पुन: नजिकिँदै छन् उपेन्द्र-महन्थ ?

मधेशकेन्द्रित दुई दलहरू जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पुन: नजिकिँदै आएका छन् । भेट्दै-छुट्दै गर्ने जसपा र लोसपाका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरबीच सम्बन्ध सुध्रिँदै गएको नेताहरू बताउँछन् ।

नेपालभ्युज

पुन: नजिकिँदै छन् उपेन्द्र-महन्थ ?

काठमाडौं । मधेशकेन्द्रित दुई दलहरू जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पुन: नजिकिँदै आएका छन् । भेट्दै-छुट्दै गर्ने जसपा र लोसपाका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरबीच सम्बन्ध सुध्रिँदै गएको नेताहरू बताउँछन् ।

महन्थ आउँदो बिहीबार उपेन्द्रका लागि मत माग्न बारा २ जाँदैछन् । वैशाख १० मा हुने उपनिर्वाचनमा सत्तारूढ गठबन्धनको तर्फबाट बारा २ मा उपेन्द्र उम्मेदवार छन्, महन्थ त्यहाँ जाँदैछन् ।

यसबीचमा यी दुई नेताहरूबीच थुप्रै भेटवार्ताहरू पनि भए । भेटवार्ताहरूमा पुन: मिलेर अगाडि बढ्नुपर्ने निष्कर्षहरू निस्केको नेताहरू बताउँछन् । लोसपाका एक नेता भन्छन्, “विगतमा जे-जे कारण छुट्टिए पनि यसरी हुँदैन भन्ने कुराको महसुस भएको छ नेताहरूमा । र, यो राम्रो पनि हो ।”

त्यसो त उपेन्द्र-महन्थ विगतमा एउटै पार्टीमा थिए । जनता समाजवादी पार्टी (जसपा) मार्फत पहिलोपटक राजनीतिक सहकार्य गरेका उनीहरू अविछिन्नकालसम्म सँगै रहन भने सकेनन् । सत्ताको छिनाझपटीका कारण उनीहरू २०७८ असार २२ गते छुट्टिए । महन्थले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरे । तर, उनीहरू पुन: नजिकिँदैछन् ।

त्यसो त सँगै नरहिसकेपछि उपेन्द्र-महन्थले आपसलाई व्यक्तिगत तहसम्मै आएर आरोप-प्रत्यारोपसमेत गरेका हुन् । तर, प्रकारान्तरले उनीहरू पुन: नजिकिँदैछन् । यसबारे नेपालभ्यूजले राखेको जिज्ञासामा लोसपा कार्यकारिणी सदस्य केशव झा भन्छन्, “अहिलेको विषय त खास गठबन्धनको कुरा हो । थप विषयहरूमा छलफलरत नै छौँ ।”

मंसिर ४ मा सम्पन्न संसदीय निर्वाचनमा दुवै दलहरू खुम्चिएको र मिलेर जानुपर्ने सन्देश प्राप्त गरेको विश्लेषणहरू भइरहेका छन् । जनमत, नागरिक उन्मुक्तिलगायतका दलहरू शक्तिमा आउँदा आफूहरू खुम्चिएको निष्कर्ष भने निकालेको नेताहरू बताउँछन् । “निश्चितरूपमा फुटको असर त निर्वाचन देखिएकै हो,” जसपाका एक नेता बताउँछन्, ‘यसको समीक्षा भइरहेको छ । थप छलफल गरेर अगाडि बढ्छौँ ।’

नेताहरू भावी दिनमा मिलेरै अगाडि बढ्न पनि सक्ने बताउँछन् । लोसपा नेता केशव झा राजनीतिमा केही असम्भव नहुने बताउँछन् । “तत्कालका लागि कार्यगत एकता हुन्छ,” उनले भने, ‘पछि पार्टी एकतासम्मै जाँदैन भनेर भन्न सकिँदैन । मधेसी जनताका लागि सँगै उभिनुपर्ने हुन पनि सक्छ ।’

जसपा प्रवक्ता मनिष सुमन पनि आफूहरू मधेसमा मिलेरै अगाडि बढ्नसक्ने बताउँछन् । “हामीले त लोसपासँग मात्रै होइन, त्यसबाहेक नयाँ दलहरूसँग पनि मिलेरै अगाडि जानुपर्छ जनताका लागि भनेर भनेका छौँ,” उनले भने, ‘त्यसका लागि हामी तयार छौँ । तर, हामीले प्रशस्ती मात्रामा छलफल गर्नुपर्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved