आत्मनिर्भर पोल्ट्री व्यवसाय धराशायी बन्दै, डेढ खर्बको लगानी संकटमा, सरकारसँग हारगुहार

पोल्ट्रीसँगै दाना उद्योगमा पनि कालो 'बादल'

कोरोना महामारी र आर्थिक मन्दीपछि ५० प्रतिशत पोल्ट्री व्यवसायी पलायन भएका छन्। यसको असर अन्यत्र पनि परेको छ । पोल्ट्रीसँग जोडिएका दाना उद्योग धमाधम बन्द हुन थालेका छन् । यसले लाखौंको रोजगारी संकटमा परेको छ । अर्बौंको लगानी जोखिममा छ । व्यवसायीले सरकार गुहारिरहेका छन् । रिपोर्ट ।

आत्मनिर्भर पोल्ट्री व्यवसाय धराशायी बन्दै, डेढ खर्बको लगानी संकटमा, सरकारसँग हारगुहार

चितवन। पोल्टी क्षेत्रको राजधानीको रूपमा चिनिन्छ चितवन। चल्ला कोरल्ने, कुखुरा पाल्ने, दाना उत्पादन गर्ने सबैमा चितवन अग्रणी छ। तर, पछिल्लो समयमा चितवनमा नयाँ खुल्ने पोल्ट्रीभन्दा बन्द गर्नेको संख्या बढी छ। एकपछि अर्को समस्या थपिएसँगै यो व्यवसाय गर्नेहरू पलायन हुन थालेका छन्।

बर्डफ्लुलगायतका सङ्क्रामक रोगका कारण समस्यामा पर्दै आएको थियो, पोल्ट्री क्षेत्र। केही समयपछि आयो कोरोना। जसकारण थला नै पर्यो, उठ्नै नसक्ने गरी।

कोरोना महामारी र आर्थिकमन्दीपछि झन्डै ५० प्रतिशत पोल्ट्री उद्यमी पलायन नै भएका छन्। त्यसले प्रभाव चौतर्फी परेको छ। पोल्ट्रीमा पनि विशेषगरी दाना उद्योगी संकटमा छन्। कतिपय दाना उद्योगी आत्महत्याको तहसम्म पुगेका छन्।

चितवन कुखुरापालन हुने प्रमुख जिल्लामा पर्दछ। पोल्ट्रीको राजधानी भनेर चिनिने चितवनमै व्यवसायी जोखिममा परेपछि आत्महत्याका केही घटना सार्वजनिक भएका छन। लगानी अनुसारको प्रतिफल प्राप्त हुन नसक्दा जोखिममा परेर व्यवसायी पलायन हुने क्रम पनि तिब्र छ।

व्यवसायीले देशलाई नै ब्रोइलर कुखुराको मासु र अण्डामा आत्मनिर्भर बनाएका थिए। तर, कोरोना महामारीपछि उनीहरू आफैैं परनिर्भर मात्र भएनन् पलायनकै अवस्थामा छन्।

यसको लागि आर्थिक मन्दी र त्यसपछिको गलत सरकारी नीतिको शिकारमा उनीहरू परे।  व्यवसायीका अनुसार, सरकारले कुनै सहयोग नगरे अर्को वर्षसम्म नेपालका आधा भन्दा बढी उद्योग बन्द हुनेछन्।

ब्रोइलरको मासु र चल्ला भारतबाट भित्रिरहने, दानाको कच्चा पदार्थको भाउ अकासिरहने, बैंकहरूले आफूखुसी ब्याजदर बढाइरहने र लागतअनुसार मूल्य पाउन नसक्ने अवस्थाले उद्योग डुब्दै गएको व्यवसायीको गुनासो छ।

नाफा त परको कुरा, तीन वर्षयता उत्पादित वस्तुको लागत समेत उठ्न नसकेकाले व्यवसायको चाबी बैंकलाई बुझाउने दिन नजिकिएको उनीहरूको भनाई छ।

संकटमा रहेको पोल्ट्री व्यवसायलाई माथि उठाउन पहल गरिदिन भन्दै व्यावसायीले मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई गुहारिरहेका छन्। सरकारले सहज वातावरण बनाउन केही राहत दिनुपर्ने उनीहरूको माग छ।

नेपालमा अहिले दानाका १ सय १३ उद्योग छन्। कुखुरापालन नै घटेपछि ती उद्योग पनि धरासायी बन्न थालेका छन्। खस्कँदो बजारकै कारण उनीहरूले क्षमताको ३० प्रतिशत मात्रै उत्पादन गरिरहेका छन्। त्यति सामान बेचेको मुनाफाले बैंकको किस्ता समेत तिर्नसक्ने अवस्था नरहेको दाना उद्योग संघका अध्यक्ष रविन पुरीको गुनासो छ।

अध्यक्ष पुरी भन्छन्, ‘‘बजारमा माग कम छ। उद्योगले क्षमताको ३० प्रतिशत मात्र उत्पादन गरिरहेका छन्। बैंकको ब्याज र ऋणभार बढिरहेको छ। जसले गर्दा उद्योगी तनावमा छन्।’’

तीन वर्षअगाडि (कोभिडअघि) दाना दैनिक ३५ सय मेट्रिक टन खपत हुन्थ्यो। अहिले भने घटेर २५ सय मेट्रिक टन उत्पादन हुँदै आएको छ। पहिला प्रत्येक वर्ष खपत बढिरहेको र अहिले घट्दै गएको छ अध्यक्ष पुरी बताउँछन्।

उद्योगीले नचाहेरै व्यवसाय घिटीघिटी चलाइरहेका छन्। यसको पछि कारण छ, दाना उद्योग अहिले बेच्न चाहे पनि किन्ने कसले ? ‘‘४० प्रतिशत उद्योग अहिले पनि बिक्रीमा छ। बैंकको ऋण नभएको केही उद्योग बन्द भएका छन्। बैंकको ऋण तिर्न नसक्दा केही उद्योग अहिले लिलाममा समेत छन्।’’ अध्यक्ष पुरी भन्छन्।

व्यवसाय धराशायी भएपछि समाधानको पहल गर्न ध्यानाकर्षण गराउन प्रधानमन्त्रीलाई भेट्न गएका दाना उद्योगी

मासुको अवैध आयात मूल कारण

नेपालमा कुखुराको मासुको मूल्य एकोहोरो घटिरहनुमा भारतबाट अवैधरूपमा कुखुरा भित्रिनु हो। जसले गर्दा नेपाली कुखुराको माग घटेको छ। ह्याचरी उद्योग संघका निवर्तमान अध्यक्ष टीकाराम पोख्रेल स्थल मार्गबाट नेपालमा कुखुरा र कुखुराको मासु आयात गर्न प्रतिबन्ध भए पनि अवैधरूपमा आइरहेको बताउँछन्।

‘‘खुला सीमाको फाइदा उठाउँदै कुखुरा र यसको मासु भित्र्याउने क्रम रोकिएको छैन। जसले गर्दा स्वदेशी कुखुरा पालकले मूल्य पाउँदैनन्। यसको प्रभाव दाना उद्योगीसम्म पर्छ। कुखुरा पालकलाई घाटा भएपछि उनीहरूले दानाको पैसा तिर्न सकेका छैनन्।’’

बजारमा खपत भएको झन्डै एक तिहाइ मासु भारतबाट आयात भइरहेको व्यवसायीको दाबी छ। कुखुराको मासुको अवैध आयात रोक्न व्यवसायीले केही दिनअघि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएका छन्।

नेपालमा दैनिक आठ लाख किलो भन्दा बढी कुखुराको मासु खपत हुन्छ। जसमध्ये ३३ प्रतिशत मासु भारतीय बजारबाट आइरहेको बताइन्छ। नेपालमा खपत हुने मासुको ७५ प्रतिशत बजार काठमाडौंले ओगटेको छ। अहिले आउने भारतीय मासु पनि काठमाडौंमै खपत हुने गरेको छ।

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका केन्द्रीय अध्यक्ष जङ्गबहादुर बेल्बासे सस्तोको नाममा जोखिम नै मोलेर अहिले सीमा क्षेत्रबाट कुखुरा भित्रिइरहेको स्वीकार गर्छन्।

नेपालमा कुखुराका २१ हजार ९५६ फार्म छन्। २० हजार ४८३ ब्रोइलर कुखुराको फार्म चितवनमा मात्रै छन्। जसमा पाँच करोड २५ लाख भन्दा बढी कुखुरा पालिएका छन्। देशभरिमा अहिले ६४ जिल्लामा व्यवसायीक रुपमा कुखुरापालन भइरहेको तथ्याङ्क छ।

व्यवसाय धराशायी भएपछि समाधानको पहल गर्न प्रधानमन्त्रीलाई गराइएको ध्यानाकर्षण

डेढ खर्ब लगानी जोखिममा

नेपालमा पोल्ट्री क्षेत्रमा डेढ खर्ब रुपैयाँ लगानी भएको कृषि तथा वन विज्ञान विश्व विद्यालय (एएफयू)का सहप्राध्यापक रेवन्तकुमार भट्टराई बताउँछन्। पोल्ट्री उद्योगमा कारण पाँच लाख जनाले रोजगार पाएको उनी बताउँछन्।

तर, पछिल्लो समय संकट बढेका कारण उद्योगीले आत्महत्या नै गर्नुपरेको छ। कतिपय उद्योगी देशै छाडेर पलायन हुनुपरेको छ। पोल्ट्रीको राजधानी भनेर चिनिने चितवनमै व्यवसायीको भागाभाग छ।

पछिल्लो समय धेरै ठाउँमा चल्ला उत्पादन हुने ह्याचरी नै बन्द भएको छ। केही वर्षअघि देशभर ३४८ ह्याचरी रहेकोमा अहिले मुस्किलले दुई सयले मात्रै चल्ला उत्पादन गरिरहेका छन्।

पछिल्लो समय बैंकको ब्याजदर बढेका कारण अप्ठ्यारो अवस्थामा पुगेको नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्ट बताउँछन्। उनी भन्छन्, ‘‘बैंकले चर्को ब्याज लिन्छन्, कच्चा पदार्थको भाउ बढ्यो भनेर दानाको मूल्य पनि बढेको छ। तर कुखुराको मासुको भाउ नबढेपछि संकट गहिरिएको छ।’’

कुखुरापालक कम भएपछि दाना उद्योग पनि संकटमा छन्। उनीहरूले गरेको अर्बौंको लगानी जोखिममा छ।

कुखुराको मासुको अवैध आयात रोक्न माग गर्दै गृहमन्त्रीलाई ध्यानाकर्षण गरेपछि व्यवसायी 

दाना उद्योगी बढी मारमा

कुखुरापालक व्यवसायीले दाना बिक्रेताको भरमा व्यवसाय गरिरहेका थिए। उनीहरूले उधारोमा डिलरबाट दाना लगेर कुखुरा पाल्ने गर्थे। कुखुरा बेचेपछि आएको पैसाले डिलरलाई पैसा तिर्ने गर्थे। अहिले उद्योगले डिलरलाई बाँकी रकम नदिएपछि त्यसको प्रत्यक्ष असर आफूहरुलाई परेको दाना उद्योग संघका अध्यक्ष रविन पुरी बताउँछन्।

जोखिम मोलेर दिएको दाना उधारोमा गएको र कुखुरापालक उद्योगी तथा किसान डुबेपछि पैसा नतिरी पलायन भएको गिरी बताउँछन्। उनी भन्छन्, ‘‘धेरैजसो कुखुरा पालकले उधारोमा सामान लगे। पछि भाउ पाएनन्। विभिन्न समस्यामा परे। पछि दानाको पैसा तिर्न सकेनन्। अन्ततः उनीहरू पलायनै भए। आफू पनि डुबे। अरूलाई पनि डुबाए।’’

दाना उद्योग संघको माग

उद्योग संकटमा पर्नुको पछाडि महँगीसमेत रहेको छ। दाना बनाउने कच्चा पदार्थ– मकै, भटमासको पिना, औषधि, कच्चा तेल तथा फिड सप्लिमेन्टको मूल्य अस्वाभाविक रुपमा बढेको छ। दाना उद्योग संघले पछिल्लो समय कच्चा पदार्थको मूल्य अस्वाभाविक बढेको भन्दै पुरानै दररेट हुनुपर्ने माग गरेको छ।

कच्चा पदार्थको बढ्दो मूल्यले यस उद्योगमा रहेको एक खर्बभन्दा बढीको लगानी र एक लाख भन्दा बढीको रोजगारीमा असर पुगेको संघको भनाइ छ। संघले भटमासको पिनामा लाग्दै आएको कर ९ प्रतिशबाट घटाएर पुरानै दर १ दशमलव ६ प्रतिशत गर्न र बंगलादेश सरकारले यसको निर्यातमा लगाएको रोक खोल्न कूटनीतिक पहल गर्न माग गरेको छ।

भटमासको पिना शतप्रतिशत विदेशबाट आयात गर्नुपर्ने हुन्छ। युक्रेन र रसियाको युद्धको कारणले पिनाको मूल्य बढेको छ। प्रतिकेजी अहिले ९५ रुपैयाँ पुगेको छ।

उच्च करको कारण कच्चा पदार्थको बढ्दो मूल्यले समस्या भएको भन्दै दान उद्योगीले अर्थमन्त्रीलाई ध्यानाकर्षण गराएपछिको फोटो।

स्वदेशको मकैले पुग्दैन। नेपालमा उत्पादन भएको मकै ३० प्रतिशत मात्र पुग्छ। बाँकी ७० प्रतिशत विदेशबाट आयात गर्नुपर्ने हुन्छ। विदेशबाट आयात मकैलाई ५ प्रतिशत कर छ।

कर बढी भएकाले घटाउन माग गर्दै प्रधानमन्त्रीदेखि अर्थमन्त्रीलाई ज्ञापन पत्र बुझाएको नेपाल दान उद्योग व्यवसायी संघका अध्यक्ष पुरी बताउँछन्। उनले भने, ‘‘दीर्घकालीनरूपमा यस्ता समस्या समाधान गर्न हामीले प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराएका छौँ। आशा छ समाधानको पहल गर्नुहुनेछ।’’

पोल्ट्री क्षेत्र संकटमा आएको अहिले होइन, कोरोना कालदेखि हो। श्रमिक–कर्मचारीलाई कोरोना संकटको पहिलो महिनाकै तलब पाउन हम्मे परिरहेको थियो। किनकी, २०७६ चैतको लकडाउन अगाडिदेखि नै समस्या देखिएको थियो।

“यो संकटका बेला निजी क्षेत्रले भार थेग्न सक्ने स्थिति छैन,” उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ भन्छन्, “सरकारको रिकभरी (पुरुत्थान) प्याकेज नआउँदासम्म त्यो सम्भव छैन। उद्योगी सडकमा आउनेछन्। ठूलो सङ्ख्यामा रोजगारी गुम्नेछ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved