ओलीलाई विश्वप्रकाशको चेतावनी- इतिहास बंग्याएर भ्रम नछर्नुस्

नेपालभ्युज

ओलीलाई विश्वप्रकाशको चेतावनी- इतिहास बंग्याएर भ्रम नछर्नुस्

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बिपी कोईरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई आत्मसमर्पणवादी भनेपछि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिवाद गरेका छन् ।

बुधवार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित तुल्सीलाल अमात्यको २६ औं स्मृति दिवस समारोहलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले बिपीले भारत निर्वासनमा बस्न नसकेपछि नेपाल फर्किएर राजासँग आत्मसमर्पण गरेको टिप्पणी गरेका थिए । राजासँग आत्मसमर्पण गरेको कुरालाई राष्ट्रिय मेलमिलाप नीति भन्ने गरिएको उनको जिकिर थियो ।

‘गणेशमान जी ५० वर्ष काँग्रसमा रहनु भयो, पहिला पनि काँग्रेस हुनुहुन्न्थ्यो, पछि पनि काँग्रेस छोडेर अलग हुनुभयो । गणेशमान जी सधैँ काँग्रेससँग काँग्रेसको कमजोर आत्मसमर्पणवादी चरित्र र भन्ने एकथोक गर्ने अर्को थोक, त्यो खालको देखेर उहाँ सधैँ संघर्षरत हुनुहुन्थ्यो । नेपाली काँग्रेसका नेताहरु असाध्यै चतुर हुनुहुन्छ’ ओलीले भने, ‘संघर्ष गर्न, टिक्न नसकिने भयो, भारतमा पनि अडिन गाह्रो भयो, सबैतिर गाह्रो भएपछि अब आत्मसमर्पण गरेर भएपनि नेपाल जानुपर्छ भनेर आउनु भयो तर त्यसलाई के भन्नुभयो भने एकदिन बिहान सबै राता झण्डा नेपालमा गाडिएका देखिने खतरा छ, त्यसकारण अब म जनताको प्रतिनिधि जनशक्ति, राजा राज्यको शक्ति, दुईवटा मिलेर जानुपर्छ, त्यसकारण राजा र मेरो गर्धन जोडिएको छ ।’

आोलीको सोही अभिव्यक्तिलाई लिएर महामन्त्री शर्माले आपत्ति जनाएका हुन् । उनले अध्यक्ष ओलीले बिपी कोईरालाको बारेमा राष्ट्रिय मेलमिलाप नीतिप्रति लक्षित अभिव्यक्ति प्रतिक्रियायोग्य नरहेको बताए । उनले अध्यक्ष ओलीले कुनैपनि सार्वजनिक कार्यक्रममा अरुको बारेमा तिक्तता नपोखी वक्तव्य टुंग्याए नेपाली समाजले अनौठो मान्नुपर्ने स्थिति आइसकेको बताए ।

महामन्त्री शर्माले अध्यक्ष ओलीका पछिल्ला अभिव्यक्ति सुसंस्कृत हुन नसकेको बताए। उनले बिपी कोईरालाले २०३३ सालमा लिनुभएको राष्ट्रिय मेलमिलापाको नीतिप्रति एमालेको संस्थागत बुझाई यही हो भन्दै प्रश्न गरे । उनले बिपी कोईरालाले बनाएको बाटोमै अहिले नेपालको कम्युनिष्ट आन्दोलन अघि बढीरहेको दाबी गरे ।

उनले बिपीले नै कोरिरहेको बाटोमा नेपालको कम्युनिष्ट आन्दोलनलाई बहुदलीय जनवादमार्फत रुपान्तरण गर्दै लिएर आउने तर बिपीमाथि नै औंला उठाउने प्रकारको व्यवहार गलत भएको बताए । इतिहासलाई बंग्याउने भन्दा इतिहासप्रति समर्पित हुने शिक्षा पछिल्लो पुस्तालाई दिन जरुरी रहेको बताए । महामन्त्री शर्माले इतिहासलाई गाली गरेर सुन्दर भविष्य बनाउन नसकिने बताए।

‘एमाले पार्टी अध्यक्ष, यो देशका पूर्वप्रधानमन्त्री सम्माननीय कमरेड केपी ओलीले तुल्सीलाल अमात्यको स्मृति दिवसको दिन बोल्दै गर्दा बिपी कोईरालाको बारेमा, बिपी कोईरालाले २०३३ सालमा लिनुभएको मेलमिलापको नीतिको बारेमा जे बोल्नुभयो, वास्तवमा त्यो कुनै प्रतिक्रिया योग्य, टिप्पणी योग्य नै छैन’ उनले भने, ‘बिहानै घरबाट हिँड्ने बेलामा आदरणीय राधिका भाउजुसँग ठाकठुक परेर हिँड्नुहुन्छ की बेला बेला, सालिन व्यक्तित्व हुनुहुन्छ उहाँ, राधिका शाक्य । त्यस्तो त पक्कै हुँदैन होला ।’

महामन्त्री शर्माले बिपीको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि त्यत्तिकै सान्दर्भिक छ भन्ने विषयमा आफू टेबल टक गर्न तयार रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved