भारतको उत्तराखण्ड पहिरोमा बेपत्ता नेपालीको खोजी कार्य जारी

१६ जना नेपालीलाई पहिरोले पुरेको अनुमान

नेपालभ्युज

भारतको उत्तराखण्ड पहिरोमा बेपत्ता नेपालीको खोजी कार्य जारी

काठमाडौं । नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतको उत्तराखण्ड राज्यको गौरीकुण्डमा बिहीबार राति पहिरोमा परी बेपत्ता भएका नेपाली नागरिकको खोजी कार्य जारी रहेको जनाएको छ ।

सो ठाउँमा होटल व्यवसाय गरेर बसेका जुम्ला स्थायी बसोवास भएका एकै परिवारका सात जना, सोही स्थान नजिकै रोजगारीको सिलिसिलामा रहेका जुम्लाकै अन्य चार जना र कालीकोटका पाँच जनासहित १६ जना नेपाली नागरिक बेपत्ता भएको बताइएको छ ।

त्यहाँको सञ्चार माध्यम र स्थानीय सरकारका पदाधिकारीका अनुसार बेपत्ता भएकाको खोजी कार्य जारी रहेको जनाइएता पनि नदीको सतह बढेको र प्रतिकूल मौसमका कारण कठिनाइ उत्पन्न भएको दूतावासले जनाएको छ ।

आज बिहान ९ बजेतिर मन्दाकिनी नदीको किनारामा फेला परेका तीन वटा शवमध्ये दुई नेपाली नागरिक र एक जना भारतीय नागरिक रहेको बुझिन आएको दूतावासले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दुई जना नेपाली नागरिकमध्ये एक जना कालिकोटका टेकबहादुर कामीको सनाखत भएको र अर्काे शवको अनुहारमा चोट लागेको कारण हालसम्म सनाखत हुन सकेको छैन ।

रुद्रप्रयागका जिल्लाधिकारी त्यहाँस्थित आपदा कन्ट्रोल रुम र उत्तराखण्डस्थित विपद् व्यवस्थापन सचिवालयसँग नेपाली राजदूतावास निरन्तर सम्पर्कमा रहेको पनि जनाइएको छ ।

रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved