विश्वप्रकाशको प्रस्ताव :

‘बितेको दशकको इमान्दार समीक्षा गरौँ, भिजन-९५ मा जाऔँ’

सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले वर्तमान आर्थिक समस्या र चुनौती सङ्गठित, एकीकृत र विवेकको आँखाबाट हेर्नुपर्ने बताएका छन् ।

नेपालभ्युज

‘बितेको दशकको इमान्दार समीक्षा गरौँ, भिजन-९५ मा जाऔँ’

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले वर्तमान आर्थिक समस्या र चुनौतीलाई सङ्गठित, एकीकृत र विवेकको आँखाबाट हेर्नुपर्ने बताएका छन् । संसद्‌मा जारी बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले भनेका छन्, “वर्तमान आर्थिक समस्या र चुनौतीलाई सत्ता र प्रतिपक्षको विभाजित आँखाले होइन, सङ्गठित, एकीकृत र विवेकको आँखाले हेर्नुपर्छ ।”

शर्माले जनताले संसद्‌बाट ‘भिजन-९५’ को अपेक्षा गरिरहेको बताए । बीपी कोइरालाको प्रसङ्ग जोड्दै शर्माले भनेका छन्, “बीपी कोइरालासँग सपनाहरू धेरै थिए, समय पाएनन् । हामीले समय पायौँ, गर्नलाई सपनाहरू देखिँदैन । अब भिजन-९५ ल्याउनुपर्छ ।” ‘भिजन-९५’ मा विसं २०८० देखि ०९५ सम्म मूलत: के-के गर्ने भन्ने विषयबारे खुल्नुपर्ने उनले बताएका छन् ।

नेपाल समुन्द्रले नछोएको देश भनेर दु:ख मानेरमात्रै बसिरहेको टिप्पणी शर्माको थियो । उनले भने “प्राकृतिक समुन्द्रले नछोएर के भयो र ? प्रगतिको समुन्द्रले छोएको छ । प्रगति गरिरहेका चीन र भारतको बीचमा हामी छौँ । विश्व अर्थतन्त्रको प्रक्षेपण र विश्लेषण गर्नेहरूले सन् २०५० पुग्दा विश्वको ठूलो अर्थतन्त्र भएको पहिलो देश चीन र दोस्रो भारत बन्ने भनेका छन् । प्राकृतिक समुन्द्रले नछोएपछि अब प्रगतिको समुन्द्रले छोएको छ । त्यसबाट हामी लाभान्वित हुनेगरी भिजन-९५ ल्याउनुपर्छ ।”

संसद्‌मा बजेटका सिद्धान्त र तथा प्राथमिकताबारे बोल्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा ।

त्यसका लागि शर्माले विगत वर्ष र दशकहरूको इमान्दार समीक्षा गर्नुपर्ने बताए । २०७० देखि ०८० सम्मको दशक समीक्षा गर्दै उनले भनेका छन्, “गएको दशकको इमान्दार समीक्षा गरौँ र सङ्गठित तरिकाले अघि बढौँ ।”

शर्माले बितेको दशकको समीक्षा ८ बुँदामा गरेका छन् ।

१. राजनीतिक अस्थिरता : शर्मा गएको दशक राजनीतिक अस्थिरतामै बितेको बताउँछन् । उनले थपेका छन्, “यद्यपि एउटा दशकको मात्रै कुरा रहेन । बितेको ७० वर्ष पनि उस्तै रह्यो, ७० वर्षसम्म एकैजनामात्रै प्रधानमन्त्री बनेनन् । अहिले पनि एउटै प्रधानमन्त्रीमार्फत जाने भनेर भन्न सकिने अवस्था छैन ।”

शर्माले यसको गम्भीर समीक्षा गरेर जानुपर्ने बताएका छन् । “हामीले जनतामा ५ वर्षका लागि मत मागेका छौँ । तर, हाम्रो अस्थिरता भने उस्तै छ । अबका वर्ष र दशकमा यसलाई गम्भीरताका साथ मनन गरेर जानुपर्छ,” उनले भने ।

२. नीतिगत अनिश्चितता : शर्माले नीतिगत स्थिरता खोज्ने भनिएपनि त्यसको सूत्र पत्ता लागिनसकेको बताउँछन् । “हामीले नीतिगत निश्चितता खोज्ने भन्यौँ । विनियोजन बजेटमा अर्थमन्त्रीज्यूले पनि लेख्नुभएको छ । हामीले गर्न त गर्ने, तर कसरी ? त्यसबारे हामीले छलफल नै गरेनौँ,” उनले भनेका छन्, “यसका बारेमा हामी गम्भीर हुनुपर्छ ।”

सत्तापक्ष जत्तिबेला पनि प्रतिपक्ष हुनसक्ने र प्रतिपक्ष जत्तिबेला पनि सत्तापक्ष हुनसक्ने अवस्था रहेको स्मरण गराउँदै उनले भनेका छन्, “त्यसका बीच पनि समुन्नतिको दस्तावेजचाहिँ के हो त ? यसबारे भिजन-९५ मार्फत प्रष्ट पार्नुपर्छ ।”

३. बेरुजु र भ्रष्टाचार : कोस्टारिकाका पूर्वराष्ट्रपतिलाई उद्धृत गर्दै शर्मा भन्छन्, “गरिब देशमा हुने भ्रष्टाचार गरिबको घरमा हुने चोरीजस्तै हो । हामीले शून्य सहनशीलता अपनाउने भन्यौँ । अर्थमन्त्रीज्यूले विनियोजन विधेयकमा पनि लेख्नुभएको छ । एकातिर भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने भन्दैगर्दा अर्कोतिर भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्ने कुरामा छानबिनका लागि ५ वर्षको हदम्याद हुनुपर्छ भनेर प्रस्ताव गरिएको छ । यो मान्य हुनुहुँदैन ।”

भ्रष्टाचारको कुरामा राज्य कठोर हुनुपर्ने भनाइ शर्माको छ । “शून्य सहनशीलता अपाउने कुरा र ५ वर्षे हद विरोधाभास भयो । अब सरकारले भ्रष्टाचारका विरुद्ध फाइलमात्रै होइन, फायर नै खोल्नुपर्छ,” शर्माले भनेका छन् ।

४. व्यापार घाटा :  शर्मा गएको दशकलाई व्यापार घाटाले पनि बिगारेको बताउँछन् । “हामीले १०० भन्दा धेरै देशहरूसँग व्यापार घाटा बेहोरिरहेका छौँ । गत वर्षमात्रै ४५ अर्बको चामल २२ अर्बको तरकारी तथा फलफूल आयात गर्‍यौँ,” शर्माले तथ्याङ्क स्मरण गराएका छन् ।

उनी सोध्छन्, “यसो कल्पना गरौँ त, छिमेकीहरूसँग कतै द्वन्द्व भयो भने ? छिमेकीसँगको आयातमा निर्भर रहेको हाम्रो भान्सा कहाँ पुग्छ होला ? हामी कुन अवस्थामा पुग्छौँ होला ?” अब युवाहरूलाई तरकारी उत्पादन, दुग्धजन्य वस्तु उत्पादनलगायतका कामहरूमा प्रोत्साहन गर्नुपर्ने उनले बताएका छन् । “त्यसका लागि उनीहरूलाई बैङ्किङ उपलब्धता हुनुपर्छ । त्यो पनि भिजन-९५ भित्रै समेटौँ,” उलने भने ।

५. लगानीमैत्री वातावरण नबन्नू : गएको दशकमा लगानीमैत्री वातावरण नबन्नू पनि समस्याको रूपमा रहेको स्मरण गराउँछन् शर्मा । “अरुण तेस्रो राष्ट्रघातको नाराको चपेटामा पर्‍यो र ३० वर्षपछि बल्ल बन्दैछ । तराई जोड्ने फास्ट-ट्र्याक अहिले लगानी दोब्बर पुग्यो, अधुरो-अधुरो हुँदै अगाडि बढ्दैछ । हामी एनआरएनका मित्रहरूलाई लागनी दूत बन्नुस् भनेर भन्छौँ । यो बडो महत्त्वपूर्ण कुरा उठाउनुभएको छ अर्थमन्त्रीज्यूले । एनआरएनका मित्रहरूले बडो मार्मिक नारा दिनुभएको छ— एकपटकको नेपाली, सधैँको नेपाली । एकातर्फ हामीले लगानी गर भन्छौँ । तर, संविधानको भाग २ को धारा १४ ले गरेको परिकल्पना गरेको गैरआवासीय नागरिकता विषयलाई अड्काएर राख्छौँ । ढोकामा अग्लो लगाउँछौँ र लगानी गर भन्छौँ । यो मिलेन,” उनले भनेका छन् ।

उनले रेमिट्यान्सबाट आएको १० प्रतिशतमात्रै हाइड्रोतिर लगानी गर्न सके राम्रो हुने बताए । “यत्ति गर्न सके यो देशका नागरिक भोटको मात्रै होइन, नोटको पनि मालिक बन्छन् । ५० सालमा खाडी गएको बाबुले ६५ सालमा छोरा या छोरीलाई दशैंको टीका लगाइदिँदै गर्दा मेरा हातगोडा गले, अब तिमी जाने भन्ने खालको अवस्था नबनाउने हो भने ७० सालमा गएको बाबुले ९५ सालमा नभन्ने बनाउने हो भने उनीहरूलाई हाइड्रोको मालिक बनाउनैपर्छ,” उनले भनेका छन् ।

६. प्रशासनिक झन्झट : “भोलि, भोलि, भोलि भनिरहेका छौँ । मुस्कानसहितको सेवा भनेका छौँ, तर ढिला गरिरहेका छौँ । मुस्कानसहितकै भएपनि ढिलो त भएन नि !,” शर्मा भन्छन् ।

अब मुस्कानसहितको होइन, मुस्कान दिने सेवा प्रदान गर्नुपर्ने शर्मा बताउँछन् । बितेको दशकमा यसखाले झन्झट ज्यूँका त्यूँ परेको बताए । “अब मुस्कानसहितको होइन, मुस्कान दिने सेवा हुनुपर्छ । त्यसका लागि तत्कालै काम हुनुपर्‍यो । अब बाँकी वर्षहरूमा यसलाई प्राथमिकतामा राख्नुपर्छ,” उनले भनेका छन् ।

७. लहडका योजना : गएको दशक लहडका योजनाहरूका साथ गुज्रेको शर्मा बताउँछन् । “हामी एकसाथ ४ वटा मेची-महाकालीमा खर्च गरिरहेका छौँ । एउटा सकेर मात्रै अर्को गर्ने भनेर कहिल्यै सोचेनौँ । एउटा अन्तर्राष्ट्रिय विमानस्थल बन्दैगर्दा अर्को नबनाउँदा पनि हुन्थ्यो । हामीले पोखरा र भैरहवा दुवै चाहियो । हामीकहाँ चेतना भएन । अब यो ऋणको भार कसले बोक्ने ? गएको दशक यसैगरी बिताइयो,” उनले भनेका छन् ।

अब भने विज्ञहरूले सल्लाहअनुसार मात्रै अगाडि जानुपर्ने उनले बताएका छन् । “अबचाहिँ विज्ञ र जानकारहरूको प्रक्षेपण र विश्लेषणलाई सुनेर प्रतिफल दिन सक्छ कि सन्दैन भन्ने मूल्याङ्कन गरेको जगमा मात्रै बजेटमा समाहित गरौँ,” उनले भनेका छन् ।

८. न्यून पुँजीगत खर्च : “न्यून पुँजीगत खर्च छ । यसको व्यवस्थापनका लागि काम गर्ने भनेर अघिल्लो बजेटको नीति तथा कार्यक्रममा आयो । तर, कानून बनेन । म सरकारलाई विनम्रतापूर्वक आग्रह गर्छु कि, अब कानून निर्माणमा जुटौँ,” उनले भनेका छन् ।

विकास निर्माणको कार्यलाई ३ सिफ्टमा गर्न उनले प्रस्ताव गरेका छन् । “२४ घण्टामा ३ वटा ८ घण्टा हुन्छ । धनी राष्ट्र अमेरिका राति पनि पुल बनाउँछ, हामी रात परेपछि सुत्छौँ । धनी राष्ट्र बेलायत राति पनि बाटो बनाउँछ, नेपाली सूर्यास्त, मस्त पिएर होस् वा नपिएर होस् । अब ८, ८ र ८ को सिद्धान्तलाई अवलम्बन गर्नुपर्छ,” उनले भनेका छन् ।

यी समस्या र चुनौतीहरूलाई सामूहिक ढङ्गले मात्रै हल गर्न सकिने दृष्टान्त शर्माले सुनाएका छन् । यी सबै समस्याहरूलाई विभाजित आँखाले मात्रै नभइ, एकताको आँखाले हेर्नुपर्ने उनले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved