नवराज विकसहित सामूहिक हत्याकाण्ड

रुकुम नरसंहारको दुई वर्ष : पीडितले अझै पाएनन् न्याय

अन्तरजातीय प्रेम सम्बन्धका कारण जाजरकोटका नवराज विक र उनका अन्य पाँच जना साथीको रुकुमको सोतीमा हत्या भएको दुई वर्ष पुरा भएको छ। १० जेठ २०७७ मा रुकुम पश्चिमको चौरजहारी सोती गाउँमा भएको हत्याकाण्डका पीडितले भने अझै न्याय पाउन सकेका छैनन्।

नेपालभ्युज

रुकुम नरसंहारको दुई वर्ष : पीडितले अझै पाएनन् न्याय

काठमाडौं। अन्तरजातीय प्रेम सम्बन्धका कारण जाजरकोटका नवराज विक र उनका अन्य पाँच जना साथीको रुकुमको सोतीमा हत्या भएको दुई वर्ष पुरा भएको छ। १० जेठ २०७७ मा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा भएको हत्याकाण्ड दुई वर्ष वितेपनि पीडितले अझै न्याय पाउन सकेका छैनन्।

रुकुमजस्तो निकै कम मुद्दाको चाप हुने अदालतमा समेत दुई वर्ष पुगिसक्दा यो मुद्दा टुङ्गिएको छैन। दुई वर्षसम्म पनि मुद्दा किनारा नलाग्दा सीमान्तकृत समुदायले न्याय पाउन कठिन भन्ने देखिएको छ।

आफूभन्दा माथिल्लो जातकी युवतीसँग प्रेम गरेका भन्दै जाजरकोटका नवराज विक र उनका अन्य पाँच जना साथीहरूलाई लखेटी–लखेटी हत्या गरिएको थियो। हातखुट्टा बाँधेर भेरी नदीमा फालिएको थियो।

जाजरकोटका नवराज विक आफ्नी प्रेमिकालाई लिन १० जेठमा रुकुमको सोती पुगेका थिए। साथमा उनका साथीहरू जाजरकोटकै गणेश बुढा, लोकेन्द्र सुनार, सञ्जीव विक र गोविन्द शाही तथा रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका टीकाराम नेपाली पनि थिए। अन्तरजातीय प्रेम सम्बन्धमा रहेका नवराज र उनका साथीहरूलाई त्यही आरोपमा सोती गाउँका कथित माथिल्लो जातका व्यक्तिहरूले कुटीकुटी हत्या गरेका थिए। उनीहरूलाई गाउँलेले घेरा हालेर लखेटी–लखेटी घरेलु हतियारले प्रहार गरेका थिए । मृतक र घाइतेलाई हातखुट्टा बाँधेर भेरी नदीमा बगाइएको थियो ।

दुई वर्षसम्म यो मुद्दामा अदालतबाट छिनोफानो नहुँदा गरिब र पीडितलाई न्याय नभएको भन्दै नवराजका बुवा मुनलाल विकले गुनासो गरेका छन्। ‘‘शुरुमा पुलिसले केहीलाई पक्राउ गरेपछि न्याय पाउने आशा थियो। पछि मानिसहरू पैसा बुझाएर छुट्दै गएका छन्।’’ मुनलाल विकको गुनासो छ।

३४ जना आरोपित, २३ थुनामा, केही छुटे धरौटीमा

हत्याकाण्डमा संलग्न आरोपमा सोतीका ३४ जनामाथि जिल्ला अदालतमा मुद्दा चलाइएको छ। तीमध्ये २३ जना थुनामा छन्। जिल्ला अदालतले गरेको पुर्पक्ष थुनासम्बन्धी निर्णयलाई उच्च अदालत सुर्खेत र सर्वोच्च अदालतले समेत जाँचेर शुरुमा पक्राउ परेकामध्ये ११ जनालाई तारिखमा छाडेका छन्।

चौरजहारी नगरपालिका–८ का तत्कालीन अध्यक्ष डम्बरबहादुर मल्लका साथै डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुन मगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, तिलक चन्द, इर्दबहादुर ठकुरी, दीपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल र विनोद मल्ल थुनामा छन्।

सविन पुन, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, धनराज राना, नवीनकुमार घर्ती मगर, विराज पुन मगर, भीमबहादुर पुन, रमित पुन मगर र विष्णु मल्ललाई पनि थुनामा राखिएको छ । नवराजकी प्रेमिकाका बुबा र दाइ पनि थुनामै छन्।

नवराजकी प्रेमिकाकी आमालाई जिल्ला अदालतले एक लाख रुपैयाँ धरौटीमा छाडेकामा उच्च र सर्वोच्चले पनि सदर गरेको छ। दीपेन्द्र चन्द, तुलबहादुर मल्ल र इन्द्रबहादुर मल्ल पनि जिल्ला अदालतबाटै साधारण तारिखमा छुटेका छन्। नवराजकी प्रेमिका र उनका भाइलाई नाबालिग भन्दै जिल्ला अदालतले बाल सुधार गृहमा पठाएको थियो। पछि उच्च अदालत सुर्खेतले अभिभावकको जिम्मामा छाड्न आदेश दिएको छ।

दलित वर्गलाई न्यायमा पहुँच छैन

यति ठूलो घटना भएको दुई वर्ष बित्दा पनि न्याय नपाउनुले दलित समुदायको लागि न्याय पाउन कति मुस्किल छ भन्ने प्रस्ट भएको दलितमाथि हुने हिंसाबारे अध्ययन गरिरहेका अधिवक्ता सन्तोष परियार बताउँछन्।

उनी भन्छन्, “यो घटना सीमान्तकृत समुदायका लागि न्याय पाउन कति कठिन छ भन्ने देखाउने आँखीझ्याल हो। सरकारी संरचनाहरू कसरी दलितलगायत अन्य सीमान्त वर्गलाई न्यायमा पहुँच पुर्‍याउने कार्यमा बाधक बन्छन् भन्ने उदाहरण पनि भएको छ।’’

यसरी भएको थियो नरसंहार

१० जेठ ०७७ मा जाजरकोट भेरी नगरपालिका–४, रानागाउँका नवराज विकले प्रेमिकालाई भगाउने योजना बनाए। पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा प्रेमिकालाई लिन गए। ४-५ दिनअघि प्रेमिकाले बिहे गरेर लिन आउन भनेकी थिइन। नवराजले आफ्ना मन मिल्ने १९ जना साथीहरूलाई लिएर सोती पुगे। केटी भगाउन सहयोग गर्न आग्रह गरेका थिए ।

भेरी नदीबाट साढे ३ बजे हिँडेको नवराजको टोली बेलुकी ५ बजे सोतीस्थित प्रेमिकाको घर नजिक पुग्यो।
टोलीको केटीसँग भेट भएन। युवाहरूलाई देख्न बित्तिकै केटीको आमाले वडाध्यक्ष डम्मरबहादुर मल्ललाई फोन गरेर बोलाइन। केही बेरपछि एक्कासि ४०-५० जनाको समूह आयो। नवराजसहितका टोलीलाई घेरा हालेर ढुंगामुढा बर्सायो। नवराजलगायत साथीहरू ज्यान जोगाउन भागे।

गाउँलेहरूले उनीहरूलाई ढुंगामुढा, हँसिया, चिरपटले प्रहार गरे। भेरी नदी किनारासम्म लखेटे।  घेरा हाले । युवाहरू सोती गाउँदेखि करिब ३ किलोमिटर तल आएपछि गाउँलेको आक्रमणमा परे। नवराज बिक, सन्जु बिक, गणेश बुढा, लोकेन्द्र सुनार, गोविन्द शाही र टीकाराम सुनारको हत्या भयो। कुटपिटबाट १२ जना घाइते भए। एक जना मात्र सकुशल थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved