आलेख

के तपाईंको कम्पनीको भारत–रणनीति छ ?

भारतमा भएको वा आउन चाहने कुनै पनि बहुराष्ट्रिय कम्पनीले यो शहरी विकासलाई बेवास्ता गर्न सक्दैन। यस्तो संख्यालाई अरु देशसँग तुलना गर्नु राम्रै होला । ब्रुकिङ्स परियोजनाको एक प्रतिवेदनअनुसार सन् २०१५ र २०२२ बीच विश्वमा १ अर्ब ६ करोड मानिस मध्यम वर्गमा प्रवेश गरेका छन् । यसमा भारतको योगदान ३८ करोड अर्थात् झन्डै एकतिहाइ छ ।

के तपाईंको कम्पनीको भारत–रणनीति छ ?

आर्थिक वर्ष २०२२ को अन्त्यमा युरोपेली उपभोक्ता उत्पादनहरूको विशालकाय कम्पनी युनिलिभर पीएलसीको बजारमूल्यसँग किताबी मूल्य अनुपात (पी-बी अनुपात ) ६ थियो । ठीक त्यही समयमा कम्पनीको भारतीय सहायक कम्पनी हिस्दुस्तान युनिलिभरको ठीक दोब्बर १२ थियो।

यो भिन्नताको कारण भारतीय सहायक कम्पनी सानो र भर्खरैको भएर हैन। बरु ठीक विपरीत भारतीय सहायक कम्पनी ७६ अर्ब डलर बजार–पुँजी भएको ९० वर्ष पुरानो कम्पनी हो । तर, यो दुर्लभ उदाहरण भने हैन।

नेस्ले साउद एसिया स्विट्जरल्यान्डमा आधारित विश्वको सबैभन्दा ठूलो खाद्य तथा पेय कम्पनी हो। स्विट्जरल्यान्डमा यसको पी-बी अनुपात ६ अंक नै छ । जबकि, भारतमा यसको सहायक कम्पनीको ८२ छ । थ्रिएम यूएसएको पी-बी अनुपात ४.२ छ भने भारतमा यसको सहायक कम्पनीको १२.७ छ ।

जर्मनीमा अभिभावकत्व भएको विश्वव्यापी रसायन कम्पनी बीएएसएफको पी‍-बी अनुपात १ छ भने यसको भारतीय सहायक कम्पनीको ४ छ । जर्मनीकै एक ठूलो औधोगिक नेता सिमेन्सको पी‍-बी अनुपात २ छ भने भारतमा यसको सहायक कम्पनीको १० छ ।

यी भिन्नता यति व्यापक हुन् कि, मूल कम्पनीभन्दा भारतमा भएका तिनका सहायक कम्पनीहरू एकल मूल्यांकन आधार र कतिपय अवस्थामा मूल्यवान् हुन्छन् । मूल कम्पनीहरू र तीनका भारतमा भएका सहायक कम्पनीहरूको पी‍-बी अनुपातमा किन यति धेरै ठूलो दूरी छ त ?

किनकी, भारतीय फर्महरूसँग राम्रो वृद्धि सम्भावना, उच्च मुनाफा दर र सम्पत्तिको अधिक कुशल उपयोग हुन्छ । मूल कम्पनी भने आफ्नै आन्तरिक बजारमा सुस्त हुन्छन् । त्यसैले, बहुराष्ट्रिय कम्पनीहरूसँग भारत–रणनीति हुनै पर्छ । नत्र तिनले आजको विश्वको सबैभन्दा आशाजनक बजार अवसरमध्ये एकलाई गुमाउनुपर्नेछ ।

पी‍-बी अनुपातले कुनै कम्पनीको सम्पत्तिलाई बजारले कतिसम्म मूल्य लगाउँछ भन्ने व्यक्त गर्दछ । यसलाई मापन गर्ने मुख्य तीनवटा औजार हुन्छन् ।

एक–राम्रो वृद्धिको सम्भावना, जसलाई आमदानी वृद्धिद्वारा मापन गरिन्छ । दुई– अधिक मुनाफाजन्य सञ्चालन जसलाई बिक्री र नाफा अनुपातद्वारा मापन गरिन्छ । र तीन–सम्पतिको अधिक कुशल उपयोग जसलाई बिक्री–सम्पति अनुपातबाट मापन गरिन्छ । यी अनुपात उच्च हुँदा पुँजी लागत भने कम हुनुपर्दछ । तर, न्यून पुँजी लागत भारतीय सहायक कम्पनीहरूको पी‍-बी अनुपात उच्च हुनुको कारण हुन सक्दैन ।

कम्पनीहरूको पुँजी लागत देशहरूको सार्वभौम मूल्यांकनद्वारा सीमित हुन्छ । भारतमा क्रेडिट रेटिङ गुणस्तर ( बीबीबी ) अमेरिका, जर्मनी र स्वीट्जरल्यान्डको ‘एएए रेटिङ’ भन्दा धेरै कम छ । जी–७ मुलुकमा भएका मूल कम्पनीको भन्दा भारतमा भएका सहायक कम्पनीहरूको पुँजीगत लागत कम हुन्छ । तसर्थ, यी कम्पनीहरूको उच्च पी‍-बी अनुपात राम्रो मुनाफा र बृद्धिको संभावनासँग सम्बन्धित हुनुपर्दछ।

पछिल्ला ५ वर्षमा युनिलिवर भारतको चक्रवृत्ति वार्षिक वृद्धिदर ( सीएजीआर ) ९.६ प्रतिशत थियो, जुन युनिलिभर मूल कम्पनीको २.२ प्रतिशतभन्दा ४ गुणा छिटो हो । यो कुरा स्मरणीय छ कि मूल कम्पनीको वृद्धि दरमा भारतीय सहायक कम्पनीहरूको वृद्धिसमेत समावेश हुन्छ, अन्यथा त्यो झनै कम हुन सक्दछ ।

फेरि नाफाकै कुरा गर्दा भारतीय सहायक कम्पनीको सम्पतिसंग मुनाफ फिर्ता अनुपात ११% प्रतिशत हुँदा मूल कम्पनीको ८% मात्र छ । अझ आश्चर्यजनक कुरा भारतीय सहायकको मुनाफा दर १७ % हुँदा मूल कम्पनीको १३ प्रतिशत मात्र छ । यो अचम्मको कुरा हो किनकी, युनिलिभरका उत्पादन भारतीय बजारमा सस्तो छन । किनभने यहाँ लक्षित बजारखण्डको क्रय क्षमता पनि कम छ ।

उच्च मुनाफा उच्च बजार एकाग्रता र मूल्य निर्धारण शक्तिको कारणले भएको हुन सक्दछ । तर, कोलगेटजस्ता अन्य बहुराष्ट्रिय कम्पनी, पताञ्जली आयुर्वेदजस्ता नविन स्थानीय प्रतिस्पर्धी र बजारमा उपलब्ध अन्य धेरै सस्ता अनौपचारिक विकल्पहरूको कारण त्यो त्यति धेरै सम्भव हुँदैन । तर, पनि उच्च मुनाफा दर सम्भव छ किनकि, भारतमा उत्पादन र वितरणको लागत नै कम छ । यथार्थ कुरा यो हो ।

यस्तै, कथा अन्य बहुराष्ट्रिय कम्पनीहरूको पनि छ । नेस्ले इन्डियाले १४.२ % ले मुनाफा कमाएको छ जबकी यसको मूल कम्पनीको मुनाफा दर ९.८ % प्रतिशत छ । यसको बिक्री–सम्पति अनुपात १९६% हुँदा मूल कम्पनीको सोही अनुपात ६९% मात्र छ ।

सिमेन्स इन्डियाको मुनाफा दर मूल कम्पनीको मुनाफा दर ४.८% हुँदा १०.६ प्रतिशत थियो । मूल कम्पनीको बिक्री–सम्पति अनुपात ५१% हुँदा यसको ९१% थियो ।
यी तथ्यले देखाउँछन कि करिब सबै मोर्चामा, अर्थात् बजार बृद्धि, लाभदायकता र सम्पति उपयोगमा बहुराष्ट्रिय कम्पनीहरूका लागि भारतीय बजारले घरेलु बजारमा भन्दा बढी आकर्षक संभावना प्रदान गर्दछ ।

बढ्दो भारतीय बजार

भारत यतिखेर तीव्र वृद्धि भइरहेको शहरिया मध्यमवर्गीय उपभोक्ता बजार खण्डको मज्जा लिइरहेको छ। विश्व आर्थिक मञ्चले यसलाई राम्रो संक्षेपीकरण गर्दछ– ‘सांख्यिक मापनका हिसाबले २१औं शताब्दिको सबैभन्दा ठूलो शहरी रूपान्तरण भारतमा भइरहेको छ ।’ भारतमा मध्यम वर्गको अंश सन् २००५ मा १४% थियो, सन् २०२१ मा ३१ % पुग्यो । र सन् २०४७ मा ६३% पुग्ने अपेक्षा गरिएको छ । फ्रस्ट एन्ड सुलिभान अनुमानहरू पनि ठीक यस्तै छन् । यसले भारतमा गरिब मानिसको संख्या घट्दै र धनीको बढ्दै गएको देखाउँछ । सन् २०१९ मा २८.५ प्रतिशत रहेको मध्यम वर्ग सन् २०३० बाट करिब दोब्बर ५३.८% हुनेछ ।

६ हजार ७०० देखि ४० हजार डलरसम्म कमाउने परिवारलाई भारतमा मध्यम वर्गको परिभाषाभित्र राखिएको छ, जुन सन् २०२० को डलर मापन र क्रयशक्तिमा आधारित हो । अमेरिकामा डलरसँग यसको क्रयशक्ति समानता समायोजन २२ हजार ७०० देखि १ लाख ३६ हजार डलरसम्म हुन्छ । मध्यम वर्गको अनुपातमा आएको सानो परिवर्तन पनि भारतको ठूलो जनसंख्या आकारमा धेरै हुन्छ ।

भारतको जनसंख्या अहिले १ अर्ब ४३ करोड पुगेको छ । यो अमेरिका र युरोपको जम्मा जनसंख्याभन्दा एक्लै दोब्बर हो । अमेरिका र युरोपको जनसंख्या क्रमशः ३३ करोड ४० लाख र ४४ करोड ४७ लाख छ । २८.५ बाट ५३.८ % मा करिब २५% को बृद्धि ३५ करोडभन्दा बढी झण्डै युरोपियन युनियनको जनसंख्याभन्दा बढी हो ।

भारतमा शहरिया मध्यम वर्गको यस प्रकारले वृद्धि हुनुमा तीन तत्वको समिश्रण छ । एक–साना बजारहरूको तीव्र शहरीकरण । दुई– राम्रो रोजगार अवसरको खोजीमा ग्रामीण जनसंख्याको शहरी बसाइँसराइ र तीन– निर्वाहमुखी आयस्तरबाट बढी आम्दानी र महत्त्वाकांक्षी जीवनशैलीको आकांक्षा राख्ने मान्छेको संख्यामा प्रगति ।

१० लाखदेखि २५ लाखसम्म जनसंख्या भएका साना शहर प्रतिवर्ष १०% ले बढ्दै छन् । युवा जनसंख्याको तीव्र वृद्धिलाई ध्यान दिँदै १६ वटालाई ‘तेजी शहर’ को संज्ञा दिइएको छ। ती शहरमा मध्यम वर्गको अंश निरन्तर विस्तार हुँदैछ । मेट्रो शहर मुम्बई, दिल्ली र बैंगलुरुमा १ करोडभन्दा बढी पुगेको जनसंख्या पनि मध्यम वर्गको विस्तार अर्को तरिकाले योगदान गर्दैछ । त्यहाँ धनीहरूको वृद्धिदर वार्षिक १०% भन्दा बढी छ। तिनले फैन्सी कार, विलासी घर किन्न, अन्तर्राष्ट्रिय हटस्पटहरूमा बिदा मनाउन सक्दछन् ।

भारतमा भएको वा आउन चाहने कुनै पनि बहुराष्ट्रिय कम्पनीले यो शहरी विकासलाई बेवास्ता गर्न सक्दैन। यस्तो संख्यालाई अरु देशसँग तुलना गर्नु राम्रै होला । ब्रुकिङ्स परियोजनाको एक प्रतिवेदनअनुसार सन् २०१५ र २०२२ बीच विश्वमा १ अर्ब ६ करोड मानिस मध्यम वर्गमा प्रवेश गरेका छन् । यसमा भारतको योगदान ३८ करोड अर्थात् कुलको झन्डै एकतिहाइ छ । आश्चर्यको कुरा यसमा चीनको योगदान ३५ करोड मात्रै छ । भारतले चीनलाई पनि उछिनेको छ। अरु त कुनै पनि देश यसको आधा संख्यामा पनि छैनन।

चाखलाग्दो कुरा के छ भने सन् २०३० मा अमेरिकी मध्यम वर्गको कुल उपभोग सन् २०११ को क्रयशक्ति क्षमता समायोजनअनुुसार ४.७ ट्रिलियन डलरको हुने अपेक्षा गरिएको छ, जुन सन् २०१५ मा जस्तै हो । मध्यम वर्गको सबैभन्दा अचम्मको र परिणाममुखी उपभोग वृद्धि भने भारतबाट आउँने छ। सन् २०१५ मा यो अमेरिकाको आधा भन्दा कम २.१ ट्रिलियन डलरको थियो भने सन् २०३० मा १०.७ ट्रिलियन डलर अर्थात् अमेरिकाको दोब्बरभन्दा धेरै हुनेछ।

चीनमा भने सबैभन्दा ठूलो आकारको मध्यम वर्ग हुनेछ। चिनियाँ मध्यम वर्गको कुल उपभोग १४.३ ट्रिलियन डलरको हुनेछ । त्यसपछिको अर्को मध्यम वर्गको वृद्धि केन्द्र इन्डोनेसिया हुने छ जुन चीन, भारत र अमेरिकापछिको चौथौं ठूलो मध्यम वर्ग हुनेछ । तर, यसको उपभोग भने २.४ ट्रिलियन मात्र हुनेछ जुन भारतको एक चौथाइ मात्र हो ।

यी तथ्यांक राष्ट्रिय कुल वृद्धिदरसँग पनि मेल खान्छन्। गोल्डम्यान स्यासका अनुसार सन् २०१०–२०१९ को बीचमा भारतको वास्तविक जीडीपी वृद्धि दर ६.९% रह्यो, जुन विश्वका सबै प्रमुख अर्थतन्त्रहरूमा दोस्रो सबैभन्दा छिटो र विकसित देशहरूको भन्दा ३ गुणा बढी हो ।

सन् २०२०–२०२९ को दशकमा भारतको वद्धिदर विश्वकै सबैभन्दा उच्च हुने अपेक्षा गरिएको छ । त्यसपछि क्रमशः चीन, फिलिपिन्स, टर्की र इजिप्ट हुनेछन् । कुनै पनि विकसित देश वृद्धिदरको मामिलामा भारतको आधामा पनि पुग्न सक्ने छैन । सन् २०५० सम्म भारतको वास्तविक जीडीपीले इयुका कच्चा सदस्यसमेत सबैको एकमुष्ठ जीडीपीलाई समेत उछिन्ने छ । क्रयशक्ति समानता समायोजनका दृष्टिकोणले त भारतको जीपीडी ईयूको भन्दा ३ गुणा ठूलो हुनेछ ।

सन् २०७५ सम्म भने चीन, भारत र अमेरिका क्रमशः विश्वका तीन ठूलो अर्थतन्त्र हुने अपेक्षा गरिएको छ । अन्य कुनै पनि देश तीनको नजिक पनि हुने छैनन् । यद्यपि इन्डोनेसिया, पाकिस्तान, नाइजेरिया र इजिप्ट शीर्ष १० भित्र सामेल हुन सक्नेछन् तर, ती प्रत्येक शीर्ष तीनको प्रत्येकका एकतिहाइ भन्दा कममा हुनेछन् ।

बहुराष्ट्रिय कम्पनीहरूका लागि पाठ

भारतको समग्र वृद्धि र मध्यम वर्गको बढ्दो तथ्यांकको प्रकाशमा बहुराष्ट्रिय कम्पनीका भारतीय सहायक कम्पनीहरू आफ्नो विकास अवसरका लागि उच्च मूल्यवान् हुनु अचम्मको कुरा हैन । प्रत्येक बहुराष्ट्रिय कम्पनीसँग अब यसको द्रुतरूपमा बढ्दो मध्यम वर्गबाट फाइदा लिन भारत–रणनीति चाहिन्छ । तिनीहरूको सफलताका लागि निम्न तीन सिफारिस गरिन्छ ।

एक– भारतका लागि महत्त्वपूर्ण स्रोत प्रतिबद्धता गर्नुहोस्। यसका लागि स्थानीयकृत उत्पादन डिजाइन, म्यानुफ्याक्चरिङ र बजारीकरण क्षमता आवश्यक छ ।

दुई–भारतीय संस्कृति, मूल्यमान्यता, प्रयुक्त बानीव्यहोरा, आचरण, चरम गर्मी र वातानुकुलनको अभाव, भाषाहरूको प्रसस्तता र स्थानीय कानुनहरूको बहुलतालाई बुझेर वस्तु तथा सेवाहरू अनुकूलन गर्नुहोस्। एउटै देश भएर पनि भारतमा भाषा र संस्कृतिहरूको भीड छ । ७८० भन्दा बढी भाषा विभिन्न ६६ लिपीहरूमा लेखिन्छन् । आफ्नै लिपी भएका २२ भाषाले आधिकारिक मान्यताप्राप्त गरेका छन्।

तीन–विश्वको सबैभन्दा ठूलो एकीकृत सफ्टवेयर र डिजिटल पूर्वाधार मञ्च ‘इन्डिया स्टैक’ को फाइदा उठाउनुहोस् । ‘इन्डिया स्टैक’ ले भारतको जनसंख्यालाई एक उपस्थितिरहित, कागजरहित, नगदरहित सेवा प्रदायनको डिजिटल युगमा ल्याउने लक्ष्य राख्छ ।

सन् २०१० यताको तथ्यांकमा भन्ने हो भने अमेरिकाको सामाजिक सुरक्षा नम्बरजस्तो व्यक्तिको अद्धितीय पहिचान थिएन तर अब १ अर्ब २० करोड मानिसको डिजिटल पहिचान अभिलेख भइसकेको छ । बायोम्याट्रिसमार्फत् तिनीहरू बैंक खातासँग जोडिएका छन्। एक अनुकूलित–विकसित एकीकृत भुक्तानी अन्तरण अहिले भारतमा व्यापक प्रयोग गरिन्छ । लगभग सबैले स्मार्ट फोन प्रयोग गर्दछन् । त्यसले बैंक खाताबाट पैसा प्राप्त गर्न र भुक्तानी गर्न डिजिटल सम्पर्क दिन्छ ।

भारतमा प्रत्येक मध्यम वर्गीय व्यक्तिले स्मार्टफोनमार्फत् यो बढ्दो ई–कमर्स पूर्वाधार र क्षमताको प्रयोग गर्दछन्। ती फोनहरू इन्टरनेटसँग संसारकै सबैभन्दा सस्तो ब्यान्डविथबाट जोडिएका हुन्छन्। भारतमा डिजिटल प्रविधि प्रयोग गरेर सिर्जना गरिएको रसद, भुक्तानी र वितरण प्रणाली अब पश्चिमाभन्दा धेरै माइल अगाडि छ र यो संसारभरि नै ईष्याको विषय बनेको छ ।

सारांशमा भन्दा बहुराष्ट्रिय कम्पनीहरूका भारतीय सहायक कम्पनीहरूको उच्च पी‍-बी अनुपातले चाँडै नै विश्वको सबैभन्दा ठूलो उपभोक्ता बजार हुने मूल्य बताउँछ । प्रत्येक उपभोक्ता–व्यवसाय कम्पनीले यो कुरामा ध्यान दिन र भारत–रणनीति बनाउनुपर्छ । त्यस्तो रणनीतिमा उच्च मुनाफा र कुशल पुँजी उपयोगका साथ बजारमा प्रवेश गर्ने योजना हुनुपर्दछ ।

यसको महत्त्वपूर्ण पाटो भारतीय बजारका लागि बनाइएका उत्पादन सिर्जना गर्नु, तिनको भारतमै उत्पादन गर्नु, भारतबाटै प्राप्त कच्चा पदार्थ प्रयोग गर्नु, स्थानीय च्यानल र सक्षम डिजिटल पूर्वाधार प्रयोग गरी वितरण गर्नु हो । विकसित देशमा काम गरेका अनुभवको ‘थोक–नक्कल’ भारतमा लागू हुन असम्भव छ ।

(हार्वड बिजनेस रिभ्युबाट अनुदित)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved