नेपालबाट तस्करी गरेर किन भारत पुर्‍याइन्छ सुन ?

भारतमा धेरैजसो युएई, हङकङ र सिंगापुरबाट सुन तस्करी गरेर लगिन्छ। ट्रान्जिटको रूपमा नेपाल र बङ्गलादेश प्रयोग हुँदै आएका छन् । यूएई लगायतका केही देशमा सुनको खरिद जति पनि गर्न र संसारमा जहाँ पनि लैजान छुट छ। त्यहाँ कर नलाग्ने भएकाले सुन सस्तो पनि छ।

नेपालबाट तस्करी गरेर किन भारत पुर्‍याइन्छ सुन ?

काठमाडौं।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार मध्याह्न ‘रेडी ट्रेड’को आएको सामान लिन एकजना व्यक्ति गए। ८ बाक्सा सामान ३० असारमा हङकङबाट आएको थियो। हङकङको राष्ट्रिय ध्वजावाहक वायुसेवा कम्पनी क्याथे प्यासिफिक एयरवेजबाट काठमाडौं आएको जहाजमा सामान ल्याइएको थियो।

जहाजको कार्गाेमार्फत अटो पार्टपुर्जा भन्दै सामान आएकाले मंगलबार सामान लिन ती व्यक्ति विमानस्थलस्थित भन्सारमा गएका थिए। सामानको साथमा स्कुटर र बाइकको ब्रेकमा प्रयोग हुने ‘ब्रेक शु’ र दाह्री काट्ने रेजर रहेको बिल थियो।

विमानस्थलको भन्सार र सुरक्षा जाँच सहजै पार भइसकेको थियो। सामान लिन जानेले सोहीअनुसार भन्सार शुल्क बुझाएर निस्फिक्री बाहिरिए। त्यतिबेला दिउँसोको २ बजिसकेको थियो।

ती व्यक्ति विमानस्थलबाहिर रहेको ट्याक्सी समातेर बाटो लागे। उनी सिनामंगल हुँदै कतै जाँदै थिए। सिनामंगल पुगेपछि उनी चढेको ट्याक्सीलाई राजश्व अनुसन्धान विभागका कर्मचारीले रोके। र, ट्याक्सीमा रहेका ८ बाक्सा सामान नियन्त्रणमा लिए। ट्याक्सीमा रहेका मानिस र चालकलाई पनि नियन्त्रणमा लिइयो।

जोखियो सुन, ‘ब्रेक शु’सहितको तौल १५५ किलो

विमानस्थलको भन्सारमा ती सामानलाई मोटरसाइकल/स्कुटरको ‘ब्रेक शु’ तथा दाह्री काट्ने रेजर भनिए पनि त्यति मात्रै सामान भने थिएन। त्यो हङकङबाट तस्करी गरेर ल्याइएको सुन थियो।

कुनै बेला कुख्यात ‘बिकिनी किलर’ चार्ल्स शोभराजले भनेका थिए , ‘नेपालका विमानस्थलबाट हात्ती पनि सजिलै छिराइदिन्छु।’ विमानस्थलबाट सहजै भन्सार जाँचपास भएर सुन बाहिरिएपछि उनको भनाइ अहिले चर्चामा छ ।

०००

मंगलबार विमानस्थलबाट ठूलो परिमाणमा कार्गोमार्फत सुन आउँदै गरेको सुराक राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाले पाइसकेका थिए।

विभाग अन्तर्गतको इन्टेलिजेन्सले महानिर्देशक ढुङ्गानालाई सूचना दिएको थियो। सूचनापछि महानिर्देशक ढुङ्गानाले तस्करीको सुनलाई जसरी पनि रोक्न चाहन्थे। उनले विभागका कर्मचारीलाई सुन अप्रेसनमा खटाए। नभन्दै हङकङबाट आएको कार्गो सहजै बाहिरियो।

विमानस्थलबाट बा.२ ज २३२४ ट्याक्सीमा सुन हालेर बाहिरिएका ती व्यक्तिलाई पछ्याइरहेका विभागको कर्मचारीले सिनामंगलबाट नियन्त्रणमा लिए। सुन बोक्ने व्यक्ति थिए– रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल।

सुन बरामद प्रकरण : भाग्न लागेका चिनियाँ नागरिक विमानस्थलबाटै पक्राउ

ट्याक्सी चालक उनीहरूकै गिरोहकै हो वा अरू नै हो खुल्न बाँकी छ। दिलीप भुजेल पक्राउपछि राजश्व अनुसन्धान विभागका कर्मचारीलाई दिएको बयानअनुसार रामकुमार भुजेल पक्राउ परे। रामकुमार दिलीपका मामा हुन्।

‘मैले दिलीप मामाले भनेअनुसार सो सामान पास गराएको हुँ,’ रामकुमारले बयानमा भनेका छन्। भन्सार एजेन्ट राजेन्द्र राईलाई पनि अनुसन्धानको लागि पक्राउ गरिएको छ।

०००

मंगलबार साँझ नै सुन बरामद भए पनि गोप्य राखेर बुधबार दिनभरि विभागले तस्करीमा संलग्न खोज्नको लागि अप्रेसन चलायो। रामकुमारको बयानबाट सुन तस्करीमा जालो ठूलै व्यापारीसम्म पुग्न सक्ने विभागका अधिकारीको आशा छ।

अनुसन्धानमै खटिएका अधिकृतहरूका अनुसार पछिल्लो दुई महिनामा मात्रै यही गिरोहले कम्तीमा २ दर्जन बढीपटक सुन यसैगरी ल्याइसकेको छ। धेरै तस्करी भए पनि फाट्टफुट्ट कहिलेकाहीँ समातिन्छन्। तर, सुन ल्याउने गिरोहका मुख्य लगानीकर्ता वा नाइके को हो पत्ता लाग्न मुस्किल हुन्छ। त्यसमा पनि भरिया मात्रै पक्राउ पर्छन्।

सुन प्रकरण : विमानस्थल भन्सारका दुई कर्मचारी र एक एजेन्ट निलम्बित

तस्करले बयान दिँदै आएका छन्, ‘‘हामीले हाम्रो मेन बोस देख्न पाउँदैनौँ। धेरै तलका मानिसले हामीलाई काम लगाउँछन्। उसलाई मात्रै चिन्छौँ।’’

कसरी पास भयो भन्सारबाट ?

विभागका अनुसार रेडी ट्रेड प्रालीले बाइक तथा स्कुटरको एक सय ६० सेट ‘ब्रेक शु’ आठवटा प्याकेटमा ल्याएको थियो। त्यसको वजन बिहीबार जोख्दा एक सय ५५ किलो रहेको पाइयो। राजश्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीका अनुसार ब्रेक शुको ३२० वटा पिसमा सुन लुकाइएको भेटियो।

उनले भने, ‘‘सुन बरामद भएको छ। केही मानिस पक्राउ परेका छन्। मुख्य तस्करसम्म अनुसन्धान पुग्दै छ। अनुसन्धानबाट तस्करी गर्ने गिरोहबारे धेरै कुरा थाहा हुँदै जालान्। अहिले धेरै कुरा पत्ता लगाउनै बाँकी छ।’’

विमानस्थलमा अझै सय किलो सुन लुकाएको हुनसक्ने शंका

भन्सार विभागमा महानिर्देशक शोभाकान्त पौडेलले भने, “सुन एक्सरे मेसिनमा नदेखिएको हो कि वा कर्मचारीको संलग्नता छ भन्नेबारे अनुसन्धान भइरहेको छ।”

एक्सरे मेसिनले सुन देखाउँदा देखाउँदै छोडेको भए कर्मचारीको संलग्नता हुने उनले बताए। त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयका प्रवक्ता तथा प्रमुख भन्सार अधिकृत अम्बिकाप्रसाद खनालले भने सीसीटीभी क्यामेराको फुटेज र एक्सरे रिपोर्टको प्रारम्भिक अध्ययन गर्ने क्रममा रहेको बताए।

तस्करी गरेर यसकारण भारत लगिन्छ सुन ?

बारम्बार ठूलो परिणाममा तस्करीका सुन बरामद भइरहन्छन्। किनकि, यूएई, हङकङ वा सिंगापुरबाट नेपाल हुँदै भारतमा सुन पुर्‍याउन सकिएमा धेरै नाफा हुन्छ। त्यसैले, तस्करले यो काम गरिरहेको विभिन्न रिर्पाेटले देखाउँछ।

अरू देशबाट सुन किनेर भारतमा लैजाँदा १८ प्रतिशतसम्म कर तिर्नुपर्छ। १५ प्रतिशत आयात शुल्क र ३ प्रतिशत आईजीएसटी (१८ प्रतिशत) शुल्क तिर्नुपर्दा महँगो पर्न जान्छ। यसैले, बढी नाफा कमाउने उद्देश्यले तस्करले यो उपाय अपनाउँदै आएका छन्।

भारतमा धेरैजसो यूएई, हङकङ र सिंगापुरबाट सुन तस्करी गरेर लगिन्छ। ट्रान्जिटको रूपमा नेपाल र बङ्गलादेश प्रयोग हुँदै आएका छन् । यूएई लगायतका केही देशमा सुनको खरिद जति पनि गर्न र संसारमा जहाँ पनि लैजान छुट छ। त्यहाँ कर नलाग्ने भएकाले सुन सस्तो पनि छ। र, यही कारण त्यहाँबाट तस्करले सुन किनेर नेपाल हुँदै भारत लैजाने गरिएको प्रहरी अनुसन्धानले देखाएको छ । तस्करीको थोरै मात्रामा सुन नेपालमा खपत भइरहेको छ।

कडा सुरक्षाकाबीच जोख्न लगिँदै ८ पोका सुन, हेर्नुहोस् पाँच फोटोमा

४ साउनमा (आज) दुबईमा प्रति १० ग्राम सुनको भाउ २३४० एईडी (दिराम) छ। त्यो भनेको ८३ हजार भन्दा केही बढि हो । नेपालमा सुनको भाउ आज प्रति १० ग्राम ९७ हजार ३९५ रुपैयाँ छ । यसरी तस्करले नेपालमै सुन बेच्दा पनि प्रति १० ग्राम १४ हजार भन्दा बढि नाफा कमाउँछन्। यसरी हेर्दा १ किलो सुनमा १४ लाख भन्दा बढी फाइदा नेपालमै बिक्री गर्दा पनि हुन्छ ।

तर, नेपालमा सुनको ठूलो बजार छैन । तस्करले ल्याउने सुन ठूलो परिमाणको हुने भएकाले बजारका लागि भारत नै पुर्‍याउनुपर्ने बाध्यता छ । दुई देशको आधिकारिक बजारमा सुनको भाउमा धेरै ठूलो अन्तर नभए पनि, भारतमा दुई नम्बरी गरेर पैसा कमाएकाले तस्करीको सुन किन्न चाहन्छन् । त्यसको कारण आफ्नो कमाइको पोल खुल्ने डर हुँदैन । र उनीहरूले बजार भाउभन्दा बढी रकम दिएर सुन किन्छन् । जसको प्रत्यक्ष फाइदा तस्करलाई हुन्छ ।

ठूलो परिमाणमा पनि किन्ने र आधिकारिक बजारमा पनि बिक्री गर्नु नपर्ने भएकाले तस्करले सुन भारत पुर्‍याउने गरेका छन् । तस्करी गरेर नेपाल आएकोमध्ये ९० प्रतिशतभन्दा बढी भारत पुग्ने गरेको अनुसन्धानमा पाइएको छ ।

सुन तस्करी : पौडेलको नेतृत्वमा बन्यो छानबिन समिति, पाँच दिनभित्र प्रतिवेदन बुझाउने

भारतमा वर्षेनि ३४० टन सुन तस्करी हुने गरेको विभिन्न तथ्याङकले देखाउँछ। ज्वेलरी व्यवसायीका अनुसार भारतमा वर्षेनि ७२० टन सुन पुग्छ । जसमध्ये ३८० टन पहेँलो धातु कानुनीरूपमा १५ प्रतिशत आयात शुल्क र ३ प्रतिशत आईजीएसटी (१८ प्रतिशत) तिरेर पुग्ने गरेको छ । बाँकी ३ सय ४० टन सुन यसरी नै तस्करी हुने गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved