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेछ।

हरेक मंगलबार भैरहवाबाट नयाँ दिल्ली उड्ने जहाजले यसरी काठमाडौंलाई ट्रान्जिट बनाउँछ। ठीक यसैगरी भैरहवाबाट हङकङको उडान पनि सुरु गरिएको छ।

०००

अन्तर्राष्ट्रिय उडानमा साधारणतया ३३ हजार फिटमाथि विमान उड्ने गर्छ। यसरी भैरहवाबाट काठमाडौं ट्रान्जिटको लागि विमान आउँदा पूर्ण उचाइ (३३ हजार फिट) लिन नपाउँदै २०-२२ हजार फिटबाटै तल झर्नुपर्ने हुन्छ। किनकि, यी दुई विमानस्थलबीचको हवाई समय करिब १५-२० मिनेटको मात्रै छ।

विमानको इन्धन धेरै खपत हुने भनेको उडान र अवतरणको समयमा हो। जानकारहरूका अनुसार साधारणतया कुल उडानमा ८५ प्रतिशत इन्धन क्रुज उडानको समयमा खर्च हुन्छ।

१० प्रतिशत उडेर उचाइ लिँदा (टेकअफ) को समयमा र अवतरणको समय (ल्यान्डिङ)को समयमा ५ प्रतिशत खर्च हुन्छ। यसकारण भैरहवाबाट दिल्ली उडानमा काठमाडौं ट्रान्जिट हुँदा एकातिर वायुसेवा निगमको इन्धन बढी खर्च हुन्छ, अर्कोतिर यात्रुको बढी समय खर्च हुन्छ।

मंगलबार बिनायात्रु उडान

निगमले हरेक मंगलबार भैरहवाबाट हङकङ र नयाँ दिल्ली जाने यात्रुलाई काठमाडौं ल्याएर ट्रान्जिट गराई ती गन्तव्यमा जाने यात्रुलाई लैजाने योजना बनाएको छ।

सोहीअनुसार मंगलबार मलेसियाको क्वालालाम्पुरबाट आएको निगमको जहाज मंगलबार भैरहवा अवतरण गरेको थियो। जहाजले हङकङ र नयाँ दिल्ली जान टिकट काटेका यात्रुलाई काठमाडौं ल्याउनु थियो।

हङकङ र नयाँ दिल्ली जान लागेका यात्रुलाई काठमाडौं ट्रान्जिट गराई सम्बन्धित गन्तव्य लैजाने निगमको योजनाअनुसार त्यसो गरिएको थियो।

आइतबारदेखि मात्र टिकट बुकिङ खुला गरेका कारण मंगलबारको उडानमा यी दुवै गन्तव्यमा जाने यात्रु भैरहवाबाट भने चढेनन्। भैरहवाबाट काठमाडौं आउँदा पहिला नै क्वालालम्पुरबाटै चढेका यात्रु मात्र जहाजमा आएका थिए।

खर्चिलो उडान किन गरियो त ?

‘छोटो हवाई दूरीमा पनि ट्रान्जिट किन बनाइयो त ?’ भन्ने प्रश्नमा वायु सेवा निगमले भने भैरहवा विमानस्थल व्यस्त राख्न र यात्रुको सहजताको लागि त्यसो गरिएको बताएको छ।

विमानस्थल सञ्चालनको लामो समय हुँदा पनि धेरै उडान हुन सकेको छैन। अर्कोतिर भैरहवा पायक पर्ने यात्रुले काठमाडौं आएर दिल्ली जानुपरेको छ। यस कारण भैरहवाबाटै हङकङ वा नयाँ दिल्लीसम्मको नयाँ गन्तव्य थपेको निगमका प्रवक्ता रमेश पौडेल बताउँछन्।

उनी भन्छन्, ‘‘हामीले नयाँ गन्तव्यमा उडान सुरु गरेका छौँ ।  बुकिङ खोलेको दुई दिनमै उडान भएकाले आजको पहिलो उडानमा यात्रु थिएनन्। अर्को साताबाट यात्रु आउने अपेक्षा छ।’’

यस योजनाअनुसार यात्रुले भैरहवाबाटै हङकङ वा नयाँ दिल्लीसम्मको बोर्डिङ पास पाउँछन्। ब्यागेजसमेत सम्बन्धित गन्तव्यमै पुग्ने भएकाले काठमाडौंमा उनीहरूले थप प्रक्रिया भने पार गर्नुपर्दैन।

निगमको उडान तालिकाअनुसार बिहान ८ः३० मा भैरहवाबाट उडेको जहाज ९ः०० बजे काठमाडौंमा अवतरण गर्नेछ। ट्रान्जिट भई हङकङ जाने यात्रु हङकङ जाने उडानमा र दिल्ली जाने यात्रु दिल्ली जाने निगमकै कनेक्टिङ उडानमा चढ्नेछन्।

यात्रुको सुविधाका लागि चेक इन गर्दा नै गन्तव्यसम्मकै बोर्डिङ पास दिने र लगेज सिधै गन्तव्यमा लिने व्यवस्था मिलाइएको छ। यसअघि निगमले क्वालालम्पुरलाई भैरहवासँग जोडेर नियमित उडान गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved