एमालेलाई ‘आठौं सत्ता’मा पनि धक्का  !

सभामुखसहित १४ सांसद रहेको माओवादी केन्द्र कोशी प्रदेशको ‘किङ्ग मेकर’ हुनेछ ।

नेपालभ्युज

एमालेलाई ‘आठौं सत्ता’मा पनि धक्का  !

काठमाडौं । सङ्घीय सरकार र ६ प्रदेशसहित ७ सत्ता गुमाएको नेकपा (एमाले) को आठौं सत्तामा पनि धक्का लागेको छ । कोशी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) ले समर्थन फिर्ता लिएसँगै एमालेको सबै सत्तामा पूर्णविराम लाग्ने सङ्केत देखिएको छ ।

कोशी प्रदेशको ९३ सदस्यीय प्रदेश सभामा एमालेका ४० छन्, जबकी मुख्यमन्त्री हिक्मत कार्कीलाई सत्ता जोगाउन ४७ सांसदहरूले समर्थन गर्नुपर्छ । त्यसमा एमालेसँग ४० सांसद छन्, उसले भर गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग ६ सांसद छन् । यसरी हेर्दा मुख्यमन्त्री कार्कीको समर्थनमा ४६ सांसद हुनेछन् भने विपक्षमा पनि ४६ सांसद छन् । यद्यपि कार्कीलाई समर्थन गरेको नेकपा (माओवादी केन्द्र) ले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएको छैन ।

तर, सङ्घीय सरकारदेखि अन्य प्रदेश सरकारसमेतमा सत्ता गठबन्धनको सरकार बन्दै गएका कारण कोशी प्रदेशमा एमालेलाई समर्थन गरिरहन माओवादी केन्द्रलाई मिल्दैन । कोशीमा कांग्रेस संसदीय दलका नेता उद्वव थापाले पत्र नै लेखेर माओवादी केन्द्र र जसपालाई सरकार छाडेर नयाँ गठबन्धन बनाउन आह्वान गरिसकेका छन् ।

प्रदेश सरकारमा नेकपा (एकीकृत समाजवादी) र कांग्रेस विपक्षमा छन् । सभामुखसहित १४ सांसद रहेको माओवादी केन्द्र कोशी प्रदेशको ‘किङ्ग मेकर’ हुनेछ । यदि नयाँ गठबन्धन बनेको अवस्थामा हिक्मत कार्की मुख्यमन्त्रीबाट बाहिरिनेछन् । योसँगै ७ प्रदेश र सङ्घीय सरकारमा एमाले उपस्थिति शून्य हुनेछ ।

समर्थन फिर्ता लिँदै कोशी सरकारबाट बाहिरियो जसपा

पुस १० गते पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित ७ दलको गठबन्धनमा सभामुख र राष्ट्रपतिसहित साढे २ वर्षपछि प्रधानमन्त्री लिने दाउमा सत्तारोहण गरेको एमालेले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का कारण सुदूरपश्चिम सरकार गुमाएको थियो भने राष्ट्रपति निर्वाचनसँगै बनेको कांग्रेससहितको नयाँ गठबन्धनपछि सङ्घीय सरकार पनि गुमायो ।

त्यसपछि गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकार र लीला गिरि नेतृत्वको लुम्बिनी प्रदेश सरकार क्रमश गुमाउनुपर्‍यो । यसपछि एमालेले बागमती, मधेस र कर्णाली प्रदेश सरकारबाट पनि बाहिरिनुपरेको थियो ।

कोशी प्रदेशसहित आठौं सत्ता गुमेपछि एमालेसँग प्रतिनिधि सभामा सभामुख र राष्ट्रिय सभामा अध्यक्षबाहेक अन्य पद बाँकी रहँदैन । अहिले मुख्य पदहरूमध्ये राष्ट्रपतिमा नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल, उपराष्ट्रपतिमा जसपाबाट रामसहाय प्रसाद यादव, प्रधानमन्त्रीमा माओवादी केन्द्रबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधि सभाका उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट इन्दिरा राना र राष्ट्रिय सभा उपाध्यक्षमा माओवादी केन्द्रकी उर्मिला अर्याल छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved