आईएमई र सामाजिक सुरक्षा कोषबीच सम्झौता

नेपालभ्युज

आईएमई र सामाजिक सुरक्षा कोषबीच सम्झौता

काठमाडौं। सामाजिक सुरक्षा कोष र आईएमईबीच वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरूको सामाजिक सुरक्षा योजनाअन्तर्गत सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्रयोजनका लागि विदेशमा रहेका योगदानकर्ताहरूबाट रकम संकलनको सेवा प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ ।

सम्झौतापत्रमा सामाजिक सुरक्षा कोषका तर्फबाट कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली र आईएमईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले हस्ताक्षर गरेका हुन् ।

सो सम्झौताको कार्यान्वयनपछि विदेशस्थित आईएमई काउन्टर तथा साझेदारहरूमार्फत वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिले योगदान वापतको रकम कोषमा जम्मा गर्न सक्नेछन् ।

आईएमईका प्रमुख कार्यकारी अधिकृत पौडेलले विदेशमा रहेका लाखौं नेपालीहरूलाई कोषमा योगदान गर्ने रकम जम्मा गर्न सहज हुने गरि यो सम्झौता अनुसारको छिटै व्यवस्था मिलाइने जानकारी गराए । कोषले अघि बढाएको वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरूको सामाजिक सुरक्षा योजनाको प्रर्वद्धनका लागि समेत सहयोग पुग्ने प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गर्नु भयो ।

सामाजिक सुरक्षा कोषका तर्फबाट कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले आईएमई तथा यसका साझेदारहरूको विश्वव्यापी सञ्जाल भएकाले कोषले अघि बढाएको योजनामा सहभागिता बढाउन तथा कोषमा योगदान गर्नेहरूलाई रकम पठाउन सहज हुने विश्वास व्यक्त गरे ।

सम्झौता हस्ताक्षर समारोहमा कोषका निर्देशक रोशन कोजु र आईएमई लिमिटेडका तर्फबाट बिजनेश डेभलपमेन्ट म्यानेजर श्यामकृष्ण खकुरेलको पनि उपस्थिति थियो ।

यसअघि सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका नागरिकले सामजिक सुरक्षा योजना अन्र्तगत कम्तिमा नेपाल सरकारबाट तोकिएको न्यूनतम आधारभूत पारिश्रमिकको २१ दशमलव ३३ प्रतिशत रकम अर्थात् हाल न्यूनतम रु दुई हजार दुई मासिक रुपमा र अधिकतम न्यूनतम आधारभूत पारिश्रमिकको तीनगुणा सम्म कोषमा योगदान गरी सुविधामा सहभागी हुनसक्ने व्यवस्था मिलाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved