मुकुन्द र वसन्तीले कहाँ बसेर भोग्दै होलान् अन्तरजातीय प्रेमको सजाय ?

समाजमा खै के परिवर्तन गर्यो माओवादी युद्धले ?

जनयुद्धको ठूलो उपलब्धि भन्दै माओवादीले दाबी गर्दैआएको जातीय छुवाछुत र विभेद अन्त्यलाई यो घटनाले ठूलै चुनौती दिएको छ। माओवादीकै बढी प्रभाव रहेका जिल्लामा यस्ता घटना धेरै भइरहेका छन् । 

मुकुन्द र वसन्तीले कहाँ बसेर भोग्दै होलान् अन्तरजातीय प्रेमको सजाय ?

उत्तर र पूर्वमा दुईवटा नागरूपी जुम्ल्याहा डाँडाहरू छन्। तिला र जवा दुई जुम्ल्याहा नदीको संगम छ मनमोहक जुम्लामा। मध्यकालीन युगमा समृद्ध र शक्तिशाली राज्य जुम्ला भौगोलिक रूपमा दुर्गम भए तापनि ऐतिहासिक छ।

यातायात, सञ्चार र आधुनिकीकरणले पछि छ र त जुम्ला तुलनात्मक रूपमा अरू जिल्लाभन्दा गरिब छ। तर, धेरै धनी छ प्राकृतिक सम्पदा र संस्कृतिले। किनकि, सुन्दर चम्किलो हिमाली चुचुरा, तालहरू त्यही छन्। खोला नदीले सिँगारिएको छ, जुम्ला।

त्यही जुम्लामा कर्णालीमा बगेर गएका पानीभन्दा कम छैनन् व्यथाहरू। जसले आँखाहरू टक्क अडिइरहने जुम्लाका मनमोहक सौन्दर्य बिझाउँछन् मनभरि।

त्यहाँका सौन्दर्य तिला, हिमा, जुवा नदी हुन्। विष्णु ताल, हुड्के ताल, जोगिनी ताल आदिले जुम्लालाई चिनाएको छ। ती नदी तथा ताल पवित्र मान्दै पुजिन्छ। तर, त्यही चोखो नदीमा नुहाएर निस्केका कतिपय मानिसलाई ‘अछुत’ भनिँदै छ।

त्यहाँ केही यस्ता सामाजिक प्राणी बस्छन् जसले हालै एक प्रेम जोडीलाई गाउँबाट निकाला गरे। अन्तरजातीय विवाह गरेकै कारण घरमा आगो लगाइयो। गाउँमा फर्कन वञ्चित गराइयो।

कथित माथिल्लो जातका भनिने माइती पक्षको धम्की र सामाजिक बहिस्कारको कारण प्रेमजोडी मुकुन्द नेपाली र वसन्ती गिरी विस्थापित भएका छन्।

घर–सम्पत्ति जलाइयो, ज्यान जोगाउन भागेका जोडी सम्पर्कविहीन

उता मुकुन्द बेपत्ता छन्, यता परिवार विस्थापित र बिचल्लीमा छ। बेखबर मुकुन्द र वसन्तीको पीडासँगै गाँस–बासकै अभावमा परिवार आँसु पिइरहेको छ।

जुम्लाको तातोपानीका एक जोडीको अन्तरजातीय विवाहको अन्तर्कथा समेटिएको ‘घर–सम्पत्ति जलाइयो, ज्यान जोगाउन भागेका जोडी सम्पर्कविहीन’ सामग्रीपछि ‘बेपत्ता उनीहरूको अवस्था कस्तो छ’ होला भन्ने ज्ञिजासासहितको यो अर्को सामग्री।

000

१२ असारमा गाउँबाट भागेका मुकुन्द र वसन्तीको एक साता पुग्दा अत्तोपत्तो छैन। अभिभावक र गाउँलेको डरले भागेर गएका उनीहरू कहाँ छन्, थाहा छैन । उनीहरू भागेको पाँच दिनपछि माइती पक्षले केटाको घरमा आगो लगाए।

गिरीकी छोरीलाई तल्लो जातको भनिने दलितले विवाह गरेको भन्दै माइती पक्षको धम्की र सामाजिक बहिस्कारको कारणले उनीहरू ज्यान जोगाउन भागेका हुन्।

आफ्नो घरमा जान पाएका छैनन्। जानुपर्ने त्यही घर पनि अब त जलिसकेको छ। घर जलाइएपछि मुकुन्दका दाजुसहितको परिवार भाडाको कोठामा बसेर गुजारा चलाइरहेका छन्।

भागेर सम्पर्कविहीन भएका जोडी मुकुन्द नेपाली र वसन्ती गिरी

मुकुन्द र वसन्ती गहिरो मायाप्रेममा थिए। त्यो देखेका आफन्तले छुटाउन खोजेका थिए। किनकी, जात व्यवस्थामा आधारित समाजले अन्तरजातीय प्रेम विवाहलाई स्विकारेन। प्रेम सम्बन्ध नटुटाए अनेक गर्ने धम्की दिइएको थियो।

तर, मुकुन्द र वसन्तीबीचमा गहिरो प्रेम थियो। उनीहरू बीचको प्रेमलाई न त जातले रोक्न सक्यो न वसन्तीको आमाबुवाको धम्कीले र समाजको बहिस्कारको चेतावनीले।

उमेर, धनसम्पत्ति र कुनै कुराले नै प्रभाव पारेन। जब १२ असारमा मुकुन्दले वसन्तीलाई लगे। सँगै मर्ने सँगै बाँच्ने कसम आएका उनीहरूले आफूखुसी बिहे गरे।

तल्लो जातको केटासँग बिहे गरेको भन्दै तत्काल माइती पक्षले वसन्तीलाई खोस्न गए। आफूहरूलाई छुटाउने आउँदै गरेको थाहा पाएपछि उनीहरू भाग्न बाध्य भए।

केटीपक्षका मान्छेहरू केटाको घरमा गए। मुकुन्द र वसन्तीलाई भेटेनन्। नभेटेपछि केटी पक्षले मुकुन्दको परिवारलाई धम्क्याए। कहिले ‘बालविवाहको मुद्दा लगाउने’ भने। कहिले ‘ज्यानै लिने’ भन्दै धम्की दिन थालेको मुकुन्दका दाजु भरत नेपालीको गुनासो छ।

ओछ्यानबाटै लगे माइतीले, केटालाई बेपत्ता पारे !

मुकुन्द र बसन्ती भागेर नेपालगञ्ज पुगेको थाहा पाएको माइती पक्षले बताउँदै आएको छ। माइती पक्षको एक टोली दुवै जनालाई खोज्न उतै पुगेको छ। उनीहरूको बिहेलाई केटीको परिवारले मात्र होइन समाजले पनि मानेको छैन।

‘गाउँको थिति बिगारेको’ भनेर आलोचना गरिरहेका छन्। सजाय स्वरूप घर जलाइएको छ। मुकुन्द र वसन्तीलाई धुइँपत्ता खोजिरहेकाहरूले भेटेमा के सजाय देलान् उनीहरूलाई नै थाहा होला। ‘रुकुम घटना दोहोर्‍याइदिन्छु’ भन्दै घर जलाउने माइती पक्षबाट दलित समुदाय त्रासमा छन्।

मुकुन्द र वसन्ती गाउँ फर्कन सक्ने अवस्था छैन। विवाह गरेकै कारण विस्थापित हुनुपरेका उनीहरूको धेरै कुरा बिग्रिएको छ। सुनौलो भविष्यको लागि उच्च शिक्षा अध्ययनको क्रममा रहेका दुवैको पढाइ पनि बिग्रिएको छ।

घर जलेपछि त्रासमा रहेको मुकुन्दको परिवार चिन्तामा डुबेको छ। मुकुन्दका दाजु भरत भन्छन् ‘‘उनीहरू कहाँ गए होला के खाए होलान् ? सुरक्षित छन् कि कसैले केही गर्‍याे होला, उनीहरूको चिन्ताले भोक निन्द्रा छैन।’’

आफूहरूले खोजखबर गरिरहे पनि केही पत्तो नलागेको दाजु भरत बताउँछन्।

तातोपानी गाउँपालिका ३ का वडाध्यक्ष अमर बहादुर रोकाया पनि समाजबाट उनीहरूविरुद्ध अमानवीय हर्कत भएकाले पुनर्स्थापना हुनैपर्ने बताउँछन्।

उनी भन्छन् ‘‘कुनै पनि नागरिकले स्वतन्त्र बाच्न पाउनुपर्ने हक छ। तर, आज मुकुन्द र वसन्ती बेपत्ता छन्। हालचाल के कसो छ थाहा छैन। चिन्ताको विषय हो। उनीहरूलाई खोजी गरेर पुनर्स्थापनको वातावरण तयार गर्नुपर्छ।’’

क्रान्तिको थलोमै कुप्रथा

१ फागुन २०५२ मा तत्कालीन नेकपा (माओवादी) ले सुरु गरेको सशस्त्र क्रान्तिबाट बढी प्रभावितमध्ये जुम्ला पनि एक हो । जुम्ला, हुम्ला, कालीकोटमा माओवादीले  हेडक्वाटर नै चलाएको थियो।

असमानता, अन्त्याय, विभेदविरुद्धको क्रान्ति गरिएको भनिएपछि जुम्ला र आसपासका जिल्ला थर्किए। जातीय छुवाछुत र विभेदमा पिल्सिएका हजारौँ जुम्ली क्रान्तिमा होमिए। हँसिया हथौडा अंकित रातो झन्डा टाउकोमा बाँधेर परिवर्तनको बिगुल फुक्दै हिँडे। धेरैजनाले ज्यान दिए। कैयौँ अङ्गभङ्ग बने।

अन्तरजातीय प्रेमको सजाय : जंगलमा यसरी बित्यो चन्द्रे कामीको ७ दिन

त्यसको प्रभाव स्वरूप मुलुकमा व्यवस्था परिवर्तन भयो, गाउँ समाज रूपान्तरण भयो भनियो। तर, त्यसको प्रत्याभूति दलित समुदायले गर्न पाएनन्। उदाहरणै काफी छ ‘अन्तरजातीय विवाह गर्दा घरै जलाइदिएको घटना।’

जनयुद्धको ठूलो उपलब्धि भन्दै माओवादीले दाबी गर्दैआएको जातीय छुवाछुत र विभेद अन्त्यलाई यो घटनाले ठूलै चुनौती दिएको छ। माओवादीकै बढी प्रभाव रहेका जिल्लामा यस्ता घटना धेरै भइरहेका छन् ।

त्यही जनयुद्धका सर्वोच्च कमाण्डर पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा अहिले मुलुक चलिरहेको छ । यसअघि पनि उनले पटक-पटक देश चलाए तर, जातीय विभेद अन्त्यका लागि पहल गरेको कसैले थाहा पाएका छैनन् । प्रचण्डले न त युद्धको नेतृत्व गरेर विभेद हटाउन सके न त सरकारको नेतृत्व गरेर ।

जात व्यवस्थासँग जुध्दा हार्नेहरू

अन्तरजातीय प्रेमकै कारण धेरैले सजाय पाएका छन्। यस्ता घटनाको सूची छोटो छैन। ‘आफूसँग नमिल्ने जातसँग’ बिहे गरेको भन्दै मान्छेहरू कतिसम्म क्रूर र हिंस्रक बन्दै घटना गराएका छन् धेरै घटनाहरू त्यसका साक्षी छन्।

अन्तरजातीय प्रेमकै कारण रुकुमको चौरजहारीका नवराज विकसहितलाई भेरी नदीमा बगाइएको घटना ताजै छ।

अन्तरजातीय विवाह गरेको कारण बेपत्ता हुम्ला सुर्केगाडका १८ वर्षीय चन्द्रे कामी आठ दिनपछि भेटिएका थिए।

प्रेम विवाह गरेका चन्द्रे र उनकी प्रेमिकालाई केटी पक्षले २९ मंसिरमा घरबाटै लगेर जङ्गलमा छाडेका थिए। पछि उनको जोडीलाई समाजले छुटाए।

अन्तरजातीय प्रेम गरेकै कारण काभ्रेका अजित मिजारले ज्यान नै गयो। उनको शव सात वर्षयता शिक्षण अस्पतालमा छ। न्याय कुरिरहेको अजितको शवले कहिले न्याय पाउला थाहा छैन।

कतिपय ठाउँमा अन्तरजातीय प्रेम जोडीले पासो लगाएर आत्महत्या गरेका खबर आइरहन्छन्।

रुकुम नरसंहारको दुई वर्ष : पीडितले अझै पाएनन् न्याय


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved