सुर्खेत। कर्णाली प्रदेशबाट विदेश जानेभन्दा स्वदेश फर्किनेको संख्या बढी देखिएको छ । नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय सुर्खेतले सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययन २०७९-८० का अनुसार रोजगारीका लागि विदेश जाने भन्दा स्वदेश फर्किनेको संख्या बढी रहेको छ। कर्णाली प्रदेशमा अधिकांश व्यक्तिहरू वैदेशिक रोजगारीका लागि भारततिर जाने गरेको पाइन्छ । तर, भारतमा रोजगारीमा जानेको संख्या उल्लेख गरिएको छैन ।
वैदेशिक रोजगार विभागले प्रकाशन गरेको (सन् २०२१–२०२२ अवधि) अनुसार कर्णाली प्रदेशबाट वैदेशिक रोजगारका लागि भारतबाहेक तेस्रो मुलुक जान नयाँ श्रम स्वीकृति लिनेको संख्या १३ हजार ४२६ जना रहेको छ । सोही प्रतिवेदनअनुसार वैदेशिक रोजगारीबाट स्वदेश फर्किने श्रमिकहरूको संख्या १७ हजार ३९८ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
वैदेशिक रोजगारीबाट स्वदेश फर्किने श्रमिकहरूमध्ये अधिकांशले पुनःश्रम स्वीकृति लिने गरेका छन्, भने केहीले वैदेशिक रोजगारीबाट सिकेको सीपलाई स्वदेशमा उपयोग गरी स्वरोजगारमा संलग्न रहेको नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख बाबुुराम कोइरालाले जानकारी दिए ।
कर्णालीका १ लाख ५४ हजार बेरोजगार कर्णाली प्रदेशमा झण्डै एक लाख ५४ हजार जनसंख्या बेरोजगार रहेको नेपाल राष्ट्र बैंकको आर्थिक प्रतिवेदनमा समावेश गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आर्थिक वर्ष २०७८-७९ को अन्तिम प्रतिवेदन अनुसार कर्णाली प्रदेशमा रहेको १ लाख ५३ हजार ७४६ सूचीकृत बेरोजगार छन् ।
बेरोजगारलाई रोजगारी दिलाउने कार्यक्रममा समीक्षा अवधिमा यस कार्यक्रमअन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रमको वार्षिक प्रतिवेदन आ.व. २०७८-७९ अनुसार कर्णाली प्रदेशको लागि प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रु.२ अर्ब, ३ करोड, २२ लाख बजेट विनियोजित भएकोमा रु.१ अर्ब ६७ करोड ३६ लाख बजेट खर्च भएको नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख कोइरालाले जानकारी दिए । ‘२ हजार ७०९ वटा स्वीकृत आयोजनाहरूमध्ये २ हजार ६४५ आयोजनाहरू सञ्चालन रहेका छन् ।’ उनले भने, ‘जम्मा ३५ हजार १६२ जनाले रोजगारीको अवसर प्राप्त गरेका छन् ।’
त्यस्तै, आर्थिक वर्ष २०७५-७६ देखि कर्णाली प्रदेशका बेरोजगार तथा कोभिड–१९ बाट प्रभावित युवालाई स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न, आयआर्जनका क्रियाकलाप सञ्चालन गर्न र सामुदायिक पूर्वाधार निर्माण कार्यमा संलग्न गराई गरिबी निवारणमा योगदान पुर्याउन कर्णाली प्रदेश सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत १ हजार ५५ वटा आयोजना सञ्चालनमा ल्याएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत सबैभन्दा बढी सुर्खेत जिल्लामा १ सय ५४ वटा, सबैभन्दा कम आयोजना मुगु जिल्लामा ६५ वटा आयोजना रहेको नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख कोइरालाले जानकारी दिए । ‘सल्यान, दैलेख, रुकुम पश्चिम र कालिकोटमा क्रमशः १ सय ५० वटा, १ सय २२ वटा, १ सय १० वटा र १ सय ६ वटा आयोजनाहरू सञ्चालनमा रहेका छन् ।’ उनले भने,‘जाजरकोटमा १ सय ५ वटा, जुम्लामा ९६ वटा, हुम्लामा ७७ वटा र डोल्पामा ७० वटा आयोजनाहरू सञ्चालनमा रहेका छन् ।’
कर्णालीमा रोजगारीको चुनौती
यस प्रदेशको जनसंख्याको ठूलो हिस्सा रहेको युवा जनशक्तिलाई आवश्यक व्यावहारिक सीप तथा क्षमता विकास तालिम केन्द्रको स्थापना गरी दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख कोइरालाले जानकारी दिए । ‘यस प्रदेशमा रहेका दक्ष जनशक्तिलाई सीप, क्षमता र दक्षता अनुसारको रोजगारी सिर्जना गरी अधिकतम परिचालन गर्नुपर्छ ।’ उनले भने,‘प्रदेशभित्र उर्जामुलक, पर्यटन, खानीजन्य, कृषि तथा पशुपंक्षी जन्य, जडीबुटीजन्य र वन पैदावारजन्य उद्योगको प्रचुर सम्भावना भएकोले यस्ता उद्योगहरूको स्थापना, विकास र विस्तार गरी उच्च रोजगारी सिर्जना गर्नुपर्नेछ ।’
कर्णाली प्रदेशबाट भारतलगायत अन्य मुलुकमा वैदेशिक रोजगारीको लागि विदेश जानेको संख्या ठूलो मात्रामा रहेको त्यो जनसंख्यालाई स्वदेशमै रोजगारी सिर्जना गरी विदेशिनबाट रोक्नुपर्ने नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख कोइरालाले बताए । ‘कर्णाली प्रदेशको प्रमुख समस्याको रूपमा रहेको गरिबी अन्त्यका लागि संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा रोजगारी सिर्जना गरी आर्थिक असमानता न्यूनीकरण गर्दै सामाजिक न्याय कायम गर्नु आवश्यक रहेको छ,’ उनले भने ।
के छन् कर्णालीमा रोजगारीको सम्भावना
कर्णाली प्रदेशमा कर्णाली, भेरीलगायत ठूला नदीहरू रहेकाले प्रचुर मात्रामा जलविद्युत उत्पादन गर्न सकिने देखिएको नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख कोइरालाले जानकारी दिए । ‘यस प्रदेशमा रहेका रारा, शे–फोक्सुण्डो, कुपिण्डे, स्यार्पु, बुलबुले ताल, काँक्रेबिहार, पचाल झरना, सिँजा सभ्यता, पञ्चकोशी ज्वाला क्षेत्र लगायतका प्राकृतिक, साँस्कृतिक तथा र्धािर्मक रूपले महत्त्वपूर्ण पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धन गरी प्रर्याप्त मात्रामा आय तथा रोजगारी सिर्जना गर्न सकिने देखिन्छ ।’
उनले भने,‘यस प्रदेशमा कृषि तथा जडीबुटीजन्य कच्चा पदार्थको भण्डार भएकाले कृषि तथा जडीबुटी सम्बन्धी उद्योग सञ्चालन गरी युवाहरूलाई उद्यमी बनाउँदै रोजगारी सिर्जना गर्न सकिने सम्भावना रहेको छ ।’
कर्णाली प्रदेशमा व्यावसायिक सीप तथा क्षमता विकासका तालिम केन्द्रहरू स्थापना गरी जनसंख्याको ठूलो हिस्सा ओगटेको युवा जनशक्तिलाई सीप तथा तालिम प्रदान गरी दक्ष जनशक्ति उत्पादन गर्न सकिने सम्भावना रहेको प्रमुख कोइरालाको भनाइ रहेको छ । ‘गरिबी निवारण र रोजगारी सिर्जना कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा रहेकोले सरकारका नीति तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन मार्फत आर्थिक सामाजिक रूपान्तरण गर्न सकिने सम्भावना रहेको छ,’ उनले भने ।
Facebook Comment
Comment