सुन तस्करीमा प्रधानमन्त्रीकै संलग्नता हुनसक्ने शेखरको शंका

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सय किलो सुन तस्करी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को संलग्नता हुनसक्ने शंका गरेका छन् ।

नेपालभ्युज

सुन तस्करीमा प्रधानमन्त्रीकै संलग्नता हुनसक्ने शेखरको शंका

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सय किलो सुन तस्करी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को संलग्नता हुनसक्ने शंका गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले छानबिनमा राजस्व अनुसन्धान विभाग मात्रै संलग्न गराउनुले शंका उत्पन्न गराएको बताएका हुन् ।

सुन समातिएको हप्ता दिन अघिसम्म प्रधानमन्त्री दाहालको स्वकीय रहेका नवराज ढुंगानालाई राजस्व अनुसन्धानको प्रमुख बनाउनु र सुन तस्करी अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) लाई सहभागी नगराउनुले प्रधानमन्त्रीको नियतमाथि शंका बढेको उनको भनाइ छ ।

उनले प्रहरीलाई अनुसन्धानमा संलग्न नगराइ राजस्व अनुसन्धान विभाग मात्रै संलग्न गराउनुको कारण सञ्चारमाध्यमहरुले खोज्नुपर्ने बताए ।

कोइरालाले ठूला नेताको नजिक पुगेपछि भ्रष्टाचार छानबिन प्रभावित भइरहेको टिप्पणी पनि गरेका छन् । नेता कोइरालाले पछिल्लो समय चर्चामा आएका भ्रष्टाचार प्रकरणमाथिको अनुसन्धान ठूला नेताको नजिक पुगेपछि सामसुम भएको बताएका हुन् ।

भुटानी शरणार्थी प्रकरणमा केही नेता पक्राउ परे पनि ललितानिवास जग्गा हिनामिना प्रकरणमा ठूला नेता तानिने भएपछि अनुसन्धान नै ढिसमिस पारिएको उनको भनाइ छ । उक्त प्रकरणमा केही साना कर्मचारी पक्रेर ठूला नेतालाई उन्मुक्ति दिन खोजेको उनले बताए ।

उनले भने, ‘टिप्पणी उठाउने शाखा अधिकृत चाहिँ जेल गएर भर्खर अदालतको आदेशमा अहिलेको सचिवजी रिहा हुनुभएको छ । तर, जसले मन्त्रिपरिषदबाट निर्णय गरेको छ, तिनीहरूलाई चाहिँ केही हुँदैन ।’

ललितानिवास जग्गा प्रकरणसँगै सुन तस्करी प्रकरण पनि सामसुम हुने सम्भावना बढेको उनको बुझाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved