कोशीमा एमाले-माओवादी पुन: मिल्तीको कोसिस, सम्भावना कति ?

राजीनामा नदिने सभामुख बाबुराम गौतमको 'अडान'

कोशी प्रदेशमा पुन: नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई मिलाउने कोसिस भइरहेको छ । माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री वर्षमान पुन ‘अनन्त’ ले यसको अग्रसरता लिएका छन् ।

नेपालभ्युज

कोशीमा एमाले-माओवादी पुन: मिल्तीको कोसिस, सम्भावना कति ?

विराटनगर । कोशी प्रदेशमा पुन: नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई मिलाउने कोसिस भइरहेको छ । माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री वर्षमान पुन ‘अनन्त’ ले यसको अग्रसरता लिएका छन् । उनले एमाले-माओवादीबीच पुन: मिल्ती भएमात्रै कोशीमा सहज बहुमत जुट्ने र त्यो दीगो हुने बताउने गरेका छन् । उनले सोमबार बिहान बालुवाटारमा बसेको पार्टी पदाधिकारी बैठकमा पनि यही ब्रिफिङ्ग गरेका थिए ।

यसबीचमा उनले कोशी एमालेका संसदीय दलका नेता हिक्मत कार्कीलाई पनि भेटेको चर्चा छ, जो यसअघि मुख्यमन्त्री थिए । यद्यपि उनको सचिवालय भने त्यो स्वीकार्दैन । नेपालभ्यूजको जिज्ञासामा अनन्तका स्वकीय सचिव सन्तोष पुनले भने, “भेटघाट त भइ नै रहन्छ । तर हिक्मत कार्कीलाई नै भनेको चाहिँ थाहा छैन ।”

अनन्तले एमाले-माओवादी नमिलकन कोशीमा ‘मध्यावधि’ नटर्ने बताउने गरेका छन् । उनका निकटस्थहरूकाअनुसार उनी कोशीमा एमाले-माओवादीको सहभागितामा सरकार बन्नैपर्ने पक्षमा छन् ।

श्रोतकाअनुसार अनन्त कोशीमा सभामुखले राजीनामा दिऊन् भन्ने चाहँदैनन् । सभामुख बाबुराम गौतम अनन्तनिकटकै मानिन्छन् । उनले आफ्ना निकटस्थहरूसँग सभामुखले राजीनामा दिँदा सरकार त बन्ने तर, चाँडै ढल्नसक्ने बताउने गरेका छन् । त्यसो त यहाँ अनन्त गुटको बहुमत थियो । अहिले उनीनिकट मानिने राजेन्द्र कार्कीले मन्त्री बन्नका लागि गुट फेरेका छन्, यस्तो अवस्थामा दुवै गुट बराबरीमा छन् ।

यसैले अनन्तले आफ्नो सक्रियता बढाएका हुन् । उनका स्वकीयसमेत भइसकेका सांसद एवम् पूर्वमन्त्री दुर्गाप्रसाद चापागाईंले उनलाई दह्रो साथ दिएका छन् । उनले पनि सर्वदलीय सरकारको विकल्प नभएको बताउने गरेका छन् । उनले भने, “सर्वदलीय सरकार नबनेसम्म स्थायित्व देखिँदैन । त्यतातर्फ सोच्न आवश्यक छ । प्रदेशलाई मध्यावधिबाट टार्नु नै अहिलेको चुनौती हो ।”

त्यसो त माओवादीकै अरु सांसद भने एमाले-माओवादी पुन:मिल्ती असम्भव देख्छन् । “केन्द्रमा एकप्रकारको गठबन्धन छ । त्यसैले प्रदेशमा अर्कोखाले गठबन्धन बन्न सम्भव नै छैन । यो मिल्दैन पनि, हुँदैन पनि,” माओवादीका एक सांसद नेपालभ्यूजसँग भन्छन् ।

उनी अन्तिम विकल्प भनेको सभामुखको राजीनामा नै भएको बताउँछन् । “भोलि दिउँसोसम्म उहाँले राजीनामा दिनुहुन्छ त्यसपछि यही गठबन्धनको सरकार बन्छ,” उनले भने, “अन्तिम विकल्प नै त्यही देखियो । राप्रपा नमान्ने रे !”

हिक्मत कार्कीले पनि सर्वदलीय सरकार बन्नुपर्नेमा जोड दिँदै आएका छन् । यसअघि उनले कांग्रेसलाई मुख्यमन्त्री दिएरै भएपनि सरकार बनाउन तयार रहेको बताएका थिए । अहिले सबै दलको सहभागितामा सर्वदलीय सरकार बन्नुपर्ने उनले बताएका छन् ।

यद्यपि सभामुख गौतमले भने आफूले राजीनामा नदिने बताइरहेका छन् । सोमबार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न बालुवाटार पुगेका उनले त्यही सुनाएका थिए ।

पुस १० गते प्रचण्डको नेतृत्वमा सङ्घीय सरकार निर्माण भएपछि कोशीमा हिक्मत कार्कीकै नेतृत्वमा सरकार बनेको थियो । पछि माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादीलगायतका दलहरूले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत नपाएर उनी नेतृत्वको सरकार ढलेको थियो । अहिले पुन: मिल्तीको कोसिस भइरहेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved