फ्लाइ दुबई घटना- गम्भीर घटनामा अनुसन्धान नै नभई नेपाललाई दोष थोपारेर उम्किन खोज्दै

ठूलो कम्पनीको छवि जोडिएकाले गम्भीर घटनामा पनि पर्याप्त अनुसन्धान नगरी नेपाललाई नै दोष थोपारेर आफू उम्किन दुबईका सरकारी अधिकारीहरू नै लागेको बुझाइ नेपाली पक्षको छ।

नेपालभ्युज

फ्लाइ दुबई घटना- गम्भीर घटनामा अनुसन्धान नै नभई नेपाललाई दोष थोपारेर उम्किन खोज्दै

काठमाडौं। ११ वैशाखमा काठमाडौंबाट उडेको फ्लाइ दुबईको विमानमा देखिएको समस्यालाई सो कम्पनीले पर्याप्त अनुसन्धान नै नगरी नेपाललाई दोष थोपारेर उम्किन खोजेको छ। ठूलो कम्पनीको छवि जोडिएकाले गम्भीर घटनामा पनि पर्याप्त अनुसन्धान नगरी नेपाललाई नै दोष थोपारेर आफू उम्किन दुबईका सरकारी अधिकारीहरू नै लागेको बुझाइ नेपाली पक्षको छ।

विमानस्थलमा उडान भर्ने क्रममा चरा ठोक्किएको भन्ने सूचनाको पुष्टि नभई सो कम्पनीले त्यही धारणा प्रचार गरेपछि नेपाली प्राधिकरणका अधिकारीहरू रुष्ट बनेका छन्। काठमाडौंबाट गएको विमान दुबईमा अवतरण नभई र प्राविधिक जाँच नभइकन नेपाललाई दोष लगाएर उम्कन खोजेको नेपाली पक्षको बुझाइ छ।

प्राधिकरणका एक उच्च अधिकारी भन्छन्, ‘‘रन वेमा भेटिएको त्यही भगेंरालाई देखाएर नेपाली आकाशलाई असुरक्षित रहेको सन्देश दिने काम भयो। उसले आफ्नो कमजोरी लुकाउने प्रयास गरेको छ। सुरक्षा प्रेटोकालअनुसार विमानको अवतरण र विमानको प्राविधिक जाँच पछि धारणा दिनुपर्नेमा हतारमा आफ्नो गल्ती लुकाएको छ।’’

विमान कम्पनीले आफ्नो सुरक्षा पक्ष कमजोर नहरेको सन्देश दिन पनि यस्तो गरेको आशंका नेपाली पक्षलाई छ। तर, अहिलेसम्म दुबईबाट घटनाको विस्तृत अनुसन्धान भएर प्रतिवेदन आइनसकेको छैन। प्राधिकरण सूचना अधिकारी ज्ञानेन्द्र भुल भन्छन्, ‘‘पाइलटले त्यहाँको प्राधिकरणलाई दिएको रिपोर्ट पाएका छौँ। त्यसले विमानस्थलमा उडानका क्रममा चरा नठोक्किएको पुष्टि भएको छ। घटनाबारे प्रतिवेदन आएपछि हामी त्यसमा आफ्नो प्रतिक्रिया पठाउँछौँ।’’

के भएको थियो ?

११ वैशाख राति ९ बजेर १९ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमानको पँखेटातर्फको भागमा ९ बजेर २० मिनेटमै आगोको लप्का देखिएको थियो। ठूलो आवाजसहित विष्फोट भएको सुनिएको थियो। विमानस्थल आसपासका क्षेत्रका मानिसले त्यो दृश्य प्रस्ट देखेका थिए।
घटनालगतै विमान चालकले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग इमर्जेन्सी अवस्थामा पुगेको बताउँदै रन–वे खाली गरिदिन अनुरोध गरेका थिए। लगत्तै विमानस्थलमा अन्य विमानहरूका लागि बन्द गरियो।

सम्भावित दुर्घटनालाई मध्यनजर गरेर आकस्मिक अवस्थाका लागि सबै तयारीहरू गरियो। तर, विमान आकस्मिक अवतरण भएन। केही समयपछि पाइलटले समस्या समाधान भएको भन्दै गन्तव्यतर्फनै विमान लगेका थिए।

घटनालगतै रन–वे सुपरीवेक्षण गर्दा मरेको भगेंरा भेटिएको थियो। प्रोटोकलअनुसार नै भगेंराबारे फ्लाइ दुबईका पाइलटलाई जानकारी गराइएको थियो। सोही आधारमा दुबइको सरकारी मिडियाले चरा ठोक्किएपछि विमानमा सामान्य समस्या देखिए पनि समाधानपछि जहाज गन्तव्यमा आइरहेको बताएका थियो।

नेपालका अधिकारीहरूका अनुसार रन–वे सुपरीवेक्षणका क्रममा मृत चरा भेटिएको जानकारी मात्र दिइएको थियो। तर विमानमा आगो देखिनुको कारण चरा ठोक्किनु नै हो भन्ने पुष्टि भएको थिएन। त्यही पनि मरेको चरा सुकिसकेको थियो।
त्यो भनेको दुई दिनअघि नै चरा मरेको अनुमान छ। तर, त्यही अधुरो सूचनाकै आधारमा ‘विमान विमानस्थलमा उडान भर्ने क्रममा चरा ठोक्किएको हो’ भन्ने सूचना प्रवाह गरेपछि नेपालका प्राधिकरणका अधिकारीहरू रुष्ट बनेका छन्। नेपाली आकाशमा विमानको सुरक्षामाथि प्रश्न उठ्दै आएको अवस्थामा यसले थप प्रश्न उब्जाएको छ।

प्रतिक्रिया स्वरूप प्राधिकरणले भोलिपल्टै फ्लाइ दुबईका नेपाल हेर्ने प्रबन्धक र त्रिभुवन विमानस्थल हेर्ने प्रबन्धकलाई विमानस्थल प्रवेशमा रोक लगाइ दिएको थियो। साथै गम्भीर आपत्ति जनाउँदै दुबई नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार समेत गरेको थियो। दुबई नागरिक उड्डयन प्राधिकरणले पनि त्यसको जवाफी पत्र पठायो। जसमा उसले आफ्नो विमानमा देखिएका घटनालाई अन्यत्र मोड्न जोडबल लगाइरहेको छ। जसको लागि नेपाली पक्षमाथि पनि प्रश्न उठाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved