‘सीमान्त गुरु’ले ठगेको भन्दै दाङमा स्थानीयले घेरे, प्रहरीले लगायो कार्यक्रममा रोक

दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले उपचार गराउने बहानामा मन्दिरजस्तो पवित्र सार्वजनिक स्थलमा भिडभाडयुक्त कार्यक्रम गरिएकाले रोक्नुपरेको बताए।

नेपालभ्युज

‘सीमान्त गुरु’ले ठगेको भन्दै दाङमा स्थानीयले घेरे, प्रहरीले लगायो कार्यक्रममा रोक

काठमाडौं। काठमाडौंको ‘क्लिनिक’ बन्द गरेर दाङ पुगेका ‘सीमान्त गुरु’ उर्फ भरत भट्टराईलाई सर्वसाधारणले घेरेपछि प्रशासनले कार्यक्रम गर्न रोक लगाएको छ। दाङको तुलसीपुरमा आज आयोजना गरिएको कार्यक्रममा स्थानीयले विरोध जनाएपछि विवाद बढ्न सक्ने भन्दै प्रशासनले रोक लगाएको हो।

उनले आफूलाई अलौकिक मनोवैज्ञानिक क्षमताको ज्योतिष भएको र हेरेर वा छोएरै बिरामी निको पार्ने दाबी गर्दै आएका छन्। काठमाडौं तारकेश्वरको कार्यालय प्रहरीले बन्द गराएपछि भट्टराई तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित त्रिसिद्धेश्वरी मन्दिरमा गएका हुन्। उनले त्यहाँ पैसा लिएर उपचार गर्ने कार्यक्रम राखेका थिए।

त्यसक्रममा बिरामीसँग लाखौँ रुपैयाँ असुल भइरहेको थियो। सोही स्थानमा भेटिएका केहीले ढोङ मात्रै भएको तथा उपचारको बहानामा ठगी धन्दा चलाइएको भन्दै आक्रोशित भएपछि आक्रमण हुनसक्ने भन्दै प्रशासनले रोक लगाएको छ। लाइनमा बसेकाले भने उपचार गर्न पाउनुपर्ने बताएका छन्। उनले चमत्कारको भ्रम फैलाएर बिरामीको स्वास्थ्यमाथि खेलबाड गरिरहे पनि प्रशासनले पूर्णरूपमा बन्देज लगाउन भने सकेको छैन ।

दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले उपचार गराउने बहानामा मन्दिरजस्तो पवित्र सार्वजनिक स्थलमा भिडभाडयुक्त कार्यक्रम गरिएकाले रोक्नुपरेको बताए। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले जिल्ला प्रशासनबाट आदेश भएअनुसार कार्यक्रम रोकिएको जानकारी दिए।

कम्पनी दर्ता काठमाडौंमा, काम देशभरि

कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरमा एक महिनाअघि कम्पनी दर्ता गरेर भट्टराईले काठमाडौंमा काम सुरु गरेका थिए। उनले २०८० वैशाख १९ गते एउटा कम्पनी दर्ता गरेका थिए अलौकिक मनोवैज्ञानिक शास्त्री ज्योतिष प्रालिको नाममा।

कम्पनीमा भरत भट्टराई, भरत केसी, राजेन्द्रबहादुर पाण्डे, वसन्तकुमार भट्ट, भीमकुमारी भण्डारी, अनु कुँवर र निर्मला गौतम गरी सातजनाको सञ्चालक समिति रहेको उल्लेख छ।

व्यवसायको प्रकृतिमा ‘अलौकिक तरिकाबाट बिरामीको उपचार गर्ने’ र कारोबार गर्ने वस्तु ‘फेस रिडिङ गरी उपचार गर्ने’ भन्ने उल्लेख छ। जुन नेपालमा अहिलेसम्म वैधानिक रूपमा प्रयोगमा आएको छैन। कुनै पनि मान्यता प्राप्त प्रचलित उपचार पद्धतिमा समेत यो भेटिएको छैन।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्कासँग भट्टराई

को हुन् भट्टराई ?

भट्टराई पहिला मोरङको पथरी स्थित बुद्ध चोकमा फोटो स्टुडियो समेत सञ्चालन गरी बसेका थिए। उनी करिब २० वर्षयता भने काठमाडौंमै बस्दै आएका छन् । केही साथीका अनुसार उनी पहिले मोरङमा सडक नाटक गर्न पनि सिपालु थिए । उनले केही समय काठमाडौंमा म्यानपावर व्यवसायीसँग मिलेर पनि काम गरेको बताइन्छ । अहिले उनी एकाएक अलौकिक गुरु भन्दै टिकटकमा देखिएका हुन् ।

त्यति मात्रै होइन अनुहार हेरेर रोग निको पार्ने ‘फेस रिडर’ भन्दै विभिन्न जिल्ला चाहर्न समेत थालेका छन्। टिकटक र सामाजिक सञ्जालमा भ्रमपूर्ण भिडियो पोस्ट गरेकै आधारमा उनलाई भेट्न आउनेको भिड लाग्ने गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved