कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष : पुष्पलालको नेकपादेखि विप्लवको नेकपासम्म टुटफुट र विभाजन मात्रै !

तत्कालीन अवस्थामा विश्का थुप्रै देशमा कम्युनिष्ट पार्टीको सरकार हुँदा नेपालमा कम्युनिष्ट आन्दोलनको सङ्गठनात्मक सुरूवात हुँदै थियो । 

कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष : पुष्पलालको नेकपादेखि विप्लवको नेकपासम्म टुटफुट र विभाजन मात्रै !

काठमाडौं । नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७५ वर्ष अर्थात् नेपाली कम्युनिष्टले ७५औँ स्थापना दिवस मनाउँदै गरेको दिन। तत्कालीन अवस्थामा विश्का थुप्रै देशमा कम्युनिष्ट पार्टीको सरकार हुँदा नेपालमा कम्युनिष्ट आन्दोलनको सङ्गठनात्मक सुरूवात हुँदै थियो ।

देशमा जहानियाँ राणा शासनको जगजगी चलिरहेकै समयमा २००६ साल वैशाख ९ गते नेपालमा नेकपाको स्थापना भएको हो । पुष्पलाल श्रेष्ठ महासचिव रहेर नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी र मोतीदेवी श्रेष्ठसमेतले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए ।

स्थापनाको ७५ वर्षमा नेपालमा कम्युनिष्टका ६ जना प्रधानमन्त्री भए । तर, यसमध्ये कुनै पनि प्रधानमन्त्री एकल बहुमतमा भएनन् । विसं २०५१ सालमा एमाले अध्यक्ष मनमोहन अधिकारी अल्पमतको प्रधानमन्त्री भए र ०६४ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ कम्युनिष्टहरूकै मिलिजुली सरकारको प्रधानमन्त्री भए ।

त्यसपछि माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई र केपी शर्मा ओली अन्य दलको समेत सहकार्यमा गठबन्धनका प्रधानमन्त्री भए । हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुरूमा एमाले समेत ७ दलको र हाल कांग्रेससमेत १० दलको गठबन्धनबाट तेस्रो कार्यकाल प्रधानमन्त्री कायम छन् ।

आज पनि नेपालमा कम्युनिष्टको जनमत धेरै छ । तर, लगातार टुटफुट र विभाजन हुँदै आजको दिनसम्म आउँदा सत्ताकेन्द्रित राजनीतिले कम्युनिष्ट प्रतिको भरोसा टुट्दै गएको छ । पुष्पलाल महासचिव रहेको नेकपादेखि नेत्रविक्रम चन्द विप्लव महासचिव रहेको नेकपासम्म आइपुग्दा नेपालका कम्युनिष्टहरू दर्जनौंपटक फुटिसकेका छन् ।

पछिल्लो समय नेकपा एमालेबाट फुटेर नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा विभाजित भइ नेकपा बहुमत गठन हुँदासम्म कम्युनिष्ट नेताले फुटको औचित्य भने पुष्टि गर्न सकेका छैनन् ।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेकपा क्रान्तिकारी माओवादी, नेकपा (विप्लव), नेकपा (बहुमत), नेकपा (मसाल), नेकपा माले, नेकपा (ऋषि कटेल), वैज्ञानिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा), नेकपा मालेमा केन्द्र, नेकपा संयुक्तलगायतका कम्युनिष्ट पार्टीहरू अहिले अस्तित्वमा छन् ।

विसं २००६ मा गठन भएको नेकपाको औपचारिक फुटको सुरुवात २०१९ मा भारतमा भएको तेस्रो महाधिवेशनदेखि भएको हो । २०२३ मा पुष्पलाल समूह, डा. केशरजङ्ग रायमाझी समूह र तुलसीलाल अमात्य समूहले छुट्टाछुट्टै सम्मेलन गरे ।

रायमाझी समूहले २०२४ मा महाधिवेशन गरेपछि त्यस समूह पनि २०३८ मा फुटेर रायमाझी र विष्णुबहादुर मानन्धर समूह भए । त्यसपछि पुनः रायमाझी समूह २०४० असोजमा फुट्यो र कृष्णराज बर्मा समूह अलग्गियो । २०४३ मा पुनः फुटेपछि २०४६ मा रायमाझी समूह भन्ने नै सकियो ।

यता पुष्पलाल समूहमा पनि लगातार टुटफुट भइरह्यो । यो समूहबाट २०२८ सालमा हिक्मत सिंह, देवेन्द्रलाल श्रेष्ठ, प्रेमदासहरू बाहिरिए भने २०३० सालमा नारायणमान बिजुक्छे, २०३१ म रूपलाल विश्वकर्मा र ०३२ मा लक्ष्मीभक्त र केशरमणि पोखरेल निस्किए ।

२०३३ सालमा यो समूहबाट मुक्तिमोर्चा नामक सङ्गठन खोलेर मोदनाथ प्रश्रित, जीवराज आश्रित, मदन भण्डारी अलग भए । पछि २०४७ पुस २२ मा मनमोहन अधिकारी र सहाना प्रधान नेतृत्वको नेकपा मार्क्सवादी र नेकपा माले एकता भइ नेकपा एमाले बनेको हो।

नेकपा एमाले बनेपछि २०५१ मा सोही पार्टीबाट मनमोहन अधिकारी ९ महिना अल्पमतको प्रधानमन्त्री भए । एमाले पनि २०५४ मा विभाजित भएर वामदेव गौतमको नेतृत्वमा नेकपा माले बन्यो । त्यसमा झापा आन्दोलनबाट चिनिएका राधाकृष्ण मैनाली, देवी ओझा, सीपी मैनालीहरू गौतमसँगै रहे। पछि वामदेव एमालेमा फर्किए पनि मैनाली नेकपा माले मै छन्।

तर गौतम अहिले एमालेमा छैनन् । एमालेबाट एक वर्ष अघि माधवकुमार नेपाल, झलनाथ खनाल, डा. वेदुराम भुसालहरू बाहिरिएर नेकपा एकीकृत समाजवादीमा आबद्ध छन् । अर्को धार तुलसीलाल अमात्यको धार भने २०४८ मा एमालेमा विलय भएर केही समयपछि परित्याग गरेर हरायो ।

कम्युनिष्ट पार्टीमा अर्को क्रान्तिकारी धार पनि सक्रिय थियो जुन धारले १० वर्षे जनयुद्धको समेत नेतृत्व गरेर हाल नेकपा माओवादी केन्द्र र यससँग अलग भएका माओवादी धारका विभिन्न दल अस्तित्वमा छन् ।

२०४० तिर यो धारमा निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, भक्तबहादुर श्रेष्ठ, मोहनविक्रम सिंह, निर्मल लामा, मोहन वैद्य, पुष्पकमल दाहाल, बाबुराम भट्टराई,अमिक शेरचन, स्वनाम साथीजस्ता नेता यही धारमा आबद्ध भए पनि टुटफुट र विभाजनले यी नेता पनि एक ठाउँमा रहेको देखिएन । २०४८ मा यो धारका धेरैजसो नेता एक ठाउँ उभिएर नेकपा एकता केन्द्र गठन गरेका थिए । तर, २०५१ मा यो पनि फुट्यो ।

दीर्घकालीन जनयुद्ध,आधार इलाकाबिनाको दीर्घकालीन जनयुद्ध सशस्त्र शहरी विद्रोहलाई कार्यदिशा बनाएको भए पनि यसैमा विमति भएपछि २०५१ मा पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई, मोहन वैद्य, सिपी गजुरेल, कृष्णबहादुर महरा, रामबहादुर थापा, पोस्टबहादुर बोगटीहरू जनयुद्धमा जान तयार भए भने निर्मल लामा, निरञ्जन गोविन्द वैद्य, नारायणकाजी श्रेष्ठ, अमिक शेरचन, लिलामणि पोखरेल लगायतले एकता केन्द्रमै बस्ने निर्णय गरे।

प्रचण्ड, वैद्य र बाबुरामहरू १० को जनयुद्ध लडेर शान्ति प्रकृयामा आएपछि २०६५ मा नारायणकाजी र लिलामणीहरू एकतामा आए । त्यसपछि मोहन वैद्य, सिपी गजुरेल र विप्लवहरू बाहिरिए भने २०७२ पछि बाबुराम पनि माओवादीबाट बाहिरिएर वैकल्कि राजनीतिको तयारीमा लागे। हाल बाबुराम नेपाल समाजवादी पार्टीको अध्यक्ष छन् ।

यो ७५ वर्षमा जति पटक टुटफुट र विभाजन भए पनि अहिले पनि नेपालमा कम्युनिष्ट जनमत भने घटेको देखिन्न । आज पनि नेपालमा बाम लोकतान्त्रिक सरकार छ । यसको मत्लव लोकतान्त्रीक शक्तिसँगको सहकार्यमा भए पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री छन्। सत्ताको नेतृत्वमा मात्रै होइन प्रमुख प्रतिपक्षीदल पनि कम्युनिष्ट (नेकपा एमाले) नै छ।

विश्वका धेरै देश कम्युनिष्टमुक्त भइसके पनि नेपालमा चाहिँ कांग्रेससँगको गठबन्धनमा संघीय सरकारमा पनि कम्युनिष्ट नेतृत्व र प्रमुख प्रतिपक्षी दल पनि कम्युनिष्ट नै छ । त्यो मात्रै होइन ७ प्रदेश मध्य आजको दिनसम्म ५ वटा प्रदेशमा कम्युनिष्ट मुख्यमन्त्री छन् । मधेस प्रदेशमा जसपा र सुदुरपश्चिममा कांग्रेसको नेतृत्वमा सरकार छ । संघीय सरकार र प्रदेश सरकारमा उल्लेख्य संख्यामा मन्त्री पनि कम्युनिष्ट कै छन् ।

तर, कम्युनिष्ट भन्नेबित्तिकै पार्टीको सिद्धान्तभन्दा पहिले कार्ल मार्क्स, ऐंगेल्स, लेनिन, माओत्सेतुङ, स्टालिन हुँदै चे ग्वेभारा र फिडेल क्यास्ट्रो दिमागमा आउँछ । अनि पुष्पलाल,मनमोहन अधिकारी, मदन भण्डारी, निर्मल लामादेखि सहाना प्रधान र नरबहादुर कर्माचार्यको नाम पनि यिनैले पेवा बनाएकै छन् । यीबाहेक केही देशमा समाजवादी कम्युनिष्ट चरित्रका उदार पात्रहरू पनि देखिए । तर,कम्युनिष्ट भनेकै मार्क्स लेनिन, माओको फोटो पार्टी कार्यालय र घरको एउटा भित्तामा झुण्ड्याएको हुनुपर्छ भन्ने मान्यता हाम्रोमा छ ।

कम्युनिष्ट भनेको सर्बहारा,गरीब,किसान र निमुखाको साथी र सहयोगी हुनुपर्ने हो । यदि, यस्तो चरित्र छैन र उसले आफूलाई कम्युनिष्ट बताइरहेको छ भने बुझ्नुपर्दछ की उ कम्युनिष्टबाट रूपान्तरित भएर दलाल र भ्रष्ट भइसक्यो ।
राज्यकोषको तलब खाएर जनताको सुरक्षामा खटिने सुरक्षाकर्मीलाई उसले घरमा काम लगाएको छ वा आफू दर्जनौं सुरक्षाकर्मीलाई अघिपछि लगाएर मात्रै हिँड्छ भने त्यो कम्युनिष्ट नेता कसरी हुनसक्ला र ?

कम्युनिष्ट नेता त जहिले जनताको बीचमा हुन्छ र जनताको सुरक्षामा विश्वास गर्दछ । राज्यकोष दुरुपयोग गरेर अगाडि पछाडी सुरक्षाकर्मी लिएर हिँड्ने,आफ्नै निजी घर भएर पनि जनताको करबाट घरभाडा सुविधा लिने अनी जनतालाई सिटामोल किन्ने पैसा नहुँदा आफु चाहिँ उपचार गर्न विदेश पुग्छ भने त्यो नेता कम्युनिष्ट नभै सायद सामन्त र गद्दार होला !

आफ्नै निजी गाडी भएर पनि सरकारी गाडी दुरुपयोग गर्ने, जनताले तिरेको करबाट मर्मत खर्च, ईन्धन खर्च लिने र परिवार घुमाउने अनी बेला–बेलामा महङ्गो होटल र रिसोर्ट पुगेर तनावमुक्त हुनेहरू त झन कम्युनिष्ट नेता हुने कुरै भएन । झापा विद्रोहको नाममा सामन्तको टाउको छिनाएर आएका कम्युनिष्ट र जनयुद्धमा भ्रष्ट, दलाल, तस्कर र जनविरोधीलाई भाटे कारबाही गरेर आएका कम्युनिष्ट अहिले तीनै सामन्त, दलाल, भ्रष्ट, माफिया र कमीसन खोरलाई मात्रै आफ्नो मित्र शक्ति देखिरहेका छन् भने कम्युनिष्ट पार्टी स्थापनाको आजको दिनबाटै यस्तो चलन अन्त्य गर्नुपर्ने हो कि ?

जात, धर्म, लिङ्ग, भाषा र भूगोलको आधारमा सबै समान हुनेछ, कसैमाथी भेदभाव गरिनेछैन भनेर कम्युनिष्ट बनेकाहरू अहिले भान्से राख्ने बेला जात सोध्छन्, बिहे गर्नेबेला सम्पत्ति रोज्छन् र संसदमा बोल्नेबेला भाषा खोज्छन् अनि पहिचानको माग गर्नेलाई लास बनाएर महिनौंसम्म अस्पतालमा राख्छन् किन होला ? कम्युनिष्ट पार्टी स्थापनाको दिनबाट यी कुरामा ध्यान जान सकोस् । जनताको यही शुभकामना !


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved