थापाप्रति लक्षित गर्दै खड्काले भने-औंला ठड्याएर रुपान्तरण सम्भव छैन

नेपालभ्युज

थापाप्रति लक्षित गर्दै खड्काले भने-औंला ठड्याएर रुपान्तरण सम्भव छैन

काठमाडौं ।  उपप्रधान एवं रक्षामन्त्री तथा नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अर्कालाई औंला ठड्याएर पार्टीमा रुपान्तरण सम्भव नरहेको बताएका छन् । सोमवार काठमाडौंमा भएको ट्रेड युनियन काँग्रेसको ७ औंँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पार्टीका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै उनले कसैप्रति औँला ठड्याएर परिवर्तन र रुपान्तरण सम्भव नरहेको जिकिर गरे । उनले आफ्ना कमजोरी र गल्तीहरु सच्याएर अघि बढ्नसके मात्रै रुपान्तरण सम्भव भएको बताए । उनले पार्टी र सरकारलाई जीवित बनाउने काम केन्द्रदेखि वडा तहका नेताहरुको रहेको बताए ।

उनले पार्टीको अहिलेको परिस्थितिलाई सुधारेर र सपारेर मात्रै तिब्र गतिमा समय सापेक्ष दिशातर्फ जान सकिने बताए । उनले पार्टीमा सबैले निष्ठाको संकल्पसहित आफूलाई समर्पित गर्ने बेला आएको उल्लेख गरे। कार्यवाहक सभापति खड्काले पार्टीमा पनि समयसापेक्ष बदलाव आउने बताए ।

‘मेरा कमजोरी र गल्तीहरुलाई सच्याएर, स्वीकारेर म रुपान्तरणका लागि तयार हुने की नहुने ? म रुपान्तरण हुन तयार हुने हो ।  रुपान्तरण हुन तयार हुने भएपछि मात्रै चाहे मुलुकको होस् वा पार्टीको  रुपान्तरणको प्रक्रिया शुरु हुन्छ’ उनले भने, ‘पार्टी र सरकार निर्जीव छ, त्यसलाई जीवित बनाउने भनेको पार्टीमा नेतृत्व लिने केन्द्रदेखि वडा टोलसम्मका नेताहरुको निर्णय प्रक्रिया, जीवनशैली, प्रक्रियाशैली सबै कुरामा निर्भर रहन्छ ।’

‘मुलुकको प्रधानमन्त्री लगायत मन्त्रीहरु, शासनमा रहेका जिम्मेवारी बोकेका सबैको भुमिका कर्तव्यबाट हामी सबैले मम भन्दै मुलुकको अहिलेको परिस्थिति, पार्टीको अहिलेको परिस्थितिलाई सुधारेर तिव्र गतिमा समय सापेक्ष दिशातर्फ जान सकिन्छ, औंला ठड्याएर होइन’, उनले थपे ।

उपप्रधानमन्त्री खड्काले नयाँ संकल्पबाट सबै एकतावद्ध हुन र छलफलबाट सबै समाधान निकाल्न आवश्यक रहेको भन्दै एकले अर्काको दोष र गल्ती कोट्याएर स्थायी समाधान हुन नसक्ने बताउए  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved