कञ्चनपुरमा बाघको आक्रमणपछि बेपत्ता महिलाको शव भेटियो, बाघ नियन्त्रणमा

नेपालभ्युज

कञ्चनपुरमा बाघको आक्रमणपछि बेपत्ता महिलाको शव भेटियो, बाघ नियन्त्रणमा

धनगढी। कञ्चनपुरमा शुक्रबार बिहान बाघको आक्रमणपछि बेपत्ता भएकी महिलाको शव भेटिएको छ । बाघको आक्रमणबाट बेपत्ता कञ्चनपुर बेलौरी नगरपालिका–८ पचुइँकी गंगादेवी चन्दको शव फेला परेको हो । बाघले आक्रमण गरेकै स्थानमा २२ घण्टापछि शव भेटिएको हो ।

शव आक्रमण गरेको केही पर फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले बताए । उनको शवलाई अहिले अस्पताल लगिने डाँगीले बताए ।

शुक्रबार बिहान चन्दलाई बाघले आक्रमण गरेको हो । गाउँका अरु महिला पनि घाँस काट्न खप्टिनाला क्षेत्रमा गएका थिए । ‘महिलाको शव भेटिएको छ, बाघले घारीमा लुकाएकोले निकाल्ने प्रयास भइरहेको छ,’ सब डिभिजन वन कार्यालय कुण्डाका सहायक वन अधिकृत दिनेश यादवले भने, ‘बाघले आक्रमण गरेकै ठाउँमा शव भेटियो ।’

शुक्रबार बिहान घर छेउकै खप्टी नालामा घाँस काटिरहेकी बेलौरी नगरपालिका ८ पचुईकी ४२ वर्षीया गंगा चन्दलाई बाघले आक्रमण गरेर लगेको थियो । बाघले महिलालाई लगेदेखि राति अबेरसम्मै खोजी गरिए पनि महिला भेटिएकी थिइनन् ।

बेपत्ता पारिएकी महिलाको उद्धारका लागि बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा निकुञ्जको प्राविधिक टोली राति करिब ९ बजे खप्टिनालामा छिरेका थिए ।

बाघ सोही क्षेत्रमा भएका कारण खोजी गर्नसमेत समस्या भएको थियो । बाघलाई डार्ट गरेर नियन्त्रणमा लिएपछि शनिबार बिहानैदेखि खोजी सुरु भएको हो ।

बर्दियाबाट आएको प्राविधिक टोलीले बाघलाई डार्ट गरेर नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको बाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कोर एरियामा छाडिने यादवले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved