कोशीमा कामचलाउ सरकार कुन ? वेबसाइटमा थापा नै मुख्यमन्त्री, कार्कीको निवासमा सेना

कांग्रेस संसदीय दलका नेता उद्धव थापा २२ दिनमै बिहीबार पदमुक्त भएपछि सरकारविहीन भएको कोसी प्रदेशमा कामचलाउ सरकार कुन भन्ने प्रश्न उठेको छ। कामचलाउ सरकारलाई लिएर अन्योल देखिएको हो।

नेपालभ्युज

कोशीमा कामचलाउ सरकार कुन ? वेबसाइटमा थापा नै मुख्यमन्त्री, कार्कीको निवासमा सेना

काठमाडौं। सर्वोच्च अदालतको आदेशसँगै कोशी प्रदेश सरकारविहीन भएको छ। नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा २२ दिनमै बिहीबार पदमुक्त भएपछि प्रदेशमा कामचलाउ सरकार कुन भन्ने प्रश्न उठेको छ।

सरकार निर्माणमा सभामुख बाबुराम गौतमको हस्ताक्षरलाई सर्वोच्च अदालतले अवैधानिक ठहर गरेसँगै थापाको सरकारको वैधानिकता सकिएको थियो । सर्वोच्चले थापा नेतृत्वको सरकारलाई अवैध भने पनि कामचलाउ सरकारबारे केही भनेको छैन ।

प्रदेश प्रमुख परशुराम खापुङले शुक्रबार नयाँ सरकार गठनका लागि आह्वान गर्दा पनि कामचलाउ सरकार नतोकेपछि अहिले अन्योल भएको हो।

केही कानुनविद् भने सर्वोच्चको आदेशले प्रदेश सरकार असार १७ मै पुगेकाले प्रदेश प्रमुख खापुङले तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई कामचलाउ तोक्नुपर्ने बताउँछन्।

सर्वोच्चको आदेशपछि प्रदेशमा कामचलाउ सरकारको मुख्यमन्त्री तोक्ने काम प्रदेश प्रमुखको भए पनि अहिललेसम्म खापुङ मौन छन् ।

तत्कालीन मुख्यमन्त्री कार्की शुक्रबार काठमाडौंबाट विराटनगर जाँदा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले झन्डासहितको गाडी नपठाएपछि उनी प्रदेश उपसभामुखको गाडीमा निवाससम्म गएका थिए।

कोशी सरकारका प्रमुख सचिव दीपक काफ्ले पनि कामचलाउ मुख्यमन्त्री को हो भन्ने बताउन चाहँदैनन्। उक्त कार्यालयको वेबसाइटमा मुख्यमन्त्रीमा उद्धव थापा नै छन्। प्रदेश प्रमुख खापुङले भने फैसलाको पूर्ण पाठ आई नसकेको भन्दै त्यस विषयमा प्रक्रिया अघि बढाएका छैनन्।

एमाले कोशी प्रदेशसभाका प्रमुख सचेतक रेवती रमण भण्डारी सर्वोच्चको आदेशले जुन बिन्दुबाट संविधानको प्रयोग र पालनामा त्रुटि भएको हो, सोही अवस्थाबाट संविधानसम्मत तवरले प्रक्रिया अगाडि बढाउनुपर्ने तर्क गर्छन्।

एमाले संसदीय दलका नेतासमेत रहेका कार्कीको विराटनगर–३ पीपलचोकस्थित निवासमा शुक्रबार ४ बजेदेखि जमदारको नेतृत्वमा रहेको सेनाको टुकडीले सुरक्षा दिन थालेको छ। कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी कार्कीलाई नै दिइने तयारी स्वरूप सेनाको टोलीले सुरक्षा दिन थालेको अनुमान पनि कतिपयको छ ।

प्रदेश प्रमुख खापुङले मुख्यमन्त्री पदमा दाबी पेस गर्न साउन १६ गते अपराह्न ५ बजेसम्मका लागि समय दिएका छन्।

साउन १७ भित्र संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभाको बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नु भन्ने परमादेश जारी भएकाले सोही आधारमा सरकार गठनका लागि आह्वान गरिएको विज्ञप्तिमा उल्लेख छ ।

नयाँ सरकार गठन गर्ने कसरतमा छलफल

कोशी प्रदेशमा देखिएको राजनीतिक संकट समाधानबारे सत्तारुढ दल माओवादी र कांग्रेसका शीर्ष नेताबीच छलफल भएको छ। सर्वोच्चको आदेशसँगै कांग्रेसका मुख्यमन्त्री थापा पदमुक्त भएपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा शनिबार बिहान गठबन्धनमा छलफल भएको हो।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापतिसमेत रहेका उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा र नेता कृष्णप्रसाद सिटौला छलफलमा सहभागी थिए ।

फाइल तस्वीर

अहिलेको राजनीतिक समीकरणमा कसैको सरकार गठन हुने अवस्था देखिँदैन । यस्तो अवस्थामा राप्रपालाई विश्वासमा लिन कांग्रेस–माओवादीको प्रयास जारी छ।

राप्रपालाई विश्वासमा लिने, सभामुख बाबुराम गौतमले राजीनामा दिनेलगायतका विकल्पमा पनि शीर्ष नेताबीच छलफल भएको छ।

एमालेका नेता हिक्मतकुमार कार्कीले असार १५ को प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त गर्न नसकेपछि अर्को सरकार बनेको थियो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved