संसदमा आजदेखि बजेटमाथिको छलफल, एमाले कडा प्रतिवादको तयारीमा

नेपालभ्युज

संसदमा आजदेखि बजेटमाथिको छलफल, एमाले कडा प्रतिवादको तयारीमा

काठमाडौं। प्रतिनिधिसभाको बैठक आज आइतबार बस्दैछ । बैठक विहान ११ बजे संघीय संसद भवन नयाँ वानेश्वरमा सुरु हुँदैछ ।

आजदेखि संसद बैठकमा आगामी आर्थिक वर्षको लागि सरकारले पेश गरेको बजेटमाथि छलफल सुरु हुनेछ । गएको १५ गते सोमबार अर्थमन्त्री डा प्रकाशशरण महतले संसदमा १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट पेश गरेका थिए ।

यसैबीच संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विभिन्न विषयको जवाफ मागेर खरो रुपमा प्रस्तुत हुने तयारी गरेको छ । विशेषगरी प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका बेला उनको एक अभिव्यक्तिलाई लिएर एमालेले संसदमा जवाफ माग्ने तयारी गरेको हो ।

प्रधानमन्त्री प्रचण्डले यदी भारतले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपाललाई  नदिने हो भने बंगलादेशसम्म पुग्ने जमिन दिनुपर्ने बताएका थिए । उनले भारत र बंगलादेशबीचको सीमा विवाद पनि त्यसैगरी अन्त्य भएको उदाहरण दिँदै नेपाल र भारतले पनि थोरै भूमि सट्टापट्टा गर्न सक्ने बताएका थिए ।

प्रचण्डको अभिव्यक्तिमा एमाले र राप्रपाले विरोध जनाएका छन् । यस्तै बजेटमाथिका विभिन्न व्यवस्था र कार्यक्रममा पनि एमालेले विरोध गर्ने तयारी गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved