कोशी प्रदेश सरकार

सभामुखलाई राजीनामा गराउँदा सरकार बन्छ, विश्वासको मत पाइँदैन !

नेपालभ्युज

सभामुखलाई राजीनामा गराउँदा सरकार बन्छ, विश्वासको मत पाइँदैन !

विराटनगर । कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले राजीनामा दिँदैछन्, यसपछि गठबन्धनले सरकारमा दाबी गर्दैछ, मुख्यमन्त्री बन्दैछन् कोशी कांग्रेसका संसदीय दलका नेता उद्धव थापा । प्रदेश प्रमुख परशुराम खापुङले सरकारमा दाबीका लागि दिएको समय मङ्गलबार (आज) साँझ ५ बजे घर्किँदैछ ।

नेकपा (माओवादी केन्द्र) बाट सभामुख बनेका ओखलढुङ्गाका बाबुराम गौतमलाई गठबन्धनले राजीनामा दिनका लागि निर्देशन दिइसकेको छ । उनले राजीनामा दिएपछि गठबन्धनको पक्षमा ४७ सांसद हुनेछन् । जुन सांसद सङ्ख्या ९३ सदस्यीय प्रदेशसभामा सरकार बन्ने कठिन बहुमत हो ।

तर, संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्री (उद्धव थापा) ले विश्वासको मत लिनुपर्छ । त्यसबेला भने पुन: सरकार रहन्छ कि रहँदैन भन्ने प्रश्न अहिल्यैबाट उठ्न थालेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) र अर्को विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को योजना त्यही छ; विश्वासको मत नदिलाउने ।

प्रदेशसभामा एमालेकी सृजना दनुवार उपसभामुख छिन् । सभामुख गौतमले राजीनामा दिएपछि उपसभामुख दनुवारलाई पनि राजीनामा गराउने एमालेको तयारी छ । यस्तो अवस्थामा सदन जेष्ठ सदस्यले चलाउनुपर्ने हुन्छ । प्रदेशसभामा जेष्ठ सदस्य गठबन्धनसम्बद्ध दल नेपाली कांग्रेसकै गयानन्द मण्डल गनगाईं छन् । उपसभामुख दनुवारले पनि राजीनामा दिएपछि सदन गनगाईंले चलाउनेछन् । जुन अवस्था भनेको गठबन्धन फेरि ४६ मा खुम्चिने अवस्था हो ।

कोशी एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी उपसभामुखको राजीनामा आउनसक्ने बताउँछन् । “अहिल्यै त राजीनामा आउँदैन,” उनले भने, “तर, यसबारे विचार/विमर्श गरेर विकल्पबारे सोच्छौँ र अन्त्यमा त्यही हुन पनि सक्छ ।” उता अर्को विपक्षी दल राप्रपा एमालेकै साथमा छ ।

विश्वासको मत पाउन कठिन हुने गठबन्धनकै सांसदहरू स्वीकार्छन् । माओवादी केन्द्रका सांसद गोम्बु शेर्पा ‘कर्ज्याङ’ भन्छन्, “सभामुखलाई राजीनामा गराउँदा अहिले सरकार त बन्छ । तर, विश्वासको मत पाउनचाहिँ गाह्रो छ । तर, मिलाउँदै जाँदा पाउन सकिन्छ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved