‘कम्युनिस्टका यी ५ फाउन्डिङ मिसनलाई गायत्री मन्त्रजस्तै जपिरहनुपर्छ’

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले कम्युनिष्टहरूले ‘फाउन्डिङ मिशन’ बिर्सिँदै गएको बताएका छन् ।

नेपालभ्युज

‘कम्युनिस्टका यी ५ फाउन्डिङ मिसनलाई गायत्री मन्त्रजस्तै जपिरहनुपर्छ’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले कम्युनिस्टहरूले ‘फाउन्डिङ मिशन’ बिर्सिँदै गएको बताएका छन् ।

आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित ‘नेपाली कम्युनिस्ट आन्दोलनः उपलब्धि, चुनौती र सम्भावना’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै खनालले यस्तो बताएका हुन् । “कम्युनिस्टका ५ फाउन्डिङ मिशनहरू छन् । त्यसलाई हामीले भुल्दै गयौँ । यो हुनु भनेको दुखद् हो,” उनले भनेका छन् ।

उनले ती फाउन्डिङ मिशनलाई ब्राह्मणले गायत्री मन्त्र जपेजस्तै कम्युनिस्टहरूले जपिरहनुपर्ने बताए । फाउन्डिङ मिशन भुलिएको खण्डमा सच्चा कम्युनिस्ट हुन नसकिने उल्लेख गर्दै उनले भनेका छन्, “ती फाउन्डिङ मिशनहरूलाई हामीले ब्राह्मणले गायत्री मन्त्र जपेजसरी जप्नुपर्छ, बिर्सनु हुँदैन ।”

खनालले उल्लेख गरेका ५ फाउन्डिङ मिशनहरू यी हुन् ।

१. सामन्तवादका अधि-संरचनाहरूको अन्त्य : खनालले कम्युनिस्टका ५ फाउन्डिङ मिशनमध्ये पहिलो  सामन्तवादका अधि-संरचनाहरूको अन्त्य भएको बताउँछन्  ।

“देशबाट सामन्तवाद, सामन्ती उत्पादन सम्बन्ध, सामन्ती उत्पादन पद्धति र त्यसमाथि खडा भएका संरचनाहरू, अधिसंरचनाहरूलाई उन्मूलन गर्नु हाम्रो पहिलो दायित्व हो,” खनालले भनेका छन्, “यो हाम्रो फाउन्डिङ मिशनबाट विमुख भयौँ भने हामी सच्चा कम्युनिस्ट हुँदैनौँ ।”

२. नोकरशाही दलाल पुँजीवादको अन्त्य : खनालले फाउन्डिङ मिशनको दोस्रो बुँदा नोकरशाही दलाल पुँजीवादको अन्त्य गर्नु रहेको सम्झाए । “यो समाजबाट दलाल नोकरशाही पुँजीवादलाई उच्छेद गर्नुपर्छ भन्ने हाम्रो दोस्रो स्थापनाको उद्देश्य हो,” खनालले भने, ‘जसले हाम्रो देशको राष्ट्रिय पुँजीवाद फस्टाउन दिइरहेको छैन ।”

उनले थपेका छन्, “नोकरशाही दलाल पुँजीवादलाई पनि, दलाल नोकरशाही पुँजीवादलाई पनि हाम्रो समाजबाट उन्मूलन गर्नुपर्छ । यसरीमात्रै हामीले भनेको समाजवाद सम्भव छ । नभए हामी त्यही ठाउँमा रहनुको विकल्प देखिँदैन । अब पुँजीवादलाई परास्त गर्दै समाजवादको आधार तयार गर्नुपर्छ ।”

३. अखण्डयुक्त देश निर्माण : खनालले विभिन्न देशहरूबाट लाद्न खोजिने साम्राज्यवाद, प्रभुत्वदवाद र उपनिवेशवादका विरुद्ध लड्नु पनि कम्युनिस्टका फाउन्डिङ मिशन नै भएको बताए । विभिन्न देशहरूले आफ्नो देशमाथि हस्तक्षेप गरिरहेको अवस्थामा मिलेर त्यसका विरुद्ध लड्नु फाउन्डिङ मिशन रहेको उनले बताएका हुन् ।

“विभिन्न ढङ्गले बाह्य शक्तिहरूले जुन ढङ्गले हस्तक्षेप गरिरहेका छन्, असमान सन्धि लाद्न कोसिस गरिरहेका छन् र विभिन्न प्रकारले हाम्रा देशका आन्तरिका मामलाहरूमा हस्तक्षेप गर्नेदेखि अनेक प्रकारले माइक्रो-म्यानेजमेन्ट गरिरहेका छन् । यस्ता कुराहरूलाई समाप्त पार्ने र हाम्रो देशलाई स्वतन्त्र र मुक्त बनाउने पनि कम्युनिस्टका फाउन्डिङ मिशन हुन्,” उनले भनेका छन् ।

४. देशलाई नयाँ जनवादमा पुर्‍याउने : खनालले देशलाई नयाँ जनवादमा पुर्‍याउनु पनि कम्युनिस्टका फाउन्डिङ मिशन नै रहेको बताए ।

देशलाई नयाँ जनवादमा पुर्‍याउँदाखेरि केहीलाई समाप्त पार्नुपर्ने उनले बताए । “देशलाई न्यूनतम्‌रूपमा नयाँ जनवादमा पुर्‍याउने र त्यो नयाँ जनवादमा पुर्‍याउँदाखेरि केहीलाई समाप्त पार्ने काम हुन्छ । त्यो हुन आवश्यक छ,” उनले भनेका छन् ।

५. देशलाई अधिकतम् समाजवादमा पुर्‍याउने : खनालले अन्तिम फाउन्डिङ मिशनको रूपमा देशलाई अधिकतम् समाजवादसम्म पुर्‍याउनु रहेको बताए । यसका लागि प्रयासहरू भएपनि ठोसरूपमा परिणाम प्राप्त नभएको खनालले बताए ।

“देशलाई अधिकतम्‌रूपमा समाजवादमा पुर्‍याउँदै साम्यवादतर्फ अगाडि बढ्ने हामी कम्युनिस्टहरूको अन्तिम फाउन्डिङ मिशन हो,” खनालले भनेका छन्, ‘अब यी मिशनहरूमा अझै अडिग रहनुपर्‍यो ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved