के थियो तोसिमा कार्कीको गल्ती ? जसकारण खाइरहेकी छिन् गाली (भिडिओ)

उनले प्रस्टीकरण दिए पनि कतिपय सहमत छैनन्। ‘मृत्युजस्तो संवेदनशील विषयमा अभिव्यक्ति दिँदै हिँड्ने र मिडिया स्टन्टबाजी गरेको’ आरोप उनीमाथि लागेको छ ।

नेपालभ्युज

के थियो तोसिमा कार्कीको गल्ती ? जसकारण खाइरहेकी छिन् गाली (भिडिओ)

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीताको अन्तिम संस्कारको क्रममा रास्वपा सांसद तोसिमा कार्कीले बोलेको विषयलाई लिएर सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ।

श्रद्धाञ्जली दिन पशुपति आर्यघाट पुगेकी उनले सञ्चारमाध्यममा दिएको अभिव्यक्ति सञ्जालमा भाइरल भएपछि सामाजिक संजालमा गालीको वर्षा भइरहेको देखिन्छ।

कतिपयले उनले बोलेको कुरा गलत भएको भन्दै गाली गरिरहेका छन्। कतिपयले तोसीमाको भनाइभन्दा पनि श्रद्धाञ्जली दिन आर्यघाट पुगेर अन्तर्वार्ता दिनु नै गल्ती भएको पनि बताइरहेका छन्।

तोसिमाले भने आफ्नो भनाइको अन्तिम वाक्य काटेर भिडिओ भाइरल गराइएको आरोप लगाएकी छिन्। जसकारण उनले ‘आफूले बोलेकोभन्दा फरक अर्थ लागेको’भन्दै प्रष्टीकरण दिएकी छन्।

प्रस्टीकरण दिए पनि ‘मृत्युजस्तो संवेदनशील विषयमा अभिव्यक्ति दिँदै हिँड्ने र मिडिया स्टन्टबाजी गरेको’ उनीमाथि आरोप लागेको छ ।  अब चर्चा गरौँ उनले बोल्दा के बिगारिन् ? वा नबोल्नुपर्ने के कुरा बोलिन् त ?

 

यस्तो थियो पत्रकारको प्रश्न र तोसिमाको जवाफ

पत्रकार – तपाईँले प्रचण्ड पत्नीको एक खालको प्रशंसा गर्नुभो, प्रचण्ड पनि श्रीमतीका लागि कति लागिपरे भन्ने उदाहरण छ । उहाँ श्रीमतीकै लागि हरेक समय आफ्नो समय त्याग गरिरहनु भएको थियो । यसलाई कसरी लिनुहुन्छ ?

तोसिमा – हरेक व्यक्तिको आफ्नो व्यक्तिगत जीवन हुन्छ, परिवार हुन्छ । त्यो परिवारलाई संरक्षण गर्नुपर्ने, जोगाउनुपर्ने दायित्व हुन्छ । त्यसमाथि पनि प्रधानमन्त्रीज्यूले आफ्नै श्रीमतीका लागि केही गर्न सक्नुभएन, आफ्नै श्रीमतीलाई त समय दिन सक्नुभएन अथवा हेरचाह गर्न सक्नुभएन भने राष्ट्रको लागि के गर्न सक्नुहोला त भन्ने प्रश्नहरू पनि आउन सक्छ । त्यो कारणले सायद मैले (उहाँ) ब्यालेन्स नै तरिकाले लाग्नुभएको भनेर म बुझ्छु ।

अहिले पत्नीयोग (पत्नीवियोग) को दुःखमा पर्नुभएको छ । पुत्रको दुःख पनि भोग्नुभएको छ । त्यो बाबजुद प्रधानमन्त्री जस्तो पदमा बसेर (केही) गर्न खोजिराख्नुभएको छ, त्यसमा अहिले विक्षिप्त भएको अवस्थामा हामी धेरै टीकाटिप्पणी नगरौँ । उहाँलाई साथ नै दिनुपर्छ जनताले । अरू राजनीतिक हिसाबकिताब र राजनीतिक मुद्दाका कुराहरू त छँदैछन्।

अनर्थ लाग्ने गरी आधा मात्र भिडिओ भाइरल

जवाफमा तोसिमाले सारांशमा प्रधानमन्त्रीले निजी जीवन र सार्वजनिक जीवनलाई ब्यालेन्स नै गरेर लगेको बुझेको बताए पनि विपरीत अर्थ लाग्ने गरी भिडिओ भाइरल छ।

उनको पुरा वाक्य नभई काटेर भाइरल गरिएको भिडिओमा ‘श्रीमतीलाई पनि समय दिन र स्याहार्न नसक्ने प्रधानमन्त्रीले राष्ट्रका लागि के गर्न सक्लान्’ भन्ने छुद्र प्रश्न गरेको देखाइएको छ।

अर्थात् ‘त्यो कारणले सायद मैले (उहाँ) ब्यालेन्स नै तरिकाले लाग्नुभएको भनेर म बुझ्छु’ वाक्यांश काटेर सञ्जालमा अपलोड गरिएको छ।

प्रश्न नसुनी उत्तर मात्रै सुन्दा र पुरा जवाफ नसुनी आधा मात्र सुन्दा आपत्तिजनक लाग्छ। पुरा भिडिओ नहेर्दासम्म तोसिमाले शोकमा डुबेका प्रचण्डलाई गाली गरेको भन्ने बुझिन्छ। तर, पत्रकारको प्रश्नसमेत र तोसिमाको पुरा जवाफ सुन्दा ठूलै गल्ती नगरेको कतिपयले टिप्पणी गरेका छन्।

आफ्नो अभिव्यक्तिको चौतर्फी विरोध भएपछि तोसिमाले फेसबुकमार्फत स्पष्टीकरण समेत दिएकी छिन्। उनले फेसबुकमा लेखेकी छन्, ‘मिडियाकर्मी साथीहरूले लिनुभएको बाइटलाई तोडमोड गरी राखिएकोमा, पूरा भिडियो सुन्नु हुन आग्रह गर्न चाहन्छु र साथै तोडमोड गरी राखिएको अभिव्यक्तिले कहीँ कसैको मनोभावनामा चोट पुग्न गएकोमा समेत क्षमा माग्दछु।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved