कोशी प्रदेशको मुख्यमन्त्री को ? माओवादीको पनि दाबी

नेपालभ्युज

कोशी प्रदेशको मुख्यमन्त्री को ? माओवादीको पनि दाबी

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) ले पनि दाबी गरेको छ । माओवादी कोशीका संसदीय दलका नेता इन्द्र आङ्बोले आफ्नो नेतृत्वमा सरकार बन्नुपर्ने बताएका छन् ।

आइतबार बिहान सरकार निर्माणका सन्दर्भमा बालुवाटारमा छलफल भएको थियो । त्यसक्रममा नेताहरूलाई आङ्बोले यस्तो सुनाएका हुन् ।

मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाको पनि दाबी छ । गत साउन ११ गते मात्रै सर्वोच्च अदालतले उनको नियुक्ति बदर गरेको छ । यसपछि प्रदेश प्रमुख परशुराम खापुङले १७ गतेसम्म नेपालको संविधानको धारा १६८ को उपधारा २अनुसारको सरकार बनाउन आह्वान गरिसकेका छन् ।

त्यसो त यसअघि पनि आङ्बोकै नेतृत्वमा सरकार बनाउने गठबन्धनमा सहमति भएको थियो । तर, केन्द्रीय नेताहरूको हस्तक्षेपमा थापाकै नेतृत्वमा सरकार बन्यो । अहिले उनको नियुक्ति खारेज भएको छ । यस्तो अवस्थामा अर्को सरकार माओवादी नेतृत्वमा बन्नुपर्ने कोशीका एक माओवादी सांसद बताउँछन् ।

“उहाँ (उद्धव थापा) को नियुक्त खारेज भएपछि अबको सरकारचाहिँ माओवादीको नेतृत्वमा बन्नुपर्छ,” उनले भने ।

गठबन्धनसँग सरकार निर्माणका लागि आवश्यक सांसद सङ्ख्या छैन । यस्तो अवस्थामा उसले माओवादीबाटै सभामुख बनेका बाबुराम गौतमलाई राजीनामा गराउने गठबन्धनको तयारी छ । उनले राजीनामा बुझाएर सांसदकै हैसियतमा रहँदा गठबन्धनसँग ४७ पुग्छ, जुन ९३ सदस्यीय प्रदेश सभामा सरकार गठन गर्न सकिने सांसद सङ्ख्या हो ।

कोशी कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राई कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताउँछन् । “सभामुखलाई राजीनामा गराएर हाम्रै नेतृत्वमा सरकार बन्छ, हामी त्यो दिशामा अगाडि बढिसकेका छौँ, उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved