पुस्तक समीक्षा

वसन्त चौधरीका व्यवस्थापकीय आलेखहरूको सम्मोहन

भूकम्पले थिलोथिलो पारेको देशको पुन:र्निर्माण कसरी हुन सक्ला, भन्ने विषयमा उनको मनमा अनेक विचार, भावना र तर्कना आउन थाले । त्यसले उनलाई हदैसम्म अशान्त पार्‍यो । मनमा आउने विचार र भावनाको बबन्डरलाई उनी बाँड्न चाहन्थे । तसर्थ, उनले समसामयिक लेख तथा टिप्पणी लेख्न थाले ।

नेपालभ्युज

वसन्त चौधरीका व्यवस्थापकीय आलेखहरूको सम्मोहन

काठमाडौं। देशका प्रतिष्ठित व्यावसायिक घरानाका सदस्य वसन्त चौधरीको उद्यमशील व्यक्तित्वको चर्चा यहाँ आवश्यक छैन । त्यसका अतिरिक्त उनी कवि, गीतकार र समाजसेवी पनि हुन् । उनको व्यक्तित्वको तेस्रो पाटो पनि उत्तिकै तेजिलो छ–लेखक तथा स्तम्भकार वसन्त चौधरी ।

उनकै भनाइमा सन् २०१५ पछि उनले विभिन्न पत्रपत्रिका र म्यागजिनमा लेख्न थालेका थिए । त्यसको मुख्य कारण थियो– २०७२ सालको महाभूकम्पपछिको नेपाल ।

महाभूकम्पले देशलाई पार्नुसम्म थङथिलो पार्‍यो । हजारौं नागरिकले जीवन गुमाउनुपर्‍यो। ठूलो भौतिक पूर्वाधार ध्वस्त भए । देशको राष्ट्रिय जीवन नै एकप्रकारले लयहीनजस्तो बन्न पुग्यो । व्यक्तिगत जीवनमा मान्छेले भोगेका दु:ख र पीडाको कुनै सीमा रहेन ।

वसन्तको स्विकारोक्ति छ–महाभूकम्पपछिको नेपालको स्थितिले उनलाई निक्कै भावुक र चिन्तनशील बनायो । भूकम्पले थिलोथिलो पारेको देशको पुन:र्निर्माण कसरी हुन सक्ला, भन्ने विषयमा उनको मनमा अनेक विचार, भावना र तर्कना आउन थाले । त्यसले उनलाई हदैसम्म अशान्त पर्‍यो । मनमा आउने विचार र भावनाको बबन्डरलाई उनी बाँड्न चाहन्थे । तसर्थ उनले समसामयिक लेख तथा टिप्पणी लेख्न थाले ।

उनको ध्यान अक्सर अर्थतन्त्र, राजनीतिक र व्यवस्थापकीय सवालमा केन्द्रित हुन्थ्यो । उनको लेखनले पनि मूलतः यही क्षेत्रलाई पक्रियो ।

गर्दा गर्दै वसन्तले ‘विजनेस थ्रि हन्ड्रेड सिक्टी डिग्रिज’ म्यागजिनमा ‘विजनेस सूत्र’ स्तम्भ लेख्न थाले । ४ दशकभन्दा लामो व्यावसायिक जीवनको अनुभव छ उनीसँग। स्तम्भ लेख्नका लागि उनीसँग अनुभव, घटना, अध्ययन, परिदृष्य र तथ्यतथ्यांकको कुनै कमी थिएन।

भाषिक ‘कमाण्ड’ पनि गज्जबको छ उनको । उनी हिन्दी, नेपाली र अंग्रेजीमा उत्तिकै धाराप्रवाह लेख्न सक्दछन् ।

वसन्तलाई लाग्छ कि उद्योग व्यवसायको विकास विना नेपालको भविष्य सुनिश्चित हुन सक्दैन। उद्यमशीलता नै हो कुनै पनि राष्ट्रको आर्थिक विकास र समृद्धिको जग बसाल्न सक्ने । व्यावसायिक क्षेत्रमा व्यवस्थापनशास्त्र सीप र कला विशेष महत्त्व हुन्छ भन्ने कसैले अस्वीकार गर्न सक्दैन।

तसर्थ, स्तम्भ लेखनको केन्द्रीय विषय उनले व्यवस्थापनलाई बनाए । उनी अरु सबै विषयतिर घुमे, फन्को लगाए । लैङिक सवालदेखि दर्शनशास्त्रसम्म, जलवायु परिवर्तनदेखि नैतिक मूल्यपद्धतिसम्म फन्को मार्न उनले कतै छोड्नन् । तर, यी सबै विषयलाई उनले व्यवस्थापनशास्त्रको आँखाबाट हेर्न खोजे ।

राजनीति समाजमा सबैभन्दा बढी र व्यवस्थापन सबैभन्दा महत्व दिइने विषयजस्ता भएका छन् अहिले । भलै कि विश्वविद्यालयहरूको प्रवृत्ति फरक छ । त्यही राजनीतिशास्त्रजस्ता विषयका संकायहरू संकटग्रस्त छन् भने व्यवस्थापन, विज्ञान तथा प्रविधि संकायमा विद्यार्थी धेरै नै बढेका छन्। तर, सार्वजनिक विमर्शमा व्यवस्थापनको हिस्सा कमजोर छ । वसन्तले आफ्नो स्तम्भमार्फत् व्यवस्थापनलाई समसमयिक विमर्श र लेखनको विषय बनाए ।

उनका त्यस्तै ५६ लेखहरूको संग्रह पुस्तकका रूपमा उपलब्ध छ अहिले । पुस्तकको नाम दिइएको छ–‘विजनेस थ्रि हन्ड्रेड सिक्टी डिग्रिजः मेकिङअ न्यू नेपाल’। भारतको रूप पब्लिकेसनले प्रकाशित गरेको छ ।

लेखहरूमा लेखक नेपालका व्यावसायिक तथा व्यवस्थापकीय सवाललाई पर्गेल्ने क्रममा भित्रभित्रसम्म छिरेका छन । नेपालको आर्थिक विकास कसरी चाँडो र दीगो हुन सक्दछ भन्ने प्रश्नले उनलाई हृदयभित्रै बाट राम्रोसँग घोचेको देखिन्छ । उनको पुस्तक ‘द ग्लास सिलिङ’ बाट सुरु हुन्छ र ‘द एबीसी अफ टिम बिल्डिङ’ मा पुगेर सकिन्छ ।

‘ग्लास सिलिङ’ व्यवस्थापनशास्त्रमा संगठनात्मक आचारण र व्यवहारमा देखापर्ने एक अल्झो वा बाधालाई व्यक्त गर्ने विम्ब हो । सामान्यतः परम्परागत पदसोपादनक्रमयुक्त कर्पोरेट संगठनमा असफल व्यवस्थापकहरूलाई निर्णायक पद वा ठाउँमा पुग्न केकस्ता बाधा आउँछन् र त्यसले व्यवस्थापनलाई कसरी कमजोर बनाउँछ भनेर बुझ्न यो विम्ब धेरै उपयोगी हुन्छ ।

‘ग्लास सिलिङ’ को बाधा मुख्यतः महिला, दलित, आदिवासी, जनजाति तथा अल्पसंख्यक धार्मिक समुदायले व्यहोर्नु पर्ने हुन्छ । तर, वसन्त चौधरीको यो आलेख भने महिलाको सवालमा मात्र केन्द्रित छ । उनी महिला उद्यमशीलता र कर्पोरेट दुनियाँको उच्च पदमा महिलाको स्वीकार्यताप्रति बढी संवेदनशील लाग्दछन् ।

अन्तिम ‘एबिसी अफ टिम विल्डिङ’ मा उनी व्यवस्थापकीय क्षमता र सफलताका लागि समूह निर्माण र समूह कार्यको महत्त्व दर्शाउँदछन् । उनको प्रष्ट धारणा कि अबको दुनियाँमा कुनै पनि कामको सफलता मूलतः समूह निर्माणबाट सुरु हुन्छ । समूह कार्यमा उत्पन्न हुनसक्ने सामाजिक, साँस्कृतिक तथा मनोवैज्ञानिक द्वन्द्वले संगठनात्मक व्यवहारलाई कसरी राम्रो वा नराम्रो कार्यसंस्कृतिमा आकारित गर्दछ भन्ने कुरालाई उनी खोतल्दछन्।

सामान्य मान्छेले गर्ने असामान्य व्यावसायिक प्रयत्न र योगदानलाई उनले धेरै ठूलो महत्त्व दिएका छन् । ‘म्यानेजमेन्ट लेसन फ्रम मुम्बईज डब्बावाला’ त्यसको एक गतिलो उदाहरण हो । उनको यो लेख पढ्दा निर्देशक नितेश बात्राको चर्चित हिन्दी सिनेमा ‘द लञ्च बक्स’ को सम्झना आउँछ। मुम्बईको लञ्च बक्स प्रणाली, संस्कृति र इतिहासलाई उनले लोभलाग्दो वर्णन गर्दछन्। तर, वसन्तको कोण भने फरक हो । उनले कुनै पनि व्यावसायिक उदेश्यमा संगठन, व्यवस्थापन, प्रक्रिया र संस्कृतिको ४ स्तम्भीय प्रारूपलाई ‘डब्बावाला’ प्रणालीको उदाहरणबाट पुष्टि गर्न खोजेका छन्।

उनका थुप्रै लेखहरूको ‘एप्रोच’ दार्शनिक प्रकृतिको छ । जस्तो कि ‘द कन्फुसियस वे अफ ग्राण्ड सक्सेस’, ‘योगा बेटर योर विजनेस’, ‘इन्ट्रिगिटीः द सेक्रेट टु लास्टिङ सक्सेस’, ‘द ट्रम्फ अफ ह्युमानिटी’ आदि । पूर्वीया दर्शन र आध्यात्मबाट ग्रहण गरिने नैतिक मूल्यहरू व्यावसायिक तथा व्यवस्थापकीय सफलताको लागि कसरी उपयोगी हुन्छन् भन्ने सिद्ध गर्न उनले यस्ता सन्दर्भलाई उपयोग गरेका छन् ।

तर, उनी पूर्वीया दर्शनको ‘भेग’ परम्पराभित्र छिरेका छैनन् । नत ‘पूर्व’ र ‘पश्चिम’ कृत्रिम र अनुपयोगी विभाजनप्रति उनमा कुनै मोह वा आशक्ति देखिन्छ । बरु उनले पूर्व र पश्चिम दुवैतिरबाट व्यवस्थापकीय ज्ञान, विज्ञान, कला, सीपका उपयोगी प्रारूपप्रति रुचि राखेका छन् ।

अर्बपति वारेन बफेटको व्यावसायिक जीवन र सूत्रले वसन्तलाई राम्रै प्रभावित गरेको छ । ‘मोर आउट अफ लेस द वारेन बफेट बे’ मा उनी लेख्छन्–‘तपाईं यो कुरा सुनेर आश्चर्यचकित हुन सक्नु होला कि उनी आफ्नो सम्पतिको ९९ प्रतिशत परोपकारी उद्देश्यका लागि खर्च गर्न चाहन्छन्।’

वसन्तको विश्वासमा धन कमाउनु र धनी हुनु भनेको केवल त्यसकै लागि मात्रै हैन । नत तडकभडक र शानको जिन्दगी बाँच्ने आशक्तिद्वारा प्रेरित हुनु हो । धन कमाउनुको अर्थ स्रोतको यस्तो संकेन्द्रण गर्नु हो, जसले कुनै उपयोगी र सार्थक कार्यमा लगानी गर्न सम्भव बनाउँछ ।

जस्तै धनी मान्छेका पनि ‘भोग’ का सीमा हुन्छन । धनीले ‘सुनका डल्ला’ खाने हैनन् । नत ‘नोटको ओछ्यान’ माथि नै सुत्ने हुन् । धनसँग कुनै न कुनै कार्य, परियोजना र उदेश्य जोडिएर आएको हुन्छ । त्यसको कार्यान्यवनका लागि धनीमा धनको मोह हुने हो । फेरि त्यो कुनै न कुनै तरिकाले समाजमै फर्किन्छ ।

जस्तो कि, वारेन बफेटको एक रोचक भनाई वसन्तले टिपेका छन्–‘ के १० वटा घरले मलाई धेरै खुसी बनाउन सक्ला ? के मैले सय थरिका खाना खान सकौला ?’ बफेट त्यही घरमा जीवनभरि बसे जुन उनले १९५८ मा ३१,५०० डलरमा किनेका थिए ।

यो भनिरहन पर्दैन कि वसन्त चौधरीका लेखहरूले अर्थतन्त्रको ढाँचामा उदारवाद, स्वतन्त्रता र खुल्ला बजारको पैरवी गर्दछन् । तर, उनले व्यावसायिक घरानाहरूको सामाजिक उत्तरदायित्वको पक्षलाई पनि कम आँकेका छैनन् ।

उनको लेखनको अर्को महत्त्वपूर्ण पाटो विज्ञान र प्राविधि हो । उनले कृत्रिम बौद्धिकतादेखि सामाजिक सञ्जालसम्मको चर्चा गरेका छन् । ‘एआईः थ्रेड अर अपरच्युनिटी ?’ मा वसन्त लेख्छन्–‘यसका जोखिम पनि होलान्, तर यति धेरै फाइदा छन् कि राज्य, व्यवसाय र समाजको सबलीकरणमा सिर्जनशील वातावरण तयार गर्न सक्दछ ।’

वसन्त चौधरीको पुस्तकले एक उद्यमीको बौद्धिक रुचिलाई मात्र प्रष्ट गर्दैन, उनी नेपालको समकालिन सार्वजनिक बहसमा सार्थक योगदान गर्न सक्ने क्षमता र आत्मविश्वास राख्दछन् भन्ने प्रमाण पनि दिन्छ । सम्बन्धित क्षेत्रका नीतिगत सुधार र परिमार्जनमा उनको अनुभव, अध्ययन र ज्ञानको पृष्ठपोषण राज्यका लागि उपयोगी हुन सक्दछ ।

पुस्तक अंग्रेजी भाषामा भएको हुँदा नेपाली पाठकका लागि आफैँमा एक व्यावधान वा सीमा त हुने नै भयो । सार्वजनिक बहसमा रुचि तथा नीतिगत सुधारमा सरोकार राख्ने र अंग्रेजी भाषामा पढ्न सक्ने पाठकले भने वसन्त चौधरीको यो पुस्तकबाट धेरै लाभ लिन सक्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved