महिलामा बाँझोपनसँगै बढ्यो मानसिक समस्या, वैदेशिक रोजगारी प्रमुख कारण !

नेपालभ्युज

महिलामा बाँझोपनसँगै बढ्यो मानसिक समस्या, वैदेशिक रोजगारी प्रमुख कारण !

काठमाडौं । पछिल्लो सयम ग्रामीण भेगका महिलामा बाँझोपनको समस्या बढ्दै गएको भन्दै चिकित्सकले चिन्ता व्यक्त गरेका छन् ।

चिकित्सकहरुले पछिल्लो केही वर्षयता युवाहरु विदेश जाने क्रम बढेको र उमेर पुगेर पनि विवाह नगर्दा बाँझोपनको समस्या बढ्दै गएको बताएका छन् । उनीहरुले बाँझोपनको समस्या समाधानका लागि परामर्श दिन आवश्यक भइसकेको बताए ।

चिकित्सकहरुका अनुसार बाँझोपनले मानसिक समस्या विकराल बन्दै गइरहेको भन्दै सचेत रहन आग्रहसमेत गरेका छन् । प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीले बाँझोपन हुनुमा महिला र पुरुषको भूमिका समान हुने बताइन् ।

उनले विवाहपश्चात पुरुषहरु वैदेशिक रोजगारीमा जानुपनि बाँझोपनको कारण रहेको औंल्याइन् । उनले खाडी मुलुकमा गएका पुरुषहरु नेपालमा फर्किंदा बच्चा नहुनुको प्रमुख कारण उच्च तापक्रमले शुक्रकिट उत्पादनमा ल्याउने ह्रास रहेको पनि बताइन् ।

डा. सुवेदीले एक वर्ष वा एक वर्षभन्दा बढी समयसम्म श्रीमान–श्रीमती अस्थायी परिवार नियोजनको साधनबिना यौन सम्पर्क गर्दापनि सन्तान उत्पादन नभएमा त्यसलाई बाँझोपन भनिने बताइन् ।

‘अहिलेको अवस्था हेर्दा ग्रामीण भेगका युवा विदेश जानका लागि भिसा लाएपछि विवाह गर्छन् । विवाह गरेको १५ दिनमा विदेश जान्छन् । दुई वर्षमा दुई महिनाका लागि आउँछन्’, उनले भनिन्, ‘त्यो अवधिमा बच्च बस्दैन । अनि बाँझोपन देखिन्छ ।’

वंशाणुगत रोग विशेषज्ञ डा.निलम ठाकुरले बाँझोपन थाहा पाउन महिला पुरुषको स्वास्थ्य जाँच गर्नुपर्ने र बाँझोपनको कारण पत्ता लगाइसकेपछि मात्रै उपचार प्रक्रिया थाल्नुपर्ने बताइन् ।

डा. ठाकुरले निः सन्तानपनले मानसिक समस्या निम्त्याएको बताइन् । समाजमा बाँझोपन बढ्दै गएको भन्दै बाँझोपनसम्बन्धी सरकारले नीति ल्याउन आवश्यक रहेको बताउइन् ।

भ्रुण रोग विशेषज्ञ डा.विनिता थापाले निःसन्तानपनको उपचार गर्न केही समय लाग्ने बताइन् । उनले निःसन्तानपन कसरी हुन्छ भनेर शुरुमा आमनागरिकमा जनचेतना जगाउन आवश्यक रहेको पनि बताइन् ।

थापाले निःसन्तानको उपचारका लागि महिनावारीको दोस्रो दिनबाट सुरु १३÷१४ दिनसम्म स्क्रिनिङ नै गरेर राख्ने गरिएको बताइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved