सिन्धुपाल्चोक। नेपालका थुप्रै नदिहरू पानीसँग सम्बन्धित साहसिक खेलको लागि विश्वभर प्रसिद्ध छन्। कालीगण्डकी, मर्स्याङ्दी, पश्चिम सेती, कर्णाली, त्रिशूली, बूढीगण्डकी, उपल्लो र तल्लो भोटेकोशी, तमोर लगायतका नदीहरू र्याफ्टिङका लागि विश्वभर प्रसिद्ध छन्।
गर्मी मौसम सुरु भएसँगै पानीका छालसँग लुकामारी गर्न रुचाउनेहरूको यी नदीहरूमा भिड देख्न सकिन्छ। विशेषगरी, पछिल्लो समय नेपालीहरूको माँझ पनि र्याफ्टिङ लोकप्रिय बन्दैछ।
काठमाडौं उपत्यकावासीका लागि त्रिशूली र भोटेकोशी नदी र्याफ्टिङको प्रमुख गन्तव्य बनेको छ । र्याफ्टिङका लागि भनेर मात्रै भोटेकोशी क्षेत्रमा करिब दुई दर्जनको हाराहारीमा रिसोर्टहरू खुलेका छन् । यी रिसोर्टहरूमा उपत्यकाबाट हरेक हप्ता १२ देखि १५ सयको हाराहारीमा मानिस र्याफ्टिङका लागि आउने गरेको र्याफ्टिङ स्टार रिसोर्टका सञ्चालक दीपककुमार राई बताउँछन् ।
अधिकांश कलेज तथा कार्यालय शनिबार बिदा हुने कारण शुक्रबार यहाँको रिसोर्टहरूमा मानिसको भिड लाग्ने गरेको छ।
पछिल्लो समय भोटेकोसी क्षेत्रमा आन्तरिक पर्यटकको चाप अत्यधिक बढेको सञ्चालक राईको भनाइ छ। उनी भन्छन्, ‘अहिले पहिलाको तुलनामा आन्तरिक पर्यटकको चाप बढ्दो छ, तर बाह्य पर्यटक कम हुँदै गएका छन् ।’ आन्तरिक पर्यटक बढ्नुमा सामाजिक सञ्जालको हात रहेको उनले बताए। उनका अनुसार र्याफ्टिङ गरेर फर्केकाले सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्ने गरेका कारण स्वतः प्रचार-प्रसार हुने गरेको छ। त्यस्तै, विदेशी पर्यटकको संख्या घट्नुको कारणचाहिँ भीडभाड र कोलाहल रहेको उनको बुझाइ छ । उनले भने, ‘विदेशीहरू सहरिया जीवनबाट वाक्क भएर शान्त ठाउँमा रमाउन भनेर यहाँ आउने हो, अहिले त्यो वातावरण छैन । यस्तै कारणले बर्सेनि उनीहरूको संख्या कम हुँदै गइरहेको छ ।’
भोटेकोसी क्षेत्रमा फागुन महिना लागेसँगै र्याफ्टिङ सुरु हुन्छ। सामान्यतया फागुनदेखि बर्खा सुरु नभएसम्मको समय र्याफ्टिङका लागि उपयुक्त मानिन्छ। तर, तल्लो भोटेकोसी क्षेत्रमा भने बर्खे भेलसँग पौँठेजोरी खेल्न साहसिक युवा जमातको चाहना उत्तिकै बढेको छ। बर्खायाममा सुरक्षित तरिकाले कोशीको भेलसँग रमाउनेको संख्या पनि उल्लेखनीय छ।
हिउँदयामको भन्दा बर्खायामको र्याफ्टिङ धेरै साहसिक हुने उनीहरूको अनुभव छ।
Facebook Comment
Comment