ओली र नेपाल सँगै बस्नुपर्ने अवस्था आएपछि…, तैपनि बोलेनन् एक अर्कासँग

बैठक कक्षमा प्रवेश गर्नासाथ शुरूमा अध्यक्ष ओलीले कानेखुसी गरेर बोल्न खोजेको जस्तो देखिन्थ्यो। तर, नेपालले रुचि देखाएनन्। एउटै लहरमा सँगै बस्दा दुवैले असहज महसुस गरेको उनीहरूको भावभङ्गीले प्रस्ट देखाउँथ्यो।

नेपालभ्युज

ओली र नेपाल सँगै बस्नुपर्ने अवस्था आएपछि…, तैपनि बोलेनन् एक अर्कासँग

काठमाडौं। पार्टी विभाजनपछि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगै देखिनु दुर्लभ जस्तै घटना हो। उनीहरू प्रायः एक–अर्काविरुद्ध आगो ओकल्दै आएका छन्। उनीहरू एक अर्कालाई भेट्न मात्र नभई देख्नै नपरे हुन्थ्यो जस्तो ठान्छन्।

नचाहेरै पनि केही कार्यक्रममा भने पूर्वप्रधानमन्त्रीको हैसियतमा उनीहरूलाई सँगै राखिन्छ।

सोमबार पनि त्यस्तै भएको छ। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सभापति निर्वाचित गर्ने बैठकमा ओली र नेपाल एकै ठाउँमा बस्नुपर्याे, नचाहेरै। पूर्वप्रधानमन्त्रीहरूलाई अगाडि सिट प्लान गरिएको थियो। तर, सँगै बस्दा पनि उनीहरूले कुराकानी भने गरेनन्।

बैठक कक्षमा प्रवेश गर्नासाथ सुरूमा अध्यक्ष ओलीले कानेखुसी गरेर बोल्न खोजेको जस्तो देखिन्थ्यो। तर, नेपालले रुचि देखाएनन्। एउटै लहरमा सँगै बस्दा दुवैले असहज महसुस गरेको उनीहरूको भावभङ्गीले प्रस्ट देखाउँथ्यो। यतिसम्मकी उनीहरूले एक अर्कालाई हेर्दा पनि हेरेनन्।

गत मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकमा एमाले अध्यक्ष ओली गएका थिएनन्। नेपालले एकीकृत समाजवादीको छाया पर्छ भनेर ओली बैठकमा नआएको टिप्पणी गरेका थिए। यसअघि एकीकृत समाजवादीलाई पार्टी नमानेको एमालेले उ सहभागी हुने केही बैठक समेत बहिस्कार गर्दै आएको थियो।

एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गरेपछि ओली र नेपालबीच सम्बन्ध बिग्रिएको थियो। ठिक दुईवर्षअघि २०७८ भदौमा नेपाललगायतका केही नेताहरू एमालेबाट अलग भएका थिए।

सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सभापतिमा जसपाका राजकिशोर यादव निर्वाचित भएका छन्। किनकि अरूको उम्मेदवारी परेन। बैठकमा अध्यक्षता ज्येष्ठ सदस्यको हैसियतले राप्रपाका वरिष्ठ नेता पशुपति शमशेर जबराले गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved