गण्डकीमा पर्याप्त रासायनिक मल मौज्दात

नेपालभ्युज

गण्डकीमा पर्याप्त रासायनिक मल मौज्दात
सांकेतिक तस्वीर

पोखरा। गण्डकी प्रदेशमा यस किसानलाई आवश्यक रासायनिक मल मौज्दात रहेको छ ।

बर्सेनि धानखेतीको समयमा रासायनिक मलको अभाव झेल्दै आएका गण्डकी प्रदेशका किसानलाई कृषि सामग्री कम्पनी लिमिटेड पोखराले मल अभाव नहुने जानकारी दिएको हो ।

कृषि सामग्री कम्पनी लिमिटेड गण्डकी प्रदेश प्रादेशिक कार्यालय, पोखराका प्रमुख ठाकुरप्रसाद बास्तोलाका अनुसार हाल कम्पनीमा डिएपी २१ टन र युरिया पाँच टन गोदाममा छ । थप मल आउने क्रममा रहेकाले यस वर्ष धानखेतीको समयमा रासायनिक मल अभाव नहुने उनले जानकारी दिए ।

यो वर्ष अहिलेसम्म मलको अभाव नरहेको राष्ट्रिय कृषक समूह महासङ्घ नेपालका केन्द्रीय उपाध्यक्ष चित्रनाथ सापकोटाले जानकारी दिए । धान लगाउने समयमो छिटपुटरुपमा पोटासको अभाव देखिए पनि युरिया र डिएपीको अभाव नरहेको उपाध्यक्ष सापकोटाको भनाइ थियो ।

“तत्काललाई मलको समस्या देखिएको छैन् । अब युरिया मल आवश्यक पर्ने समय आउँदैछ”, उपाध्यक्ष सापकोटाले भने, “युरिया स्टकमा छैन भनेको सुनेको छु तर आधिकारिक सूचना आएको छैन तर, अहिलेसम्मलाई समस्या छैन ।”

गण्डकी प्रदेशमा एक वर्षमा पाँच हजार टन युरिया, तीन हजार टन डिएपी र पाँच सय टन पोटास आवश्यक पर्ने कृषि सामग्री कम्पनी लिमिटेड पोखराका प्रमुख ठाकुरप्रसाद बास्तोलाले जानकारी दिए ।

अहिलेसम्म आएको मलले उपभोक्ताको चित्त बुझाइरहेको प्रमुख बास्तोलाले बताए । उनले भने, “सहकारी संस्था र कृषि सामग्री विक्रेताको माग त ठूलो छ । उहाँहरुको मागअनुसार त पुर्‍याउन सकेको छैन तर चित्त बुझाएको छु ।”

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved